बन्दीपुर केवुलकारमा सरर …..

के.बि. मसाल

बिकास भनेकै परिवर्तन हो । पर्यटनको बिकासको लागि पूर्वाधार आवस्यक पर्दछ । पूर्वाधार थपिदै जादा बन्दीपुरमा आजभोली धेरै पर्यटकहरु पुग्ने गर्दछन । केवुलकार सञ्चालन भएदेखि बन्दीपुरमा पर्यटकहरुको चहल पहल धेरै हुने गरेको छ । पृथ्वीराजमार्गमा पर्ने बिमल नगर र डुम्रे बिचमा पर्ने ठूलढुङ्गामा तल्लो स्टेसन र बन्दीपुरको बरालथोक उपल्लो स्टेशन भएको बन्दीपुर केबलकार तनहुँको पहिलो र गण्डकी प्रदेशको तेस्रो केवुलकार हो । बन्दीपुर केवुलकारको दुरी एक हजार सात सय मिटर रहेको छ । केबुलकार सञ्चालन भएपछि पर्यटकहरु केबुलकारमा सरर……. हुँदै बन्दीपुर पुग्ने गरेका छन । पर्यटकहरुले केबुलकारको यात्रामा एसियाकै ठूलो मानिएको सिद्धगुफा र हरियाली डाँडाकाडाको मनोरम दृश्य अवलोकन गर्दै बन्दीपुर पुग्दछन ।
केवुलकारमा पहिलो पटक यात्रा गर्न लागेको पर्यटक केवुलकारको गोन्डलामा बस्ने बित्तीकै डराय पनि जब केवुलकार आफ्नो गतिमा गुडछ त्यसपछि उसको खुशिको सिमानै हुँदैन । साथमा भएको क्यामेरा अथवा मोवाइल झिकेर बाहिर देखिने डाँडाकाँडा र प्राकृतिक दृष्यहरुको फोटो र भिडिओ लिन थाल्दछन । कति केवुलकारको गोन्डलामा सेल्फी लिदै साथीभाईहरुलाई सेयर गर्दछन । पछिल्लो समय नेपालमा केवुलकार पर्यटन बिकासको लागि पूर्वाधार बनेको छ । बन्दीपुर केबुलकार समेत नेपालमा अहिलेसम्म ७ स्थानमा केवुलकार सञ्चालन भएका छन। नेपालमा मनकामना केबुलकार २०५५ देखि सञ्चालनमा आएको हो । अहिले मनकामना, चन्द्रागिरी, कालिञ्चोक, पोखराको सराङकोट, मौलाकाली र बुटवलको वसन्तपुर जोडने लुम्विनी केवुलकार र बन्दीपुरमा समेत केवुलकार सञ्चालनमा आएको छ । अहिलेसम्म जति केवुलकार निर्माण भएका छन र जति निर्माण क्रममा छन ति सबै निजी क्षेत्रको लगानीबाट हुँदै आएको छ। कम्पनी रजिष्ट्रारको कार्यालयको अभिलेख अनुसार हालसम्म ६८ ओटा केबुलकार कम्पनी दर्ता भएका छन । पर्यटन क्षेत्रमा केबुलकार संचालनको अनुमतिका लागि २३ कम्पनीले मन्त्रालयसँग अनुमति मागेका छन । अर्को तर्फ निजी क्षेत्रबाट हालसम्म ३ दर्जन भन्दा बढी केवुलकार निर्माणका लागि अध्ययन सुरु भएका छन ।
विश्वको आधुनिक बिकासको इतिहास हेर्ने हो भने १८औं शताब्दीको औद्योगिक क्रान्तिले विश्वलाई नै यान्त्रिक बिकासमा प्रवेश गरायो । औद्योगिक क्रान्तिले उत्पादनको नयाँ युग सुरु भयो । औद्योगिक क्रान्तिले वैज्ञानिक आविष्कार हुन थाल्यो। कलकारखाना खुल्दै गए। आधुनिक यन्त्रको बिकास हुन थाल्यो । उडने गुडनेदेखि लिएर सामान ढुवानीको लागि रज्जुमार्गको पनि विकास भयो । रज्जुमार्गकै विकसित रुप हो केवुलकार । पछिल्लो समय नयाँ शहरको परिकल्पना गर्नेहरुका लागि केबलकार सस्तो यातायातको साधन हुन्छ । रुस तथा अमेरिकामा केबलकार ट्रान्सपोर्ट सिस्टम विकास गरिरहेका छन् । बिकसित मुलुकमा पहिले रमाइलो र पर्यटन बिकासको लागि प्रयोग हुने केबलकार आजभोली यातायातका साधनकै रुपमा प्रयोग हुन थालेको छ । केबलकारले कतिपय मुलुकमा दूरदराजका पहाडी गाउँलाई समेत शहरसँग जोडने काम गरेको छ । बातावरणीय दृष्टिकोणले पनि केबलकार अन्य यातायातका साधन भन्दा राम्रो हुन्छ। केबलकारमा लगानी पनि अरुको तुलनामा कम हुन्छ। केबलकारबाट बायूप्रदूषण हुँदैन। केबलकारबाट ध्वनी प्रदुषण पनि हुँदैन । नयाँ रेलवे लाइन, सडक वा पुल बनाउनुको सट्टा केबलकारको प्रणाली विकास गर्न सस्तो पनि पर्दछ ।
केबुलकार निर्माणको प्रविधिको विकासमा पहाडको हरेक कुना–कुनामा केवुलकार निर्माणका लागि लगानीकर्तासमेत खडा भएका छन । केवुलकारको लगानीबाट सार्थक मुनाफा आर्जन गर्न सकिन्छ भन्ने मनोविज्ञानमा लगानीकर्ताहरु छन । अबको दशकमा पर्यटनको क्षेत्रमा केबुलकार, रोपवे, स्काई–वे निर्माणको दशक बन्नसक्ने आकलन गर्न सकिन्छ । नेपालमा अहिले सम्म निर्माण भएका केवुलकारहरु धार्मीक मठ मन्दिरसंग जोडिएका छन । पछिल्लो समय बिश्वमा केवुलकारको प्रविधीमा धेरै बिकास भएको छ । विश्वमा अहिले मोनो केबल नन लाइनर कर्भ सिस्टम जस्तो अत्याधुनिक प्रविधिको केवुलकार पनि संन्चालनमा आएको छ । यस्तो प्रविधीको केवुलकार शहरी र पहाडी इलाकामा कर्भ गर्नका लागि यो सिस्टमको प्रयोग गर्न सकिन्छ। यस्तै अर्को हो चियर लिप्ट सिस्टम। यो केवुलकार साहसिक पर्यटनका लागि पहाडी र हिमाली क्षेत्रमा प्रयोग गर्न सकिने रोप–वे सिस्टम हो । यो मोनोकेबल इन्डलेसन सिस्टममा दुई जनासम्म यात्रु बसेर यात्रा गर्न सकिन्छ । मोना केवल डिटाचेवल सिस्टम । यो केवुलकार पहाडी इलाकामा अहिले संसारभर प्रयोग भइरहेको आधुनिक प्यासेन्जर सिस्टमको केबुलकार हो। नेपालमा यसको सम्भावना धेरै छ । वाइ केबल गोन्डोला सिस्टम। यो केवुलकारमा दुईवटा रोपमा क्याबिनमा २५ र ३० जना यात्रु राखेर सेवा दिन सक्ने प्रविधि हो । यो केवुलकारको सञ्चालनमा लागत धेरै पर्दछ । जिक ब्याक टाइप मोनोकेबल ट्राम वेको केवुलकारमा एकैपटक १६० जनासम्म यात्रु ओसारपोसार गर्न सक्ने प्रकारको सिस्टम हो ।
अहिले सबै क्षेत्रमा पर्यटन बिकासको लागि पहाडको चुचुरोमा भ्युटावर बनाउने होड चलेको छ । प्राकृतिक रुपमा आफै भ्युटावर बनेका डाँडाकाँडामा भ्युटावर बनाउन भन्दा केवुलकारको बिकास गर्न सके राम्रो हुन्छ । ऐतिहासिक कोट गढी पहिचान गरी पहाडको चुचुरोमा केबुलकार पु¥याउनु सके पर्यटनको बिकास हुन्छ । पहाडी भूभागमा सडक मार्ग भन्दा केबुलकार निर्माण गर्ने हो भने ठूला पुल पुलेसा निर्माण खर्च वचत हुने गर्दछ । मोटर मार्ग निर्माण गर्दा हुने वातावरणको विनाश समेत केबुकारले गर्दैन । प्राकृतिक सम्पदालाई केबुलकारले केही हानी नोक्सानी पु¥याउँदैन । मोटर मार्ग निर्माण गर्दा प्राकृति पहाड डोजर र स्काईभेटर दोहनले गर्दा पहाडमा बाढीपहिरोले नोक्सान गर्दछ । बिजुली उत्पादन गर्न सके केबलकारको यातायात सस्तो र भरपर्दाे हुन्छ । पेट्रोलियम वस्तु उत्पादन नहुने हाम्रो जस्तो मुलुकका लागि त केवलकार उपयोगी हुन्छ ।
बन्दीपुर पर्यटनको क्षेत्रमा नौलो नाउँ र ठाउँ भने हैन । हिजोको अवस्थामा पनि बन्दीपुर डुम्रेदेखि पैदल यात्रा र मोटरमार्ग खुलेपछि बन्दीपुर जाने पर्यटकहरु मोटरमा पुग्ने गर्दथिए । तर अहिले केवुलकारको सञ्चालनले फरक चहल पहल र पर्यटकहरुको संख्या पनि बढ्दो छ । पर्यटनको क्षेत्रमा यसलाई राम्रो मान्न पर्दछ । पर्यटकहरु बन्दीपुर पुग्ना साथ पहिला ऐतिहासिक खडगदेवीको मन्दिरमा पुग्दछन। खडकदेवीको मन्दिर राजा मुकुन्द सेनसंग जोडिन्छ । बन्दीपुरको खडगदेवी मन्दिर ऐतिहासिक सम्पदा हो। वर्षको दुइदिन मात्र खुल्ला हुँदै आएको खडगदेवी मन्दिर केवुलकार सञ्चालनमा आएपछि आजभोली दैनिक खुला गरिएको छ ।
इतिहासमा रुचि राख्ने पर्यटकहरुले बन्दीपुरका पुराना कुराहरु खोज्दछन । इतिहास पल्टाउने हो भने बन्दीपुरको प्रशासनिक संरचनाको कुरा पनि लामो छ । राणाहरुकै पालामा बन्दीपुरमा प्रहरी फोर्स गौडीको स्थापना भएको थियो । राणाहरुको पालामा नेपाललाई ३५ जिल्लामा बिभाजन गरेका थिए । बन्दीपुरमा भएको गौडीलाई पछि थानामा परिणत गर्दै बन्दीपुर रानाहरुकै पालामा पश्चिम ३ नम्वरको गौडा समेत भयो । त्यो बेलामा तनहुँ, लमजुङ, मनाङ र कास्कीलाई बन्दीपुर गौडाबाट प्रशासनिक कार्य हुने गर्दथियो । जुन कारणले बन्दीपुर पश्चिम ३ नम्वरको ठूलो प्रशासनिक थलो बन्यो । २००७ साल पछि नेपालको राजनिती फेरवदल हुँदै जादा ०१७ सालमा बन्दीपुर ग्राम पञ्चायत पनि भयो । ०१८ सालमा १४ अन्चल ७५ जिल्ला हुने क्रममा बन्दीपुर तनहुँ जिल्ला भयो । त्यसपछि बन्दीपुर गाउँपञ्चायत हुँदै ०४६ पछि बन्दीपुर गाउँ विकास समिती बन्यो । २०७१ मा धरमपानी र बन्दीपुर गाउँ विकास समितिहरुलाई समेटेर बन्दीपुर नगरपालिका पनि भयो । तर २०७३ सालमा नेपालको नयाँ प्रादेशिक संरचना कायम हुँदा बन्दीपुर गाउँपालिका कायम गरियो । बन्दीपुरमा पुरानो खानेपानी ०१७ सालमा सुरुवात भै ०१९ सालमा सम्पन्न भएको हो । यसको मुहान छिम्केश्वरी नजिक बडस्वाँरामा पर्दछ ।
