तनहुँका २ हजार २८२ जनामा डेंगी संक्रमण

दमौली : तनहुँमा गत असार १ गते यता २ हजार २८२ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । जिल्लाको १० वटा पालिका मध्ये घिरिङ गाउँपालिका बाहेक अन्य सबै पालिकामा डेंगी संक्रमित भेटिएका छन् ।
स्वास्थ्य कार्यालय तनहुँको पछिल्लो तथ्याङ्क अनुसार आँवुखैरेनी गाउँपालिकाको आँवुखैरेनी बजार क्षेत्र डेंगी संक्रमणबाट सबै भन्दा बढी प्रभावित भएको छ । आँवुखैरेनीमा सोमबारसम्म १ हजार ३९७ जनामा डेंगी संक्रमण देखिएको स्वास्थ्य कार्यालय तनहुँकी पब्लिक हेल्थ नर्स पुजा कुँवरले जानकारी गराइन ।
उनका अनुसार सोमबारसम्म व्यास नगरपालिकामा ३७५, शुक्लागण्डकी नगरपालिकामा २८३, बन्दीपुर गाउँपालिकामा १३१, म्याग्दे गाउँपालिकामा ३०, भानु नगरपालिकामा ३३, देवघाट गाउँपालिकामा १३, भिमाद नगरपालिकामा ७, ऋषिङ गाउँपालिकामा ३ र अन्य १० जनामा डेंगी संक्रमण देखिएको हो ।
यस्तै, गण्डकी प्रदेशमा डेंगी संक्रमण तीव्र भइरहेका बेला उक्त रोगको संक्रमणबाट जोगिन विशेष सावधानी अपनाउन चिकित्सकले सुझाएका छन् । संक्रमण जटिल बनेर मानिसको मृत्युसमेत हुनसक्ने भएकाले उक्त रोग सार्ने लामखुट्टेको टोकाइबाट बच्नु नै डेंगीबाट बच्ने उत्तम उपाय भएको उनीहरुको भनाइ छ ।
दमौली अस्पतालका प्रमुख चिकित्सक परिवर्तन बरालले डेंगी संक्रमण हुँदैमा आत्तिहाल्नु नपर्ने बताए । डेंगी संक्रमणपछि बान्ता भइरहने, नाकबाट रगत आउने, कालो दिसा हुने, थकानजस्ता लक्षण देखिए चिकित्सकको विशेष निगरानीमा उपचार गर्नुपर्ने उनको भनाइ छ । डेंगी भएमा आराम गर्ने, पानी लगायत झोलिलो प्रशस्त पदार्थ पिउने र जथाभावी औषधि सेवन गर्न नहुने प्रमुख चिकित्सक बरालले सुझाएका छन् ।
गर्भवती र बालबालिकामा डेंगीको संक्रमण भएमा स्वास्थ्यमा जटिलता निम्तनसक्ने उनको भनाइ छ । उनले भने, ‘अधिकांश संक्रमित सामान्य उपचारपछि निको हुन्छन्, कतिपयमा डेंगीले जटिलता ल्याउन सक्छ, सामान्य रोग हो भन्ने सोचेर लापरबाही गरेमा ज्यानै जोखिममा पर्न सक्छ ।’
डेंगी सार्ने ‘एडिस एजिप्टाइ’ जातको पोथी लामखुट्टे जमेको सफा पानीमा बस्ने हुँदा घर, कार्यालय र सार्वजनिकस्थलमा पानी जम्न दिन नहुने उनले बताए । डेंगीको भाइरस फैलाउने लामखुट्टे खाल्डाखुल्डी, टायर, भाँडाकुँडा, ड्रम आदिमा जम्मा भएको सफा पानीमा बस्ने हुँदा तिनलाई खाली गनुपर्ने प्रमुख चिकित्सक बलालले बताए ।
यस्तै, हिमालपारिको जिल्ला मुस्ताङबाहेक प्रदेशका सबै जिल्लामा डेंगीको संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयको तथ्याङ्कअनुसार गत असारयता पाँच हजारभन्दा बढीमा डेंगीको संक्रमण पुष्टि भएको छ । डेंगी संक्रमणबाट कास्कीमा दुई र तनहुँमा एक जनाको मृत्यु भएको छ। तनहुँ, कास्कीलगायत जिल्ला डेंगी संक्रमणबाट बढी प्रभावित छन् ।
पछिल्लो तीन महिनामा डेंगी संक्रमणको दरलाई हेर्दा आगामी दिनमा संक्रमणको जोखिम थप तीव्र हुने देखिएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले बताए । उनका अनुसार असारदेखि कात्तिकसम्म डेंगीको संक्रमण बढी फैलने गर्छ। समयमा जोखिम न्यूनीकरण र नियन्त्रण गर्न नसके डेंगीले महामारीको रुप लिन सक्ने प्रमुख अधिकारीले बताए ।
‘डेंगीलाई सामान्य रुपले नसोचौं, यसका अप्रिय उदाहरण हामीसँग छन’, उनले भने, ‘डेंगी भइसकेपछि अचाक्ली पीडा हुन्छ, उपचार र हेरचाह पुगेन भने स्वास्थ्य अवस्था जटिल बन्दै गएर बिरामीको मृत्युसमेत हुनसक्छ ।’
डेंगी रोकथाम र नियन्त्रणका लागि सबै पक्ष सचेत र जिम्मेवार हुनुपर्ने उनले बताए । यस रोगबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नु सबैभन्दा उत्तम उपाय भएको प्रमुख अधिकारीले बताए । चार प्रकारको भाइरसबाट मानिसमा डेंगी संक्रमण हुने गरेको हुँदा उक्त लामखुट्टले जम्मा भएको सफा पानीमा फुल पार्ने र लार्भा जन्माउने अनि यो लामखुट्टेले दिनमा मात्र टोक्ने प्रमुख अधिकारीले बताए ।
संक्रमण बढ्दै जान थालेपछि स्वास्थ्य कार्यालय, स्थानीय तहलगायत निकायले लामखुट्टेको बासस्थान नष्ट गर्ने अभियान सञ्चालन गरिरहेका छन् । डेंगी फैलाउने उक्त लामखुट्टेको जीवनचक्र खल्बल्याउन ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker