ऐतिहासिक, धार्मिक र साँस्कृतिक महत्वको रुपाकोटको पुतलीबाजर
देव वस्न्यात

ऐतिहासिक महत्व, धार्मिक आस्था तथा परम्परागत संस्कार, संस्कृतिको पहिचान झल्काउने हाम्रा हाटबजार तथा मेला अहिले लोप हुँदै गएका छन् । ग्रामीण क्षेत्रसम्म सडक सञ्जाल विस्तार नहुँदा र आम मानिसमा आधुनिक प्रविधिको पहुँच नपुग्दासम्म परम्परागत हाटबजार तथा मेलाको महत्व कायामै थियो । विकासका नाममा भएका सडक विस्तार र आधुनिक प्रविधिको सहज पहुँचका कारण हाम्रा ऐतिहासिक महत्व, धार्मिक आस्था तथा परम्परागत संस्कार, संस्कृतिको पहिचान बोकका हाटबजार, मेला लोप भएका छन् ।
धार्मिक गतिविधिसंग जोडिएर सञ्चालन हुने हाटबजार तथा मेलाहरु टाढाटाढाका मानिसहरुलाई एकठाउँमा जमघट गराउँने र सोही क्रममा हुने खेलकुद, मनोरञ्जनका लागि हुने साँस्कृतिक कार्यक्रम, स्थानीयस्तरमा उत्पादित वस्तुको खरिदबिक्री जस्ता माध्यम बन्ने गर्थे । यस्तै, एउटा महत्वपूर्ण पहिचान बनाएको एउटा गन्तव्य थियो तनहुँको भानु नगरपालिका-१२ रुपाकोट स्थित पुतलीबजार । ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा व्यवसायीक महत्व बोकेको पुतलीबजार अहिले लोप भएको छ ।
पुतलीबजारमा लाग्ने शिवरात्री पूजा र फागुपूर्णिमा मेला विशेष उत्साह र उमङ्गका साथ आयोजन हुने गर्दथ्यो । स्थानीय संघ संस्था तथा मठमन्दिर व्यवस्थापन समितिका सदस्यहरु एक हप्ता अगावैदेखि सरिक हुने गर्दथे । बजारलाई थप व्यवस्थित गर्न दोहोरो लाइनका सेउलादार टहरा निर्माण हुने गर्दथे । पसल-टहराका अग्रिम बुकिङका लागि हिन्दु, बौद्ध तथा मुस्लिम समुदायका मानिसहरु पुतलीबजारमा पुग्ने गर्दथे । मुस्लिम समुदायका व्यक्तिहरु महिलाहरुका श्रङ्गारका सरसामान लिएर जाने गर्दथे ।
यसै गरी सीपका पारखी चुँदराहरु काठका ठेकी, फाम, गौवा लगायतका भाँडाकुँडाहरु, भुजेल तथा प्रजाहरु मान्द्रा, भकारी, नाङलो र नाम्लो लगायतका वाँस तथा बेतका सामाग्रीहरु लिएर पुग्थे । कामी तथा स्थानीय शिल्पकारहरु कुटो कोदालो हंसिया, फाली, खड्ग, तरवार लगायतका कृषिऔजार तथा घरायसी हतियारहरु बिक्रीका लागि सजाएर राख्दथे।
यसैगरी गोरखा च्याङलिङका दरै कुमालहरु उखु तथा खुदोजन्य बस्तुहरु, राइनासटारका बासिन्दाहरु पनि बदाम तथा सखरखण्डहरु बिक्री गर्न पुतलीबजारमा आउने गर्दथे । आमजनताको आस्थाको केन्द्र कृपेश्वर महादेवको दर्शन गर्न राइनासे टोली तार्कुघाट तरेर र सातमुहाने देउराली, पोल्याङ एवं हंसपुरेहरु मादीनदीको घाट शिःसाघाट तरेर पुतलीबजारमा आउने जाने गर्दथे । कुन्छा ताकुटार, दुराडाँडा, मिर्लुङ चोकचिसापनी र रुपाकोटका वासिन्दाहरु छुट्ने कुरै हुँदनथ्यो ।
काठमाडौं तथा पोखराबाट आउने बटुवाहरु पनि बाटोमा प्रशस्तै देखिन्थे । भगवान प्रति आस्थाका रुपमा पूजा गर्न आएका श्रद्धालु भक्तहरु र ठाडोभाका तथा झ्याउरे गीत सँगितमा रम्ने गिताङ्गेहरु पनि १५ देखि २० खालमा सहभागिता जनाउने गर्दथे भने छेलो हान्ने युवाहरु त्यतिकै ओइरने गर्दथे । कहिलेकाही आपसमा खिचातानी हुन जाँदा झैझगडा पनि हुने गर्थ्यो ।
बाहुन क्षत्रीहरु भने भजन कृतन र बालुनमा रम्ने गर्दथे । विशेष गरेर ठाडोभाका गीत सुन्नकै लागि यस वरपरका विद्यार्थी, शिक्षक, अभिभावक, आमन्त्रित अतिथि तथा परपाहुनाहरुको राम्रै जमघट हुने गर्दथ्यो । विजयी प्रतियोगीहरुलाई कृपेश्वर महादेव मन्दिर परिशरमा बोकेर घुमाउने, पैसाको फूलमाला लगाएर सम्मान गर्नेहरुको संख्या पनि उल्लेखनीय रहन्थ्यो ।
