तनहुँका स्थानीय तहद्वारा ७२ किलोमिटर नयाँ “ट्र्याक” विस्तार

तनहुँका स्थानीय तहले सडक निर्माणलाई प्राथमिकता दिएका छन्। सडक कालोपत्र, ‘ग्राभेल’, कच्ची सडक निर्माण र ‘ट्र्याक’ खोल्ने कार्यलाई स्थानीय तहले प्राथमिकता दिएका हुन् ।
जिल्लाका स्थानीय तहले एक वर्षमा ७२.४१ किलोमिटर सडकको नयाँ ट्र्याक विस्तार गरिएको जनाएका छन्। व्यास नगरपालिकाले गत आवमा तीन दशमलव १९ किमी सडक कालोपत्र गरेको प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिए । उनका अनुसार हालसम्म नगरपालिकाले कुल एक सय एक किमी सडक कालोपत्र गरेको छ ।
गत आवमा नौ दशमलव ८६ किमी सडक ग्राभेल र १२.८४ किमी नयाँ ट्र्याक खोलिएको छ । गैरेका अनुसार हालसम्म १८४ किमी सडक ग्राभेल र ५११ किमी नयाँ ट्र्याक खोलिएको छ । गैरेले भने, “पूर्वाधार विकासलाई नगरपालिकाले प्राथमिकताका साथ अगाडि बढाएको छ । जनताको माग र आवश्यकतालाई दृष्टिगत गरी विकास अभियान अगाडि बढेको हो ।”
नगरपालिकाले गत आवमा एउटा पार्क, ९.९३ किमी ढल निर्माण गरेको छ । एक सय २९ परिवारमा खानेपानी सुविधा विस्तार भएको छ । योसँगै हालसम्म १९ हजार तीन सय ३६ परिवारमा खानेपानी सुविधा पुगेको गैरेले जानकारी दिए । उनले भने, “०.५५ किमी नदी नियन्त्रण, १४ हेक्टरमा सिँचाइ, एक स्वास्थ्य चौकी र आठ सामुदायिक भवन निर्माण भएका छन् ।”
विश्व बैङ्कको लगानी एवं सहरी विकास मन्त्रालयको सहयोगमा पराशर मार्ग विस्तार निर्माण भइरहेको गैरेले बताए । उनका अनुसार नगर विकास कोषको ऋण सहयोगमा व्यास–१० बैरेनीमा २७१ रोपनी जग्गामा विकास आयोजनाले गति लिएको छ । भानु नगरपालिकाले गत आवमा ६६० मिटर सडक कालोपत्र, १०.५ किमी ग्राभेल र एक दशमलव आठ किमी सडकको नयाँ ट्र्याक खोलेको छ । प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलका अनुसार हालसम्म नगरको बजेटबाट २०.६६ किमी कालोपत्र, १४६.५ किमी ग्राभेल र ३१.८ किमी नयाँ ट्र्याक खोलिएको छ ।
सोही वर्ष ११० परिवारमा खानेपानी सुविधा विस्तार, एक हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा, दुई विद्यालय भवन, तीन स्वास्थ्य चौकी र १० वटा सामुदायिक भवन बनेका पौडेलले जानकारी दिए ।
भिमाद नगरपालिकाले २.३ किमी सडक कालोपत्र, २.११ किमी ग्राभेल र १३.७३ किमी बाटो विस्तार गरेको छ । नगरपालिकाका अधिकृत टेकावती ढकालका अनुसार २९७ खानेपानी आयोजना, १८९ मिटर कुलो, एउटा पोखरी, एउटा स्वास्थ्य चौकी र १० वटा यात्रु प्रतीक्षालय निर्माण गरिएको छ ।
शुक्लागण्डकी नगरपालिकाले १०.८९ किमी सडक कालोपत्र, ८.९१ किमी ग्राभेल र १३.९४ किमी नयाँ ट्र्याक खुलेको छ । नगरभित्र हालसम्म ५५.२५ किमी कालोपत्र, ९५.४८ किमी ग्राभेल र ४८.७७ किमी नयाँ ट्र्याक खुलेको प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले जानकारी दिए । उनका अनुसार २२ पक्की पुल, पाँच झोलुङ्गे पुल, चार पार्क निर्माण तथा २६९ परिवारमा खानेपानी विस्तार भएको छ ।
म्याग्दे गाउँपालिकाले गत आवमा तीन दशमलव नौ किमी सडकको नयाँ ट्र्याक, चार दशमलव एक किमी ग्राभेल र १३८ मिटर कालोपत्र भएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए। उनका अनुसार सो अवधिमा छ मोटरवेल पुल र एक झोलुङ्गे पुल, ‘एक घरः एक धारा’ अन्तर्गत ४३० परिवारममा खानेपानी पुगेको छ। गाउँपालिकाले पोखरी र ल्यान्डफिल्ड साइट एक÷एक र दुईवटा वातावरणमैत्री पार्क निर्माण गरेको छ ।
आँबुखैरेनी गाउँपालिकाले गत आवमा तीन दशमलव दुई किमी सडक ट्र्याक खोल्ने, एक दशमलव आठ किमी ढलान, एक किमी नदी नियन्त्रण, ४० हेक्टर सिँचाइ सुविधा विस्तार गरेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए। सोही अवधिमा दुई विद्यालय भवन, तीन पोखरी, एक झोलुङ्गे पुल, तीन पार्क, तीन सय ३४ परिवारमा खानेपानी विस्तार भएको छ ।
देवघाट गाउँपालिकामा एक वर्षमा एक दशमलव एक किमी कालोपत्र, दुई किमी ग्राभेल र १० किमी नयाँ ट्र्याक खोलिएको, दुई मोटरेवल र तीन झोलुङ्गे पुल, २२० घरमा खानेपानी सुविधा पुगेको निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दप्रसाद पौडेलले बताए ।
ऋषिङ गाउँपालिकामा सात किमी सडक कालोपत्र, दुई किमी ग्राभेल र पाँच किमी नयाँ ट्र्याक, तीन झोलुङ्गे पुल र एउटा पार्क निर्माण, १८० परिवारमा खानेपानी विस्तार भएको प्रमुख प्रशासकीय अधिकृत चिनबहादुर रानाभाटले जानकारी दिए ।
यस्तै, घिरिङ गाउँपालिकामा ०.३४ किमी सडक कालोपत्र, आठ किमी नयाँ ट्र्याक खुल्नाका साथै चार सय परिवारमा खानेपानी सुविधा विस्तार भएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद ढकालले जानकारी गराए ।










