केदार सिग्देल : यी अपवाद सांसद जो प्रतिनिधिसभा विघटनपछि फर्किए आफ्नै खेतबारीमा

समर्पण श्री/नेपालप्रेस

‘अहो तपाईं, यस्तो अवस्थामा !’ शीरदेखि पाउसम्म नजर डुलाएपछि उनका मतदाताले जिल खाँदै जिब्रो टोके ।

पहिले सुटेडबुटेडमा ठाँटिने आफ्ना जनप्रतिनिधि यतिबेला मैलो सर्ट, झन् मैलो टोपी र थोत्रो हाफ पेन्टमा उभिएका छन्, आफ्नै अघिल्तिर । हातमा खुर्पा लिएर बारीतिर लम्किरहेका उनलाई मुस्किलले चिन्न सकिन्थ्यो ।

‘माननीयले खुर्पा भिरेको सुहाएन,’ भोटरले अनुहार खुम्च्याउँदै भने, ‘मन्त्री हुनुपर्ने मान्छे । मन्त्रालय धाएर प्रधानमन्त्री भेट्नुपर्ने बेला कहाँ खेतबारीतिर बरालिनुभएको ?’

खेतबारी गर्दा जम्काभेटहरूमा यी प्रश्नले केदार सिग्देललाई घेरिरहे । यो उनका मतदाताको प्रश्न मात्र नभई सद्भाव पनि थियो । त्यसैले उनले मुस्कुराउँदै धन्यवाद दिए ।

प्रतिनिधिसभा दोस्रो पटक विघटन भएपछि सिग्देल पदमुक्त भए । कतिपय सांसद अवसरको दौडधुपमा काठमाडौं ढुकेर बसे । तर उनी बसेनन्, सोझै तनहुँ हुँइकिए । आफ्नो पुर्ख्यौली घर पुगे, भिमाद नगरपालिका-१ को बाेमा, किमुमा ।

घरमा बस्दा उनको आँखा रित्तो गोठमा पर्‍यो । कानमा वर्षौंअघि कराएका गाईवस्तुको आवाज गुन्जिए । मन चस्स भयो । घर वरिपरीका बारी नियाले । जमिन झाडीहरूले छोपिएका थिए । खेतमा ओर्लिए । माटोहरू चट्टानजस्तै साह्रा भइसकेका थिए । उनी चिन्तित हुँदै सोचे, ‘सेवामा लाग्दालाग्दै पेशा छाडेछु ।’

२० वर्षअघिसम्म खेतमा लहलह धान झुलेका हुन्थे । अन्न फलेका हुन्थे । जब केदार २०६५ मा एमाले जिल्ला अध्यक्ष बने, पूर्णकालीन राजनीतिले उनको किसानी छवि बदल्यो । सदरमुकाम बसेर पार्टी र सामाजिक काममा व्यस्त भए । त्यसपछि फर्किएर खेतबारीको काम गर्ने मौका मिलेन पनि । ०७४ मा प्रतिनिधिसभाको सांसद भए । त्यसपछि काठमाडौंमै उनको व्यस्तता चुलियो ।

लामो अवधिपछिको यो फुर्सदमा गाउँ बसेपछि उनले पुराना दिनहरू सम्झिए । कुटो, कोदालो बोकेर डल्ला फोरेको सम्झिए । ‘अब फेरि यी बाँझा जमिनलाई उर्बर बनाउनुपर्‍यो,’ उनले निर्णय गरे ।

तर गर्ने कसरी ? मरूभूमि बनिसकेका जमिन पल्टाउन चट्टान फुटाउनुसरी थियो ।

‘खाडी भासिनेहरूले योभन्दा कठिन काम गर्छन् । यति त सकिन्छ,’ उनले अड्डी कसे ।

घरका ३/४ जना जुटाएर उनी झाडी उखेल्नेतिर गए । उखेलेका झाडीमा आगो लगाएर पोले । त्यसपछि जोत्ने र खन्ने काम गरे । केहीदिनको अथक मेहनतले जमिन योग्य भयो । मकैका बीउ छरे ।

सुक्नै लागेका सुन्तला र कागतीका बोटहरू गोडमेल गरे । त्यतिले मात्र पुगेन । केही नयाँ बिरुवा पनि रोप्नु थियो । कृषि र वन कार्यालयमा सम्पर्क गरेर फलफूलका डेढ सय बिरुवा मगाए । र धमाधम काम थाले ।

रित्ता गोठमा गाईवस्तु थपे । गोठलाई मर्मत गरे । र पूर्णकालीन राजनीतिमा होमिएका केदार अहिले किसानको भेषमा खेतबारीमा दौडिरहेका छन् ।

यी किसानसँग आफ्नो भोटरले चाहेजस्तो मन्त्री बन्ने उस्तो रहर छैन । बरु ‘खेतबारीमा किन’ भन्ने प्रश्नमा उनको जवाफ छ, ‘म यही श्रमबाटै हुर्किएको हुँ । मलाई उत्पादनसँग जोडिनु छ । मन्त्री बन्न मन्त्रालय घुमेर भन्दा श्रम गरेर मैले क्षमता देखाउने पो हो ।’

सुरु सुरुमा आश्चर्य मान्नेहरू अहिले उनका किसानी कर्मबाट प्रभावित छन् । भन्छन्- तपाईंले त प्रेरणा दिनुभयो ।

उनी ६० वर्षका भए । कृषि नगरेको लामो समयको ग्याप । सुरुका दिनहरूमा निकै गाह्रो भयो । जिउ दुख्यो । ‘राजनीतिमा शारीरिक भन्दा मानसिक श्रम बढी हुन्थ्यो । तर किसानले न घाम भन्न पाउँछ न वर्खा । म डटेरै लागेँ,’ केदार सुनाउँछन् ।

१० रोपनी बारी, १० रोपनी खेत र पाखो घाँसको लागि १५ रोपनी खरबारी छ उनको । बारीमा मकै, तोरी, कोदो, मास उब्जनी हुन्छ । उनले अहिले भएको जमिनको आधामात्र ठाउँमा काम गरेका छन् । अब पूरै जमिनमा गर्ने सोच बनाएका छन् ।

केदारलाई अहिले काम गर्न पनि बानी परिसक्यो । जिउ दुख्न पनि छाडिसक्यो । घाममा आङहरू पोल्न छाडिसके । बरु बाँझो जमिन देख्दा पोलेका मन अहिले शीतल भए । झनै शितल त बिर्सिएका कामहरूमा अभ्यस्त हुँदा भए । खेतबारीको काममा डोको र नाम्लो चाहिन्थ्यो । लकडाउनका कारण किन्ने अवस्था थिएन । साथीभाइसँग डोका बुन्न, नाम्लो बुन्न र चोया निकाल्न सिके ।

कागती र सुन्तलाहरू कसरी रोप्ने, ज्ञान थिएन । कृषिविज्ञसँग सोधेर कसरी रोप्ने, कति दुरी र गहिराइमा रोप्ने भन्नेबारे ज्ञान लिए । आधुनिक कृषि प्रणाली अबलम्बन गर्न सिके ।

केदारको ध्यान सार्वजनिक चौतारा र बगैंचामा पनि पुग्यो । गाउँमा पहिला सार्वजनिक ठाउँमा आँप रोप्ने चलन थियो । त्यसरी रोपिएका बगैंचा नासिएको र केही बोट रोग लागेर बिग्रिएको देखे । लगत्तै टोल छिमेकमा पनि साथी भाइ जम्मा गरे ।

‘यसको संरक्षण गनुपर्छ, बोट बिरुवा जोगाउनुपर्छ, सार्वजनिक सम्पत्तिको पनि रक्षा गर्नुपर्छ’ भनेर छलफल चलाएपछि ती काममा पनि उनी जोसिएका छन् ।

योसँगै राजनीति र सामाजिक काममा पनि सक्रियता छ उनको । कोभिडको रोकथामका लागि आफ्नो तर्फबाट भूमिका खेलेकै छन् ।

‘स्वास्थ्यसामग्री जुटाउन जिल्लामा रहेका सबै स्वास्थ्य संस्था र स्थानीय तहसँग, कार्यकारीसँग समन्वय गरेर पहल गरेको छु । कोभिड नियन्त्रणका लागि सक्दो भूमिका खेलेको छु,’ उनी भन्छन् ।

नेकपा एमालेका जिल्ला अध्यक्ष पनि हुन् केदार । पार्टीका संगठनात्मक काम टेलिफोन र भर्चुअलबाट गरिरहेका छन् ।

प्रतिनिधिसभा विघटनको मुद्दा अदालतमा चलिरहेको छ । यदि संसद पुनःस्थापना भयो र नियमित सम्हाल्नुपर्ने काम भयो भने के गर्ने ?

त्यसबारे नसोचेका हैनन् । तर फेरिएको उनको दैनिकीले नयाँ पाठ सिकाएको छ । बिहान पाँच बजे उठेर कुँडो, घासँपानी गर्दा होस् वा दिउँसो खेतबारी जोत्दा । किसानको समस्या उनी किसान भएर सोचिरहेका छन् । उत्पादनबारे नागरिक भएर सोचिरहेका छन् ।

यिनै सोचाइले उनको मनसाय बनेको छ- अब सांसद बनुँ, या मन्त्री । तर खेतबारी बाँझो हुन दिन्न ! सा. नेपालप्रेस डटकम

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker