बन्दीपुर केवुलकारमा सरर …..
के.बि. मसाल

बिकास भनेकै परिवर्तन हो । पर्यटनको बिकासको लागि पूर्वाधार आवस्यक पर्दछ । पूर्वाधार थपिदै जादा बन्दीपुरमा आजभोली धेरै पर्यटकहरु पुग्ने गर्दछन । केवुलकार सञ्चालन भएदेखि बन्दीपुरमा पर्यटकहरुको चहल पहल धेरै हुने गरेको छ । पृथ्वीराजमार्गमा पर्ने बिमल नगर र डुम्रे बिचमा पर्ने ठूलढुङ्गामा तल्लो स्टेसन र बन्दीपुरको बरालथोक उपल्लो स्टेशन भएको बन्दीपुर केबलकार तनहुँको पहिलो र गण्डकी प्रदेशको तेस्रो केवुलकार हो । बन्दीपुर केवुलकारको दुरी एक हजार सात सय मिटर रहेको छ । केबुलकार सञ्चालन भएपछि पर्यटकहरु केबुलकारमा सरर……. हुँदै बन्दीपुर पुग्ने गरेका छन । पर्यटकहरुले केबुलकारको यात्रामा एसियाकै ठूलो मानिएको सिद्धगुफा र हरियाली डाँडाकाडाको मनोरम दृश्य अवलोकन गर्दै बन्दीपुर पुग्दछन ।
केवुलकारमा पहिलो पटक यात्रा गर्न लागेको पर्यटक केवुलकारको गोन्डलामा बस्ने बित्तीकै डराय पनि जब केवुलकार आफ्नो गतिमा गुडछ त्यसपछि उसको खुशिको सिमानै हुँदैन । साथमा भएको क्यामेरा अथवा मोवाइल झिकेर बाहिर देखिने डाँडाकाँडा र प्राकृतिक दृष्यहरुको फोटो र भिडिओ लिन थाल्दछन । कति केवुलकारको गोन्डलामा सेल्फी लिदै साथीभाईहरुलाई सेयर गर्दछन । पछिल्लो समय नेपालमा केवुलकार पर्यटन बिकासको लागि पूर्वाधार बनेको छ । बन्दीपुर केबुलकार समेत नेपालमा अहिलेसम्म ७ स्थानमा केवुलकार सञ्चालन भएका छन। नेपालमा मनकामना केबुलकार २०५५ देखि सञ्चालनमा आएको हो । अहिले मनकामना, चन्द्रागिरी, कालिञ्चोक, पोखराको सराङकोट, मौलाकाली र बुटवलको वसन्तपुर जोडने लुम्विनी केवुलकार र बन्दीपुरमा समेत केवुलकार सञ्चालनमा आएको छ । अहिलेसम्म जति केवुलकार निर्माण भएका छन र जति निर्माण क्रममा छन ति सबै निजी क्षेत्रको लगानीबाट हुँदै आएको छ। कम्पनी रजिष्ट्रारको कार्यालयको अभिलेख अनुसार हालसम्म ६८ ओटा केबुलकार कम्पनी दर्ता भएका छन । पर्यटन क्षेत्रमा केबुलकार संचालनको अनुमतिका लागि २३ कम्पनीले मन्त्रालयसँग अनुमति मागेका छन । अर्को तर्फ निजी क्षेत्रबाट हालसम्म ३ दर्जन भन्दा बढी केवुलकार निर्माणका लागि अध्ययन सुरु भएका छन ।
विश्वको आधुनिक बिकासको इतिहास हेर्ने हो भने १८औं शताब्दीको औद्योगिक क्रान्तिले विश्वलाई नै यान्त्रिक बिकासमा प्रवेश गरायो । औद्योगिक क्रान्तिले उत्पादनको नयाँ युग सुरु भयो । औद्योगिक क्रान्तिले वैज्ञानिक आविष्कार हुन थाल्यो। कलकारखाना खुल्दै गए। आधुनिक यन्त्रको बिकास हुन थाल्यो । उडने गुडनेदेखि लिएर सामान ढुवानीको लागि रज्जुमार्गको पनि विकास भयो । रज्जुमार्गकै विकसित रुप हो केवुलकार । पछिल्लो समय नयाँ शहरको परिकल्पना गर्नेहरुका लागि केबलकार सस्तो यातायातको साधन हुन्छ । रुस तथा अमेरिकामा केबलकार ट्रान्सपोर्ट सिस्टम विकास गरिरहेका छन् । बिकसित मुलुकमा पहिले रमाइलो र पर्यटन बिकासको लागि प्रयोग हुने केबलकार आजभोली यातायातका साधनकै रुपमा प्रयोग हुन थालेको छ । केबलकारले कतिपय मुलुकमा दूरदराजका पहाडी गाउँलाई समेत शहरसँग जोडने काम गरेको छ । बातावरणीय दृष्टिकोणले पनि केबलकार अन्य यातायातका साधन भन्दा राम्रो हुन्छ। केबलकारमा लगानी पनि अरुको तुलनामा कम हुन्छ। केबलकारबाट बायूप्रदूषण हुँदैन। केबलकारबाट ध्वनी प्रदुषण पनि हुँदैन । नयाँ रेलवे लाइन, सडक वा पुल बनाउनुको सट्टा केबलकारको प्रणाली विकास गर्न सस्तो पनि पर्दछ ।
केबुलकार निर्माणको प्रविधिको विकासमा पहाडको हरेक कुना–कुनामा केवुलकार निर्माणका लागि लगानीकर्तासमेत खडा भएका छन । केवुलकारको लगानीबाट सार्थक मुनाफा आर्जन गर्न सकिन्छ भन्ने मनोविज्ञानमा लगानीकर्ताहरु छन । अबको दशकमा पर्यटनको क्षेत्रमा केबुलकार, रोपवे, स्काई–वे निर्माणको दशक बन्नसक्ने आकलन गर्न सकिन्छ । नेपालमा अहिले सम्म निर्माण भएका केवुलकारहरु धार्मीक मठ मन्दिरसंग जोडिएका छन । पछिल्लो समय बिश्वमा केवुलकारको प्रविधीमा धेरै बिकास भएको छ । विश्वमा अहिले मोनो केबल नन लाइनर कर्भ सिस्टम जस्तो अत्याधुनिक प्रविधिको केवुलकार पनि संन्चालनमा आएको छ । यस्तो प्रविधीको केवुलकार शहरी र पहाडी इलाकामा कर्भ गर्नका लागि यो सिस्टमको प्रयोग गर्न सकिन्छ। यस्तै अर्को हो चियर लिप्ट सिस्टम। यो केवुलकार साहसिक पर्यटनका लागि पहाडी र हिमाली क्षेत्रमा प्रयोग गर्न सकिने रोप–वे सिस्टम हो । यो मोनोकेबल इन्डलेसन सिस्टममा दुई जनासम्म यात्रु बसेर यात्रा गर्न सकिन्छ । मोना केवल डिटाचेवल सिस्टम । यो केवुलकार पहाडी इलाकामा अहिले संसारभर प्रयोग भइरहेको आधुनिक प्यासेन्जर सिस्टमको केबुलकार हो। नेपालमा यसको सम्भावना धेरै छ । वाइ केबल गोन्डोला सिस्टम। यो केवुलकारमा दुईवटा रोपमा क्याबिनमा २५ र ३० जना यात्रु राखेर सेवा दिन सक्ने प्रविधि हो । यो केवुलकारको सञ्चालनमा लागत धेरै पर्दछ । जिक ब्याक टाइप मोनोकेबल ट्राम वेको केवुलकारमा एकैपटक १६० जनासम्म यात्रु ओसारपोसार गर्न सक्ने प्रकारको सिस्टम हो ।
अहिले सबै क्षेत्रमा पर्यटन बिकासको लागि पहाडको चुचुरोमा भ्युटावर बनाउने होड चलेको छ । प्राकृतिक रुपमा आफै भ्युटावर बनेका डाँडाकाँडामा भ्युटावर बनाउन भन्दा केवुलकारको बिकास गर्न सके राम्रो हुन्छ । ऐतिहासिक कोट गढी पहिचान गरी पहाडको चुचुरोमा केबुलकार पु¥याउनु सके पर्यटनको बिकास हुन्छ । पहाडी भूभागमा सडक मार्ग भन्दा केबुलकार निर्माण गर्ने हो भने ठूला पुल पुलेसा निर्माण खर्च वचत हुने गर्दछ । मोटर मार्ग निर्माण गर्दा हुने वातावरणको विनाश समेत केबुकारले गर्दैन । प्राकृतिक सम्पदालाई केबुलकारले केही हानी नोक्सानी पु¥याउँदैन । मोटर मार्ग निर्माण गर्दा प्राकृति पहाड डोजर र स्काईभेटर दोहनले गर्दा पहाडमा बाढीपहिरोले नोक्सान गर्दछ । बिजुली उत्पादन गर्न सके केबलकारको यातायात सस्तो र भरपर्दाे हुन्छ । पेट्रोलियम वस्तु उत्पादन नहुने हाम्रो जस्तो मुलुकका लागि त केवलकार उपयोगी हुन्छ ।
बन्दीपुर पर्यटनको क्षेत्रमा नौलो नाउँ र ठाउँ भने हैन । हिजोको अवस्थामा पनि बन्दीपुर डुम्रेदेखि पैदल यात्रा र मोटरमार्ग खुलेपछि बन्दीपुर जाने पर्यटकहरु मोटरमा पुग्ने गर्दथिए । तर अहिले केवुलकारको सञ्चालनले फरक चहल पहल र पर्यटकहरुको संख्या पनि बढ्दो छ । पर्यटनको क्षेत्रमा यसलाई राम्रो मान्न पर्दछ । पर्यटकहरु बन्दीपुर पुग्ना साथ पहिला ऐतिहासिक खडगदेवीको मन्दिरमा पुग्दछन। खडकदेवीको मन्दिर राजा मुकुन्द सेनसंग जोडिन्छ । बन्दीपुरको खडगदेवी मन्दिर ऐतिहासिक सम्पदा हो। वर्षको दुइदिन मात्र खुल्ला हुँदै आएको खडगदेवी मन्दिर केवुलकार सञ्चालनमा आएपछि आजभोली दैनिक खुला गरिएको छ ।
इतिहासमा रुचि राख्ने पर्यटकहरुले बन्दीपुरका पुराना कुराहरु खोज्दछन । इतिहास पल्टाउने हो भने बन्दीपुरको प्रशासनिक संरचनाको कुरा पनि लामो छ । राणाहरुकै पालामा बन्दीपुरमा प्रहरी फोर्स गौडीको स्थापना भएको थियो । राणाहरुको पालामा नेपाललाई ३५ जिल्लामा बिभाजन गरेका थिए । बन्दीपुरमा भएको गौडीलाई पछि थानामा परिणत गर्दै बन्दीपुर रानाहरुकै पालामा पश्चिम ३ नम्वरको गौडा समेत भयो । त्यो बेलामा तनहुँ, लमजुङ, मनाङ र कास्कीलाई बन्दीपुर गौडाबाट प्रशासनिक कार्य हुने गर्दथियो । जुन कारणले बन्दीपुर पश्चिम ३ नम्वरको ठूलो प्रशासनिक थलो बन्यो । २००७ साल पछि नेपालको राजनिती फेरवदल हुँदै जादा ०१७ सालमा बन्दीपुर ग्राम पञ्चायत पनि भयो । ०१८ सालमा १४ अन्चल ७५ जिल्ला हुने क्रममा बन्दीपुर तनहुँ जिल्ला भयो । त्यसपछि बन्दीपुर गाउँपञ्चायत हुँदै ०४६ पछि बन्दीपुर गाउँ विकास समिती बन्यो । २०७१ मा धरमपानी र बन्दीपुर गाउँ विकास समितिहरुलाई समेटेर बन्दीपुर नगरपालिका पनि भयो । तर २०७३ सालमा नेपालको नयाँ प्रादेशिक संरचना कायम हुँदा बन्दीपुर गाउँपालिका कायम गरियो । बन्दीपुरमा पुरानो खानेपानी ०१७ सालमा सुरुवात भै ०१९ सालमा सम्पन्न भएको हो । यसको मुहान छिम्केश्वरी नजिक बडस्वाँरामा पर्दछ ।