रातभरको दोहोरी गीतले विश्राम लिनासाथ छेलो प्रतियोगिता सुरु भइ हाल्दथ्यो । नवयुवा तथा भू पु आर्मीका पेन्सनदारहरु छेलोमा सहभागिता जनाउथे। पहिला दोश्रो र तेश्रो हुनेहरुलाई दोसल्ला ओढाएर सम्मान गर्ने र मन्दिर परिक्रमा गराउन छुटाउँदैनथे । हिजोको जल्दोबल्दो पुतलीबजारको अवस्था अहिले अत्यन्त दयनीय बन्दै गएको छ ।
नेपाल एकीकरण अभीयानका वीर योद्धा जनरल अमरसिंह थापाले काठमाडौंदेखि तेलिया इट्टाहरु मगाएर बनाइदिएको सत्तल अहिले जीर्ण भएपछि जिर्णोद्वारको अभावमा धरासयी भइसकेको छ । सेढाइ, पौडेल, गौली , जोशी, अधिकारी थरका बाहुनहरु, क्षत्री-खत्री, मगर, गुरुङ र नेवारहरु नै पुतलीबजारका पुराना बासिन्दाहरु हुन् । काशीनाथ र नारायणदत्त सेढाइहरुले पूजा व्यवस्थापनका लागि नीजि गुठी राख्ने र कुन्छाबजारका रत्नकुमार श्रेष्ठले जीर्ण भएको पुरानो सत्तलपाटीलाई पुनःनिर्माण गरिदिएका हुन् भन्ने अग्रजहरुबाट आफुले सुनेको पुतलीबजार जन्मथलो भई हाल व्यास नगरपालिका-४ निवासी नविना थापा बस्न्यात बताउँछिन् । कृपेश्वर महादेव मन्दिर नजिकै जन्मघर भएको र सो स्थानमा पहिले लाग्ने गरेको हाटबजारको स्मरण गर्दै नविनाले भनिन्, ‘पहिलो जुन महत्वको पुतलीबजार थियो त्यो अहिले छैन । यहाँ लाग्ने हाटबजार, धार्मिक गतिविधि, साँस्कृतिक कार्यक्रम तथा व्यापार व्यवसायका कुरा अब स्मरणमा मात्र रहेका छन् ।’
यहाँका टाठाबाठा तथा बुद्धिजीविहरुले रुपाकोटको बसाइलाई बिट मारेर भोटेवडार, बेसीसहर, डुम्रे, दमौली, चितवन र काठमाडौं बसाइसारेपछि पुतलीबजार टुहुरो बन्दै र ओझेलमा पर्दै गएको छ । त्यसैले पनि होला यहाँ नजिकै रहेको बजारलाई यहाँका वासिन्दाहरुले टुहुरे पसल भन्ने नामकरण गर्न बिर्सिएका छैनन । त्यहाँका वासिन्दाहरुले चल्ति फिर्तीको पुतलीबजारलाई मायाँ मारेर बेसीसहर, कोही तुरतुरे, कोही डुम्रे र कोही दमौली बजार, चितवन र काठमाडौं जस्ता सुगम स्थान रोज्न थालेपछि पुतलीबजारको अवस्था दयनीय बन्दै गएको हो भन्दा फरक नपर्ला ।
ठाडोभाका लोकगीतका सर्जक देउबहादुर दुराको मरणोपरान्त कर्पुटारको बजार सुन्य हुन पुगेको थियो । कर्पुटार सुन्य हुँदा पनि पुतली बजारको रौनकतामा भने कुनै कमि आएन । त्यही बेला भनिन्थ्यो- “कहाँ गयो देउबहादुर दुरा, सुन्य भयो कर्पुटार बजार” । यही मेलोमा “के छर करापुटार, छन पो छ पुतली बजार” भनेर ठाडोभाका गीत पुतलीबजारमा घन्कने गर्दथ्यो । यसैले हरेकको मुखबाट आउने शब्द एउटै हुने गर्दथ्यो “मैले मात्र भनेर भै’न, पुतलीबजार काेहि भन्दा कम छैन । धागो उनीको ख्याल माया लाग्थ्यो र पापी खुनीको ।”
अन्त्यमा हरेक वर्ष पुतलीबजारको मेलामा श्रृङ्गारका सरसामान बिक्री गर्न आउने मुस्लिम दाजुभाई तथा दिदीबहिनीहरु र गीत संगीतले सुरम्य बनाउने दुरा-दुरिनीहरु पनि माओवादी जनयुद्धको प्रभावको डरका मारे मेला भर्न जान नसक्ने स्थिति सृजना भएपछि आ-आफ्नै गाउँघरमा ठाडोभाका लोकगीत गाउने अभियानको प्रयास सह्रानीय थियो । गाउँघरकै आँगनीमा ठाडोभाका लोकगीत जम्न सकेन । अन्ततः हाम्रो मजेरीमा रहेको जीवन्त लोकसंस्कृति ठाडोभाका लोकगीत दशवर्षे जनयुद्ध र कोरनाको प्रभावकै कारणले हिउँदे राजधानी मानिने पुतलीबजार ओझेलमा पर्दै गएको सत्य हो । स्थानीय निकायको अदुरदर्शिताको कारण पुतलीबजारले आफ्नो गरिमालाई जोगाउन नसकेकोमा स्थानीय नविना चिन्तित छन् ।










