मालेबगरमा बाढीको डुबानले घरमा थुनिएका तीन जनाको उद्धार

तनहुँको भिमाद नगरपालिका–५ मालेबगरमा बाढीको डुबानले घरमा थुनिएका तीन जनाको उद्धार गरिएको छ । अविरल वर्षाका कारण सिग्दीखोलामा आएको बाढीले स्थानीय दीपक तामाङको घर डुबानमा परेपछि प्रहरी र नेपाली सेनाको सहयोगमा तीन जनाको उद्धार गरिएको हो ।
बाढीका कारण दुवैतर्फबाट खोलाले घेरेपछि घरमै थुनिएका तामाङ, श्रीमती र छोरी गरी तीन जनाको नेपाली सेनार नेपाल प्रहरीको संयुक्त टोलीले शकुसल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक दीपककुमार रायले जानकारी दिए।
यसैगरी प्रहरीले व्यास नगरपालिका–१३ बेलबासमा सेती नदीको पानी पसेर घर डुबानका परेका स्थानीयको उद्धार र सामग्री सुरक्षित स्थानमा सारेको छ । बेलबासस्थित हरिमाया पौडेलको घर, न्यु भिजन बोर्डिङ स्कूल र सिद्धबेनी माविमा बाढी पसेपछि प्रहरीले ती घर तथा विद्यालयको सामग्री सुरक्षित स्थानमा सारेको हो ।