पर्यटकहरुलाई बन्दीपुरका पुराना घरले भक्तपुरको झल्को दिन्छ । त्यस्तै, बन्दीपुरको मिठो खाना र रहनसहनले पनि पर्यटकलाई लोभ्याउने गरेको छ । बन्दीपुर पुग्ना साथ अर्कै हावापानी पाइन्छ र अनौठो ठाउँमा पुगेको आभास पर्यटकहरुलाई हुन्छ । बन्दीपुर करिब चार सय वर्ष पहिले भक्तपुरे नेवारहरुले बसालेको बस्ती हो । यसको इतिहास लामो छ । बन्दीपुरमा अझै पनि त्यसबेलाका घरहरु पर्यटकहरुले देख्न सक्दछन । भक्तपुरे शैलीका चिटिक्क परेका घरहरु अहिले पर्यटनका लागि बन्दीपुरको आकर्षण बनेका छन । ती घरहरु बन्दीपुरका ऐतिहासिक सम्पदा हुन । जसले बन्दीपुरको इतिहास, संस्कृति र परिचय जोगाइ राखेको छ । बन्दीपुर पहिला लमजुङ, गोरखा र तनहुँको मुख्य व्यापारिक केन्द्र थियो । ती जिल्लाहरुको तराई प्रवेश गर्ने नाका नै बन्दीपुर थियो । पछि वि.सं. २०२५ सालमा तनहुँको सदरमुकाम दमौलीमा सरेपछि बन्दीपुर सुनसान बन्न पुग्यो । सदरमुकाम स¥यो, पृथ्वी राजमार्ग बनेपछि बन्दीपुर सुनसान बन्दै गयो ।
बन्दीपुरमा अहिलेको अवस्थामा ल्याउन बन्दीपुरेहरुले ठूलो सघंर्ष गर्नु प¥यो । बन्दीपुरको बिकास पर्यटनले मात्र संभव छ भन्ने कुरामा बन्दीपुरेहरु एक मत भए । सुरुका दिनमा बन्दीपुरमा पर्यटक भित्राउन ठूलै पहल बन्दीपुरेले गर्नु प¥यो। बाटो घाटो सरसफाई र ऐतिहासिक मठ मन्दिरको संरक्षण होमस्टेको शुरुवात बन्दीपुरमा भयो । पर्यटनको पुर्वाधार थपिदै गएपछि बन्दीपुरमा पर्यटकहरु पुग्न थाले । अहिले बन्दीपुरमा सामुदायिक होमस्टे स्थानीय समुदायका महिलाहरुको अग्रसरतामा व्यवस्थापन गरिएको छ । बन्दीपुरमा संचालित होमस्टेमा कुनै एक समुदाय विशेष मात्र नभई नेवार, गुरुङ, मगर, सुनार, बाहुन क्षत्री सबै मिलेर होमस्टे संचालन गरेका छन । विशेषतः बन्दीपुरमा होमस्टेमा बास बस्ने आन्तरिक पर्यटक नै बढी हुन्छन । तर बन्दीपुरका अधिकाशं होमस्टेहरु होमस्टेको कार्यबिधी अनुसार सञ्चालनमा छैनन् । तर पनि पर्यटकहरुलाई होटलको सेबा दिएका छन। पर्यटकहरुलाई सुबिधा त भएको छ । तर होमस्टेको अवधारणा अनुसार पर्यटन प्रवर्द्धन भने भएको छैन । बन्दीपुरका होमस्टेमा स्थानिय उत्पादनका बस्तुहरु कम पाक्दछन । नारायणघाटबाट बन्दीपुर पुगेका खाद्यान्न मात्र होइन तरकारी समेत बन्दीपुर पर निर्भरमा छ ।
आजभोली पर्यटनको क्षेत्र फराकिलो हुँदै गएको छ । पर्यटनको बिकासगर्नु पर्दछ भन्ने मान्यता सबैमा रहेको छ । शहर बजार गाउँघर, टोल छिमेक जहाँ भएपनि बिकासका कुरा उठने बित्तीकै पर्यटनका कुराहरु उठने पनि गर्दछन । पर्यटनको बिकास गर्नु पर्दछ । पर्यटनको बिकासले नै आर्थिक विकास हुन्छ । बिकासको महत्वपूर्ण आधारनै पर्यटन हो। पर्यटनको बहुआयमिक रुपले विकासमा टेवा पु¥याउँछ । पर्यटनले प्रत्यक्ष आर्थीक आर्जन गराउँछ, रोजगारी सृजना गराउँछ र गाउँघरमा उत्पादन भएको वस्तुहरुको खपत हुन्छ । यस्ता खालका कुरा बन्दीपुरमा उठने गर्दछ । तर, बन्दीपुर वरपरका गाउँघरमा पर्याप्त मात्रामा पर्यटकीय क्षेत्रहरुको प्रवर्द्धन हुन सकेको छैन । बन्दीपुरमा धेरै मानिसहरु पुग्दैमा ति सबै पर्यटन हुँदैनन् । पर्यटक हुनको लागि केही न केही पैसा खर्च गर्नु पर्दछ । पैसा खर्च नगर्ने मानिसहरु पर्यटक होइन केबल अवलोकन कर्ता मात्र मानिन्छन । तर पर्यटकहरुले खर्च गर्ने ठाउ हुनु पर्दछ । बन्दीपुर जाने पर्यटकहरुलाई खान बस्नको कुनै असुबिधा छैन । तर बन्दीपुरबाट फर्कदा पर्यटकहरुले के चिज घरमा लैजाने त? बन्दीपुरमा पर्यटकहरुले बन्दीपुरको चिनो स्वरुप कुनै पनि बस्तु किन्ने ठाउँ छैन । यसको लागि अब बन्दीपुर वरपरका गाउँघरमा उत्पादन बढाउनु पर्दछ। उत्पादन भएका बस्तु पर्यटकहरुले खरिद गरेपछि गाउँको उत्पादनले आय आर्जन हुन्छ । रोजगारी बढछ । बन्दीपुरको मात्र नभएर गाउँघरको पनि आर्थिक सुधार हुन्छ । अनि मात्र पर्यटन प्रवद्र्धन हुन्छ ।
पर्यटन प्रवर्द्धनको लागि पुर्वाधारको बिकास भएन भने पर्यटनको विकास, विस्तार र आर्थिक समृद्धि हुँदैन । बन्दीपुरमा पर्यटनको लागि पूर्वाधारको बिकास धेरै भएको छ । गाउँपालिकाले समेत पर्यटनको क्षेत्रमा धेरै लगानी गर्दै आएको छ । जुन कारणले आजभोली बन्दीपुरमा धेरै पर्यटकहरु पुग्दछन । बन्दीपुर पुगे पछि पर्यटकहरुले प्राकृतिक विविधतासँगै विकसित मानवीय चालचलन, संस्कार, भाषा, भेषभूषा, संस्कृतिलाई पर्यटकहरुले रुचिका साथ आनन्द लिदै रमाउँछन । बन्दीपुरको साँस्कृतिक र धार्मिक विरासत शताब्दिऔं पुरानो छ । बन्दीपुरमा मनाइने चाडपर्व, संस्कार र दिनचर्या तथा सुमधुर धार्मिक सहिष्णुता पर्यटकहरुका लागि नौलो अनुभूति हुन्छ । बन्दीपुरमा जात्राको समयमा पुग्ने पर्यटकहरुले विभिन्न जातजाति तथा समुदायको पहिचान र परिचय उनीहरुको रहनसहन, संगीत र नृत्य देख्दा पर्यटकहरु रमाउँछन ।










