क्रिसमस दिवस र यस भित्रका कुरा

के.वि. मसाल

डिसेम्बर २५ अर्थात पुस १० गते क्रिसमस डे पर्दछ । नेपाल सहित विश्वभरका क्रिस्चियन धर्मालम्बीहरुले आज क्रिसमस दिवस मनाउँदैछन । क्रिसमस विश्वभरका इसाई धर्माबलम्बीहरुले मनाउने दिवस हो । जहाँ इसाईहरुले येशू ख्रीष्टको जन्मको सम्झना गर्दछन । इसा मसिह अथवा जिसस क्राइस्टको जन्मदिनको उपलक्षयमा क्रिसमस पर्व मनाउने गरिन्छ। जिससको जन्म महिना र मिति यहि नै हो भन्न सकिँदैन तर वेस्टर्न क्रिस्चियन चर्चले उनको जन्म डिसेम्बर २५ भनेर तोकेका छन । केही वर्षयता नेपालमा पनि यस उत्सवको प्रभाव पर्न थालेको छ । कति मानिसहरुले क्रिसमसलाई बुझेर मान्ने गर्छन् भने कतिले रमाइलो गर्ने दिनका रुपमा समेत क्रिसमसलाई लिने गर्दछन् ।
ईसाई धर्मको प्रचलित नाम मसीही धर्म वा क्रिश्चियन धर्म हो । यसलाई इब्राहीमी एकेश्वरवादी धर्म पनि भनिन्छ। जसका अनुयायीहरुलाई ईसाई भनिन्छ। ईसाई धर्मका अनुयायी ईसा मसीहको शिक्षा अनुसार चल्दछ । ईसाइहरुमा धेरै समुदायहरु छन । यो धर्ममा कैथोलिक, प्रोटैस्टैंट, आर्थोडोक्स, एवानजिलक आदि पर्दछन। बाइबल ईसाई धर्मको मुल धर्मग्रन्थ हो । धर्म भन्नाले दैवि शक्ति, परमात्मा अथवा अदृश्य शक्तिमा गरिने विश्वास र त्यस्ता शक्तिहरु सँग सम्बन्धित नैतिक आचरण, व्यवहार, मूल्य तथा मान्यता, सघ संस्था, तथा पुरातन बिधिहरु पर्दछन्। कहिलेकाहिं आस्था अथवा विश्वास जस्ता शव्द पनि धर्मकै अर्थमा प्रयोग गरिन्छ । धर्म भनेको जिव वा मानवको स्वभाविक गुण हो । मानव सँस्कृतिको विकास सँगै धर्मको सुरुवात भएको पाइन्छ । संसारमा हाल सम्म प्रचलित भएका धर्महरुमा क्रिश्चियन धर्म, इस्लाम धर्म, हिन्दू धर्म, चिनीया धर्म, बौद्ध धर्म, शिख धर्म, यहुदी धर्म, बहाई धर्म, जैन धर्म, शिन्थो, फारसी धर्म र धर्मबिहिन अर्थात कुनैपनि धर्म नमान्ने मानिसहरु पनि रहेको पाइन्छ ।
नेपालमा इसाई धर्म प्रवेशको इतिहास पाँच शताब्दी पुरानो हो । देवीप्रसाद शर्माको आधुनिक नेपालको इतिहासमा उल्लेख भए अनुसार, १६औँ शताब्दीमा इसाईको रोमन क्याथोलिक सम्प्रदायका धर्मगुरु क्यापुचीन पादरी पहिलोपटक नेपाल छिरेका थिए। विक्रम संवत १६८५ मा कान्तिपुरका राजा शिवसिंह मल्लले पहिलोपटक क्यापुचीन पादरीहरुलाई धर्मप्रचारका लागि नेपाल भित्र्याएका हुन्। कान्तिपुरका राजा प्रताप मल्ल, ललितपुरका राजा श्रीनिवास मल्ल र भक्तपुरका राजा रणजीत मल्लले उनीहरुलाई निर्भयतापूर्वक धर्मप्रचार गर्न छुट दिएका थिए । त्यसरी छुट दिनेमा ललितपुरका राजा श्रीनिवास मल्लले बढी नै उदारता देखाएका थिए । विसं १८२४ मा उनीहरुले ३९ नेपालीलाई इसाई बनाएका थिए । त्यही समयमा ललितपुरमा पहिलो चर्चको स्थापना भएको थियो ।
पृथ्वीनारायण शाहले काठमाडौँमा विजय पाउनासाथ ईसाइ धर्मगुरुका आफ्ना ६२ जना शिष्यसहित ती पादरीहरुलाई नेपाल छोडेर जाने आदेश दिएका थिए। तिनीहरुलाई ब्रिटिस जासुसको रुपमा काम गरेको आशंकामा देश निकाला गरिएको थियो । वि.सं १८२६ मा ती पादरीहरु उत्तरी विहारको बेतियामा बसाइँ सरे । उनीहरुकै पछि लागेर क्रिस्चियन धर्म अँगालेका काठमाडौँ उपत्यकाका केही नेवारी परिवार पनि त्यतै लागे, जहाँ आजसम्म पनि नेवारी समुदायका रोमन क्याथोलिकहरु बसेका छन् । त्यसपछि २००७ सालसम्म नेपालमा एक जना पनि क्रिस्चियन पादरी थिएनन् । राणाशासनको अन्त्यपछि प्रजातन्त्रको स्थापना भयो । विदेशी मिसनहरु नेपालमा आउन थाले। राजा महेन्द्रको पालामा जेसुइटसहरुको नेपाल प्रवेशसँगै क्याथोलिक समुदायको पनि पुनःस्थापना भयो । जेसुइटसहरुले शैक्षीक प्रतिष्ठामार्फत देशको सेवा गर्ने उद्देश्य लिएका थिए । फादर मोरान नामका पादरीले त्यसबेला गोदावरीमा पहिलो ईसाइ विद्यालय स्थापना गरे । नेपाल आएर ईसाइ धर्म प्रचार गर्ने उनी पहिलो पादरी थिए । यसरी खोलिएको मिसन विद्यालयमा गरिब परविारका केटाकेटीलाई निःशुल्क शिक्षा दिइन्थ्यो । त्यसपछि क्याथोलिक सम्प्रदायका अनुयायीहरुको पहलमा सेन्ट जेभियर्स स्कुलको स्थापना भयो । त्यसपछि स्कुल मात्र होइन क्याथोलिक चर्च पनि स्थापना हुन थाल्यो । नेपालको पहिलो प्रोटेस्टेस्ट चर्च पोखराको रामघाट चर्च हो ।
नेपालमा रहेका सामान्यतया हिन्दु, मुसलमान, शिखहरु आफ्नो धर्म मान्नमै सीमित छन्न । उनीहरु चुपचाप आफ्नो धर्म मान्दै आएका छन। धर्म निरपेक्षताको अर्थ पनि त्यही हो । तर, क्रिस्चियनहरु विश्वव्यापी रुपमा धर्म मान्न मात्रै होइन, व्यापक रुपमा धर्म फैलाउनमा समेत ठूलो मात्रामा शक्ति, पैसा प्रयोग गरिरहेका छन । नेपालमा सुकुम्बासी, गरिब, दलित, जनजाति बस्तीहरुमा क्रिश्चियन साम्राज्यवादले ठूलो संख्यामा चिलहरु पठाएको छ र तिनीहरुले ती बस्तीमा निरन्तर धर्मको शिकार गरिरहेका छन । क्रिश्चियन साम्राज्यवादकै कारण नेपालमा धार्मिक सहिष्णुता खल्बलिँदै गएको छ । धर्म परिवर्तनले हजारौं वर्षदेखि चलिआएका सामाजिक मूल्यमान्यता, संस्कार र सांस्कृतिक धरातलका साथै नेपाली जनताको जीवनशैली र रहनसहनसँग मेल खाँदैन । जबर्जस्ती धर्म परिवर्तनले नेपालको परम्परागत धर्मसंस्कृति,रहनसन, रीतिरिवाजमाथि आक्रमण गरिरहेको छ । नेपालमा जुनजुन धर्म मान्ने मान्छेहरु छन्न तिनीहरुलाई स्वतन्त्रतापूर्वक आफ्नो धर्म मान्न, धार्मिक सामाजिक कार्यमा संलग्न हुन पूर्ण अधिकार दिइनुपर्दछ । तर, धर्म परिवर्तनलाई कडाइपूर्वक रोक लगाइनु पर्दछ ।
नेपालको संविधानको धारा ४ मा धर्मनिरपेक्ष भन्नाले सनातनदेखि चलिआएको धर्मसंस्कृतिको संरक्षणलगायत धार्मिक सांस्कृतिक स्वतन्त्रता सम्झनुपर्दछ भनेर स्पष्ट उल्लेख छ । तर, व्यवहारमा धर्म निरपेक्षता भनेको धर्म परिवर्तन हो भन्ने भएको छ । क्रिश्चियनहरुले धर्म परिवर्तनका क्रममा आफ्नो धर्मको प्रचार मात्रै गर्दैनन कि बौद्ध र हिन्दु धर्मको व्यापक विरोधसमेत गर्ने गर्दछन । उनीहरुले बौद्ध र हिन्दुहरुलाई सैतान भन्ने गर्दछन । नेपालमा व्यापक मात्रामा भइरहेको धर्म परिवर्तनले हिन्दुहरुलाई उत्तेजित बनाएको छ । धर्म निरपेक्षता ल्याइनुको प्रमुख उद्देश्य क्रिश्चियन धर्म परिवर्तनका लागि रहेछ भन्ने बुझाइ हिन्दु धर्मका विद्वान, अगुवा र सर्वसाधारणमा समेत रहेको छ। व्यवहारमा त्यस्तै देखिएको पनि छ । हिन्दु धर्म मान्ने दलितहरु र बौद्ध धर्म मान्ने गरिब तामाङ र किराँत धर्म मान्ने राई, लिम्बूहरुलाई धर्म परिवर्तन गराएर तिनीहरुका मौलिक धर्म संस्कार र संस्कृतिमाथि हमला गरिएको छ । चेपाङ बस्तीका परम्परागत पूजाआजाहरु समाप्त भएका छन भने तिनीहरुका सदियौंदेखिका मन्दिरहरु प्रयोगहीन भएर भत्किइसकेका छन । बढदो धर्म परिवर्तनले हिन्दुहरुलाई उत्तेजित बनाएको छ ।
इन्टरनेसनल नेपाल फेलोसिप अर्थात आईएनएफ नेपालको सबैभन्दा पुरानो क्रिस्चियन मिशनरीहरुको संस्था हो । यो युनाइटेड मिसन टु नेपाल भन्दा एक वर्ष अघिबाट संचालनमा छ । उनीहरुले ग्रिन पाश्चर अस्पतालमा पोखरामा कुष्ठरोगका लागि खोलेका थिए । त्यसको सँगसँगै उनीहरुले पोखरामा साइनिङ अस्पताल खोले । जस्तापाताको प्रयोग गरेर बनाएको अस्पतालको छानामा सूर्यको किरण परेपछि चम्किलो देखिएको हुनाले त्यसको नाम साइनिङ राखिएको थियो । पछि सरकारले गण्डकी अञ्चल अस्पतालमा गाभेपछि अहिले साइनिङ अस्पताल छैन । तर ग्रिन पाश्चर अस्पताल भने संचालनमा छ । आइएनएफको सुर्खेतमा पनि अस्पताल छ । यस बाहेक बाकेको नेपालगन्ज, धनुषाको लालगढमा पनि क्रिश्चियन मिशनरीहरुले कुष्ठरोगीको लागी अस्पताल सञ्चालन गरेका छन् ।
इन्टरनेसनल नेपाल फेलोसिको कार्यक्र सन्चालन भएको एकबर्ष पछि सन् १९५६ मा डा. एडगर मिलर फिजिसियन र डा.एलिजावेथ मिलर स्त्रीरोग विशेषज्ञ नेपाल आए । त्यसपछि युनाइटेड मिसन टु नेपालमार्फत शान्त भवनमा अस्पताल खुल्यो । त्यसपछि विस्तारै अन्य मिसन अस्पतालहरु खुल्न थाले । अहिले सबै मिसन अस्पतालहरु सरकारको मातहतमा हस्तान्तरण भइसकेका छन । जस्तो पाटन अस्पताल, ओखलढुंगा, गोरखाको आँपपिपल आदि । पाल्पाको मिसन अस्पताल समुदायले सन्चालन गरेको छ । ती पनि सरकारलाई हस्तान्तरण गरिएको छ । नेपालमा मिसनरी अस्पताल, कल्याणकारी संस्था र विद्यालयहरु गरी दर्जनौँको संख्यामा इसाई संस्था सक्रिय छन् । सेन्ट जेभियर्स र सेन्ट मेरीजजस्ता बिद्यालय यसका उदाहरण हुन् । सबैजसो विदेशी इसाई संस्थाहरुको चर्चहरुसँग सम्बन्ध छ ।
मिसनरीहरुमा खासगरी युनाइटेड मिसन टू नेपाल पाँच दशकदेखि नेपालमा छ । करीब १६ देशका ४० वटाजति संस्थाहरु मिलेर बनेको यूएमएनले नेपाल सरकारसँग धर्मप्रचारमा संलग्न नरही सेवा मात्रै उपलब्ध गराउने लिखित बचनबद्धता गरेपनि व्यवहार भने उल्टो छ । यी संस्थाहरुले स्वास्थ्य र शिक्षामा काम गरेपनि मुख्य काम भने धर्मप्रचारनै रहेको छ । जसको उदहारण त्यहाँ काम गर्ने सबै कर्मचारीहरुलाई समेत क्रिस्चियन बनाएका छन । क्रिस्चियन भएन भने त्यहाँ काम गर्न समेत पाइन्न ।
नेपालमा अहिले इन्टरनेसनल नेपाल फेलोसिप, युनाइटेड मिसन टू नेपाल, वल्र्ड भिजन नेपाल, मेरी स्टोप्स क्लिनिक मेडिकल क्रिश्चीयन फेलोसिप, फोकस, टिम मिसन, आड्रा नेपाल, नेपाल क्रिस्चियन चिल्ड्रेन एजुकेसन, क्याम्पस क्रुसेड फर क्राइस्ट, इन्टरनेसनल बाइबल सोसाइटी, नेपाल क्रिश्चीयन एलाइन्स, एभ्री होम क्रुसेड, गोस्पेल फर एसिया, विटनेस फर नेपाल, नेपाल बाइबल सोसाइटी, एभान्जेलिकल एलाइन्स, नेपाल लेप्रोसी ट्रस्ट, नेपाल ख्रिस्टीयन फेलोसिप, आगापे क्रिस्चियन फेलोसिप, इम्यानुएल चर्च मिनिस्ट्रज, गोस्रुपेल रेकर्डङ, अपरेसन मोबिलाइजेसन, इन्टरनेसनल निडस, प्रिजन फेलोसिप नेपाल, नेसनल चर्च फेलोसिप अफ नेपाल, बाइबल ट्रेनिङ्, क्रिस्चियन आर्टस एसोसिएसन, मुभमेन्ट फर युनिटी, क्रिस्चियन प्रोफेसनल फेलोसिप, विश्वविद्यालय क्रिस्चियन विद्यार्थी संगती । यी मेसीनरीले नै मुलुकभर धर्म निरपेक्षताको आडमा धर्म परिवर्तनको संजाल फैलाएका छन्् ।
तरपनि यी संस्थाहरुले मुलुकमा केही राम्रा कामहरु गरेका पनि छन । युनाइटेड मिसन टु नेपालले स्वास्थ्य, शिक्षा, हाइड्रोपावर लगायत सामुदायिक विकासका अन्य क्षेत्रमा काम गर्दै आएको थियो । पाटन अस्पताल, तानसेन मिसन अस्पताल र ओखलढुंगा अस्पतालको स्थापना गरि स्वास्थ्य सेवाको क्षेत्रमा यसले योगदान पु¥याएको छ । शिक्षा क्षेत्रअन्तर्गत गण्डकी बोर्डिङ स्कूल पोखरा, कर्णाली टेक्निकल स्कूल जुम्ला, महेन्द्र भवन कन्या स्कूल काठमाडौ तथा बुटवल टेक्निकल इन्टिच्युटको स्थापना गरी सरकारलाई हस्तान्तरण गरिसकेको छ ।
त्यस्तै हाइड्रोपावर अन्तर्गत तिनाउ नदी, आँधि खोला, झिमरुक, खिम्ती लगायतका जलविद्युत परियोजना निर्माण गरेको छ । यी परियोजना मार्फत कूल राष्ट्रिय विद्युत उत्पादनको १३ प्रतिशत आपूर्ति भईरहेको छ । वुटवल पावर कम्पनी तथा हिमाल हाइड्रो जनरल कनस्ट्रक्सन स्थापना गरेर अधिकांस सेयर सरकारलाई हस्तान्तरण गरिसकेको छ ।
नेपालमा ईसाइ धर्म मध्यपहाडमा बढी फस्टाएको छ । आईडीएको सर्वेक्षणमा पनि नेपालमा ईसाइ धर्म अँगाल्ने धेरैजसो पहाडी मूलका जनजाति र दलित तथा तराई मूलका जनजाति भेटिएका छन् । हिन्दु धर्ममा रहेको जातीय भेदभाव र समाजमा व्याप्त गरिबिको कारण पनि ईसाइकरण बढेको हो । धर्म निरपेक्षताको अर्थ राज्यमा सबै धर्मप्रति समान व्यवहार र स्वतन्त्रता हो । पवित्र उद्देश्यले धर्म निरपेक्ष मुलुक घोषणा गरिएपनि यसको दुरुपयोग गरिएको छ । क्रिस्चियन मिसिनरीले गलत ढंगले उपयोग गरिरहेको देखिन्छ । अरुलाई विभिन्न प्रलोभन देखाएर धर्म परिवर्तन गराउनु यसको मुख्य मिसन देखिन्छ । नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरेपछि क्रिस्चियन मिसिनरी झन सक्रिय भएका छन ।
नेपालमा वि.सं. २००७ सालमा राणा शासनको अन्त्य र प्रजातन्त्रको उदयपछि औपचारिक रुपमा क्रिसमस पर्व मनाउने परम्पराको थालनी भएको हो । योभन्दा अघि नेपाली इसाइहरु क्रिसमस मनाउन भारततिर जाने गर्दथे । त्यतिखेर नेपालमा क्रिसमस मनाउन बन्देज गरिएको थियो । जब २००७ सालमा प्रजातन्त्रको घोषणा भयो तब इसाईहरु नेपाल आउने र क्रिसमस मनाउन थाले । त्यसपछि नेपालमा प्रत्यक्ष रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एजेन्सीहरु स्थापना हुँदै गए । यिनीहरुले मन्डली अर्थात चर्चको माध्यमबाट घरबारविहीन बेसहारा, दिनदुःखी गरिब वर्गलाई लक्षित गरेर शिक्षा, स्वस्थ्य तथा खाद्यन्न सहयोग प्रदान गर्दै आउन थाले । जसले गर्दा इसाईहरुको सेवा संगतिमा मन्डलीहरु वृद्धि हुँदै गयो । अहिले नेपालका प्रायः सबै क्षेत्रमा विभिन्न नाममा हजारौँ मन्डली चर्चहरु खडा भएका छन ।
नेपालको संबिधानले प्रत्येक व्यक्तिलाई प्रचलित सामाजिक एवं सांस्कृतिक परम्पराको अवलम्बन, अभ्यास र संरक्षण गर्न हक हुनेछ भनिएको छ । तर, कसैले कसैको धर्म परविर्तन गर्न पाउने छैन र एकअर्काको धर्ममा खलल पार्ने गरी कुनै काम, व्यवहार गर्न पाउने छैनन् भनेर स्पष्ट उल्लेख गरेको छ । तर यसको विपरित धर्म परिवर्तन रोकिएको छैन । नेपाली चर्च र इसाई संघसंस्थालाई ठूलो परिमाणमा विदेशी सहयोग आइरहेको छ । अमेरिका, बेलायत, जर्मनी, नर्वे, फिनल्यान्ड, स्वीडेन, डेनमार्क, जापान र दक्षीण कोरिया जस्ता मुलुकले नेपाली इसाई संघसंस्था र चर्चलाई आर्थिक सहयोग गर्दै आएका छन् ।
अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हाम्रा निम्ति आवश्यक छ ? छ भने के तिनका कार्यक्रमबाट मुलुकले अपेक्षित प्रतिफल पाएको छ? स्वाभाविक रुपमा यस्ता प्रश्न किनपनि उठछन् भने एकैखाले उद्देश्यका निम्ति समेत अनेक संस्थाहरुले अनुमति पाएका छन। हाम्रा सरकारी निकायहरुबीच समन्वयको अभावमा ती संस्थाले निर्धारण गरिएभन्दा विपरीत क्षेत्रमा समेत कार्यक्रम चलाइ रहेका छन्। तीमध्ये अधिकांशको उद्देश्य गरिवि न्यूनीकरण गर्ने भन्ने उल्लेख गरेका छन् । कतिपयले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गर्ने उल्लेख गरेका छन । तर तिनै संस्थाहरुले नेपालमा धर्म परिवर्तनका लागि मुलुकभर क्रिस्चियन मिसिनरी सक्रिय छन ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker