बन्दाबन्दीले बिकेनन् हाँस, किसानलाई दाना खुवाउन धौधा
रासस/तनहुँ

व्यास नगरपालिका-१३ निवासी इश्वरराज पन्थले व्यावसायिक रूपमा पाल्नु भएको स्थानीय जातको हाँस नबिक्दा दाना खुवाउन समेत धौधौ भएको छ । दोस्रो भेरियन्ट सहितको कोभिड-१९ बाट सुरक्षित हुन जिल्ला प्रशासन कार्यालय तनहुँले बन्दाबन्दीको आहृवान गरेपछि बजार पूर्णरूपमा बन्द हुँदा हाँस बिक्री नभएको हो । किसान पन्थले व्यास नगरपालिका-१३ को गुदीमा कडकनाथ कुखुरा दुइ हजार र टर्की ५०० पाल्नुभएको छ भने सोही वडाको पोखरी भञ्ज्याङमा दुइ लाख माछा र आठ हजार हाँस पाल्नु भएको छ । करीव रु. चौध करोडको लगानी गरी फार्म संञ्चालनमा ल्याइएको हो । झण्डै १४ करोडको लगानीमा निर्माण गरिएको सो फार्म सम्भवतः नेपालकै ठूला फार्म भएको दाबी गरिएको छ ।
उहाँले गाउँफर्क कृषि फार्म र युगिन कृषि फार्म प्रालि गरी दुइ वटा फार्म सञ्चालन गरी व्यावसायिक रूपमा अघि बढ्नु भएको छ । बन्दाबन्दीपश्चात दाना खुवाउन समस्या भएपछि सामाजिक सञ्जाल फेसबुकमा बिक्रीको लागि राखिएपछि दिनमा २० देखि २५ किलो ग्रामसम्म मासु बिक्री हुने गरेको छ । बन्दाबन्दीमा खुद्रा बिक्री गरेको हाँसको पैसाले हाँसलाई दाना खुवाउन समेत धौधौ हुन थालेको किसान पन्थले बताउनुभयो । हाँसको मासु र अण्डाको लागि बिहान र दिउँसो माग लिएर बेलुका घरघरमा पुर्याइदिने गरिएको छ । उहाँले भन्नुभयो, ”दाना खुवाउन पनि समस्या हुन थालेपछि फुटकर भएपनि बिक्री गर्न थालिएको हो ।”
”निषेधाज्ञा हटेर बजार खुल्न थालेपछि बिक्रीको लागि समस्या हुँदैन्थ्यो”, उहाँले भन्नुभयो, ”होटल तथा रेष्टुरेन्टहरूमा लगेर बिक्री गर्न पाए धेरै सहज हुने थियो ।” चितवनको भाटभटेनी सुपरमार्केटले केही शर्तसहितको सम्झौता गरी मापदण्ड अनुरुपको सबै कुरामा ठीक भई दुइ टन मासु तयार गरिसकेको अवस्थामा झ्याप्पै लकडाउन हुँदा समस्या खेप्नुपरेको छ ।
केही हाँसको मासुलाई घरेलु जडिबुटी र मसला मिसाएर बनाइएको ७०० ग्राम तयारी प्याकेज हाँसको सुकुटी रु. एक हजार पाँच सयमा बिक्री गर्ने गरि प्याकेजिङ कार्य समेत थालिएको किसान पन्थले बताउनुभयो । फार्ममा कार्यरत कामदार र निजकी श्रीमती अनिता ढकाल पन्थलगायतले हाँसको सुकुटी प्याकेजिङ कार्य गर्दै आएका छन् ।
यसरी प्याकेज गरिएको मितिले ४५ दिनसम्म प्रयोग गर्न सकिन्छ । उहाँले भन्नुभयो, ”कोभिडको वर्तमान परिस्थितिमा प्रतिरक्षाको लागि प्रयोग गरी मजबुत बनाउन पौष्टिक आहारको परिपूर्ति गर्न सकिन्छ ।” हाँसलाई अघाउञ्जेल दाना खाना दिने हो भने एक दिनमा सवा लाख रुपैयाँको दाना खान्छन् तर अहिले जेनतेन रु. ५०/६० हजारको दानाले जीविकोपार्जन गराइएको छ ।