पर्यटकहरुलाई बन्दीपुरका पुराना घरले भक्तपुरको झल्को दिन्छ । त्यस्तै, बन्दीपुरको मिठो खाना र रहनसहनले पनि पर्यटकलाई लोभ्याउने गरेको छ । बन्दीपुर पुग्ना साथ अर्कै हावापानी पाइन्छ र अनौठो ठाउँमा पुगेको आभास पर्यटकहरुलाई हुन्छ । बन्दीपुर करिब चार सय वर्ष पहिले भक्तपुरे नेवारहरुले बसालेको बस्ती हो । यसको इतिहास लामो छ । बन्दीपुरमा अझै पनि त्यसबेलाका घरहरु पर्यटकहरुले देख्न सक्दछन । भक्तपुरे शैलीका चिटिक्क परेका घरहरु अहिले पर्यटनका लागि बन्दीपुरको आकर्षण बनेका छन । ती घरहरु बन्दीपुरका ऐतिहासिक सम्पदा हुन । जसले बन्दीपुरको इतिहास, संस्कृति र परिचय जोगाइ राखेको छ । बन्दीपुर पहिला लमजुङ, गोरखा र तनहुँको मुख्य व्यापारिक केन्द्र थियो । ती जिल्लाहरुको तराई प्रवेश गर्ने नाका नै बन्दीपुर थियो । पछि वि.सं. २०२५ सालमा तनहुँको सदरमुकाम दमौलीमा सरेपछि बन्दीपुर सुनसान बन्न पुग्यो । सदरमुकाम स¥यो, पृथ्वी राजमार्ग बनेपछि बन्दीपुर सुनसान बन्दै गयो ।
बन्दीपुरमा अहिलेको अवस्थामा ल्याउन बन्दीपुरेहरुले ठूलो सघंर्ष गर्नु प¥यो । बन्दीपुरको बिकास पर्यटनले मात्र संभव छ भन्ने कुरामा बन्दीपुरेहरु एक मत भए । सुरुका दिनमा बन्दीपुरमा पर्यटक भित्राउन ठूलै पहल बन्दीपुरेले गर्नु प¥यो। बाटो घाटो सरसफाई र ऐतिहासिक मठ मन्दिरको संरक्षण होमस्टेको शुरुवात बन्दीपुरमा भयो । पर्यटनको पुर्वाधार थपिदै गएपछि बन्दीपुरमा पर्यटकहरु पुग्न थाले । अहिले बन्दीपुरमा सामुदायिक होमस्टे स्थानीय समुदायका महिलाहरुको अग्रसरतामा व्यवस्थापन गरिएको छ । बन्दीपुरमा संचालित होमस्टेमा कुनै एक समुदाय विशेष मात्र नभई नेवार, गुरुङ, मगर, सुनार, बाहुन क्षत्री सबै मिलेर होमस्टे संचालन गरेका छन । विशेषतः बन्दीपुरमा होमस्टेमा बास बस्ने आन्तरिक पर्यटक नै बढी हुन्छन । तर बन्दीपुरका अधिकाशं होमस्टेहरु होमस्टेको कार्यबिधी अनुसार सञ्चालनमा छैनन् । तर पनि पर्यटकहरुलाई होटलको सेबा दिएका छन। पर्यटकहरुलाई सुबिधा त भएको छ । तर होमस्टेको अवधारणा अनुसार पर्यटन प्रवर्द्धन भने भएको छैन । बन्दीपुरका होमस्टेमा स्थानिय उत्पादनका बस्तुहरु कम पाक्दछन । नारायणघाटबाट बन्दीपुर पुगेका खाद्यान्न मात्र होइन तरकारी समेत बन्दीपुर पर निर्भरमा छ ।
आजभोली पर्यटनको क्षेत्र फराकिलो हुँदै गएको छ । पर्यटनको बिकासगर्नु पर्दछ भन्ने मान्यता सबैमा रहेको छ । शहर बजार गाउँघर, टोल छिमेक जहाँ भएपनि बिकासका कुरा उठने बित्तीकै पर्यटनका कुराहरु उठने पनि गर्दछन । पर्यटनको बिकास गर्नु पर्दछ । पर्यटनको बिकासले नै आर्थिक विकास हुन्छ । बिकासको महत्वपूर्ण आधारनै पर्यटन हो। पर्यटनको बहुआयमिक रुपले विकासमा टेवा पु¥याउँछ । पर्यटनले प्रत्यक्ष आर्थीक आर्जन गराउँछ, रोजगारी सृजना गराउँछ र गाउँघरमा उत्पादन भएको वस्तुहरुको खपत हुन्छ । यस्ता खालका कुरा बन्दीपुरमा उठने गर्दछ । तर, बन्दीपुर वरपरका गाउँघरमा पर्याप्त मात्रामा पर्यटकीय क्षेत्रहरुको प्रवर्द्धन हुन सकेको छैन । बन्दीपुरमा धेरै मानिसहरु पुग्दैमा ति सबै पर्यटन हुँदैनन् । पर्यटक हुनको लागि केही न केही पैसा खर्च गर्नु पर्दछ । पैसा खर्च नगर्ने मानिसहरु पर्यटक होइन केबल अवलोकन कर्ता मात्र मानिन्छन । तर पर्यटकहरुले खर्च गर्ने ठाउ हुनु पर्दछ । बन्दीपुर जाने पर्यटकहरुलाई खान बस्नको कुनै असुबिधा छैन । तर बन्दीपुरबाट फर्कदा पर्यटकहरुले के चिज घरमा लैजाने त? बन्दीपुरमा पर्यटकहरुले बन्दीपुरको चिनो स्वरुप कुनै पनि बस्तु किन्ने ठाउँ छैन । यसको लागि अब बन्दीपुर वरपरका गाउँघरमा उत्पादन बढाउनु पर्दछ। उत्पादन भएका बस्तु पर्यटकहरुले खरिद गरेपछि गाउँको उत्पादनले आय आर्जन हुन्छ । रोजगारी बढछ । बन्दीपुरको मात्र नभएर गाउँघरको पनि आर्थिक सुधार हुन्छ । अनि मात्र पर्यटन प्रवद्र्धन हुन्छ ।
पर्यटन प्रवर्द्धनको लागि पुर्वाधारको बिकास भएन भने पर्यटनको विकास, विस्तार र आर्थिक समृद्धि हुँदैन । बन्दीपुरमा पर्यटनको लागि पूर्वाधारको बिकास धेरै भएको छ । गाउँपालिकाले समेत पर्यटनको क्षेत्रमा धेरै लगानी गर्दै आएको छ । जुन कारणले आजभोली बन्दीपुरमा धेरै पर्यटकहरु पुग्दछन । बन्दीपुर पुगे पछि पर्यटकहरुले प्राकृतिक विविधतासँगै विकसित मानवीय चालचलन, संस्कार, भाषा, भेषभूषा, संस्कृतिलाई पर्यटकहरुले रुचिका साथ आनन्द लिदै रमाउँछन । बन्दीपुरको साँस्कृतिक र धार्मिक विरासत शताब्दिऔं पुरानो छ । बन्दीपुरमा मनाइने चाडपर्व, संस्कार र दिनचर्या तथा सुमधुर धार्मिक सहिष्णुता पर्यटकहरुका लागि नौलो अनुभूति हुन्छ । बन्दीपुरमा जात्राको समयमा पुग्ने पर्यटकहरुले विभिन्न जातजाति तथा समुदायको पहिचान र परिचय उनीहरुको रहनसहन, संगीत र नृत्य देख्दा पर्यटकहरु रमाउँछन ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker