पठन संस्कृतिले भित्री आँखा खोल्दछ

के.बि. मसाल

शेक्सपियर चर्चित हुनु पढनु र लेख्नुले हो । उनले लेखेका सयौ पुस्तक धेरैले पढने गर्दछन् । पुस्तक ज्ञानको भण्डार हो । कुनै न कुनै रुपमा पुस्तकको प्रयोग गरेर धेरैले संसार जितेका छन । प्राचीन दार्शनिक प्लेटो हुन वा आर्थिक सम्पन्नताका हिसावले अहिलेका विल गेटस नै किन नहुन् । पुस्तककै अध्यनबाट त्यस ठाउसम्म पुग्न सफल भएका हुन । मानिस सधैं अध्ययनको भोको हुन्छ । नयाँ नयाँ विषयवस्तुबारे जानकारी पाइने मात्र होइन, अध्ययनले मानिसको जीवनशैली नै पनि परिवर्तन हुन सक्छ ।
सूचना तथा सञ्चार र प्रविधिको क्षेत्रमा भएका असीमित विकासले त झन हरेक मानिसका लागि अध्ययनको क्षेत्र फराकिलो बनाइएको छ । विद्यार्थी र जुनकुनै क्षेत्रमा आबद्ध व्यक्तिसमेत अहिले विस्तारै अध्ययनप्रति आकर्षित हुन थालेका छन् । सामाजिक तथा सांस्कृतिक परिवेश, जीवनशैली र मानवीय विचार जान्न र बुझ्न पनि हरेक मानिस अध्ययनलाई जीवनको अभिन्न अंग बनाउन चाहन्छन् । अध्ययनबाट ज्ञान र मनोरञ्जन दुवै प्राप्त गर्न सकिन्छ । ज्ञानका विभिन्न पक्षहरु हुन्छन् । पुस्तकले समाजको संस्कृति सभ्यता र व्यवहारको जानकारी दिन्छ । साहित्यक कृतिले मानव जीवनको यथार्थ बुझ्न सहयोग गर्छ । संसारको हरेक क्षेत्रमा रहेका मानिसहरुबारे जानकारी लिन पनि अध्ययनले सहयोग पु¥याउँछ ।
बौद्धिकताको पहिलो खुराक भनेको पुस्तक नै हो र पुस्तकको पहिलो प्रक्रिया पढाइ हो । यसर्थ पढन पाउनु सबैको अधिकार हो । के पढने, कस्तो पढने भन्ने कुरा पनि जान्न पाउनु सबैका लागि उत्तिकै आवश्यक छ । पुस्तक पढनु, नदीमा नुहाउनु जस्तै हो ग्रिक दार्शनिक हेराक्ल्टिसको यो भनाईले मानव जीवनमा अध्ययनको महत्वलाई प्रष्ट पारेको छ । नदीमा हरेक दिन नुहाउँदा नयाँ स्फुर्ती मिले जस्तै पुस्तक अध्ययनले पनि नयाँ स्फुर्ती र ज्ञान दिन्छ । मानिसका लागि पुस्तक जीवन र जीवनपछि पनि उत्तिकै महत्वपूर्ण छ । जीवन रहुन्जेल पुस्तकले बाँच्ने कला सिकाउँछ भने जीवनपछि व्यक्तिलाई सम्झिने आधार दिन्छ । पुस्तक मानिसको सबै भन्दा नजिकको साथी हो । नयाँ पुस्तक पढनु भनेको नयाँ साथी बनाउनु जस्तै हो, त्यस्तो साथीसँग सम्बन्ध कहिले बिग्रँदैन । पुस्तक पढने बानीले विश्वका विभिन्न कला सँस्कृती तथा मानव इतिहासका बारेमा सबैलाई जानकारी हुन्छ ।
पुस्तक पढदा सयौ वर्ष अघिको पुस्तकले पाठकलाई त्यो समयसँग साक्षात्कार गराउँछ। अहिलेका पुस्तकले यो समयको नयाँ कुरा जानकारी गराउँछ । अंग्रेजीमा बुक रिडिङ इज नट डाउनलोडिङ भन्ने भनाई छ । अर्थात पुस्तक अध्ययन डाउनलोड गरेर लिएको ज्ञान होइन यसले मानिसलाई अन्तर आत्मादेखि नै जागृत गराउँछ । एउटै पुस्तक विभिन्न पटक पढदा प्रत्येक पटक नयाँ ज्ञान पाइन्छ । त्यसैले पढने बानी बनाइ राख्नु पर्छ । सामान्यतया धेरै जनालाई पढने काम गाह्रो नै लाग्छ तर नपढी सुखै छैन । पढेर नै मानिस सुशील, ज्ञानी र सभ्य बन्न सक्दबछ । नपढनु वा पढने आदतको विकास नगर्नु भनेको मानवीय जीवनलाई निष्क्रियतातिर धकेल्नु मात्रै हो । सबै मानिसले औपचारिक शिक्षा हासिल गरेका छन् र सबैले विद्यालय, कलेज र विश्वविद्यालयकै शिक्षा लिनु पर्दछ भन्ने आग्रह पनि होइन ।
अध्ययन औपचारिक र अनौपचारिक दुवै हुन सक्दछन् । यति मात्र हो कि हामी जति मात्रामा अध्ययन गर्दछौ त्यति नै मात्रामा हाम्रो सोचाइ, दृष्टिकोण र जीवनशैलीमा सकारात्मक परिवर्तनको धर्सो देखा पर्दछ । सायद थोरो भन्ने एक जना विद्वान्ले अध्ययनकै महत्वलाई पुष्टि गर्न भनेका थिए–‘पुरानो कोट लगाउ, नयाँ पुस्तक किन’ । यहाँ थोरो मात्र होइन हरेक अध्ययनप्रेमी व्यक्तिले दोस्रो व्यक्तिलाई अध्ययन गर्ने सल्लाह दिन्छ । अध्ययनले मानिसको भित्री आँखा खोल्दछ, उसलाई जीवन जीउने प्रेरणा दिन्छ र आशावादी बनेर आफ्नो कुनै आदर्श व्यक्तित्वको झै सकारात्मक विचार राख्न सिकाउछ ।
हामी अध्ययन गर्नुपर्दछ भन्ने कुरालाई कहिल्यै गम्भीरतापूर्वक व्यवहारमा लागू गर्दैनौँ । हामी पढदा पनि हतारको साहित्य भनेर चिनिने पत्रपत्रिकाहरुका हेडलाइन पढेर छोडिदिन्छौ । कि त पत्रिका पनि पढने हामी समय मिलाउन सक्दैनौँ । देशका सबै ठाउँमा पत्रपत्रिकाको पहँुच पुगेको छैन यो छुट्टै बहसको विषय बन्ला । तर पनि धेरै ठाउँमा सामुदायिक पुस्तकालयहरु छन । ती पुस्तकालयबाट हामीले विज्ञान, कला, धर्म, दर्शन, इतिहास, साहित्य आदिका विविध पुस्तकहरु पढने धेरैको बानी छैन । पढने पनि बानी हो र नपढने पनि बानी नै हो । हामीले आफूमा जस्तो बानी बसाल्यो त्यस्तै बानीको बिकास हुन्छ । पुस्तक पढेपछि हाम्रो जीवनमा विभिन्न परिवर्तन आएका हुन सक्छन्। पाठकको मात्र होइन, लेखकको जीवनमा पनि कुनै न कुनै पुस्तकले प्रभाव पारेको हुन सक्छ । पढनु भनेको ज्ञान लिनुका साथै कुनैपनि विषयवस्तुबारे आफ्नो धारणा बनाउने काम हो । पढनु भनेको आफूलाई सरल बनाउनु हो । असल विचारमा उत्प्रेरित गर्नु हो। अरुको भलोमा आफू रमाउनु हो । पढनु भनेको हाम्रो प्रकृति, हाम्रो समाज, विश्व ब्रम्हाण्डको नियम थाहा पाउनु हो । पढेर नै विभिन्न विज्ञानका सिद्धान्तहरु पत्ता लागेका हुन् । पढनु भनेको विभिन्न कला सिक्नु पनि हो । जीवनको लक्ष्य खोज्नु पनि पढनु नै हो ।
पठनमा रमाउन त्यस्तो विधि पढन्ते भइरहनु पर्दैन । तपाईं पठनमा रमाउन सक्नुभयो भने यसले कुनै विषयमा जानकार मात्र बनाउँदैन, गर्न आँटेका काममा पनि सहयोग पु¥याउँछ । पठनले हाम्रो सोचाइ र चिन्तनलाई फराकिलो बनाउँछ । साथीभाइको जमघटमा होस या प्रोफेसनल कुराकानी गर्दा नै किन नहोस पठनमा रुचि हुनेहरुमा कुरा गर्ने मेसो पनि हुन्छ । तर हिजोआज अधिकांशको एउटै गुनासो हुन्छ, पढन त मन छ तर के गर्नु ? फुर्सदै हुन्न । साँच्चिकै हामीलाई पढन मन छ भने र केही कुरामा ध्यान दिन सक्यौँ भने पढनको लागि समय छैन भनिराख्नु पर्दैन । एकैचोटी धेरै पढन खोज्दा पढन सकिँदैन । भर्खरै पढन सुरु गरिएको छ भने कुन कुन पुस्तक पढने भनेर छनोट गर्नुस् । पूरा गर्नै नसक्ने प्रतिबद्धता नगर्नुस् । आज यति पढिसक्छु भनेर सहजताको साथ सुरु गर्ने । पुस्तक पढने बानी नभएकाले आज ५० पाना पढिसक्छु भनेर प्रतिबद्धता गर्न सकिन्छ । यसो गर्दा पढने तनाव हुँदैन । भोलि पनि त्यही पुस्तक सुरुवात गर्ने र पढदा तनाव महसुस भएन भने अघिल्लो दिनको भन्दा १० पाना अरु बढाउन सकिन्छ। पढने उद्देश्य आफैँले बनाउने हो । अरु कसैले भन्दैमा बानी बस्दैन ।
अधिकांश पाठकलाई जतिसुकै मज्जाको पुस्तक भएपनि बीचमा पुगेपछि पढन अल्छि लाग्छ । मैले यो किन यो पढिरहेको छु भनेर अत्यास लाग्छ तर पिर नमान्नुस् । जे हुन्छ राम्रैको लागि हुन्छ । पढिरहेको पुस्तकबाट केही ज्ञान प्राप्त गरेजस्तो लाग्दैन वाहियात लाग्छ भने त्यो छाडिदिनुस् र अर्काे सुरु गर्नुस् । द ह्यापिनेस प्रोजेक्टका लेखक रविनले भनेका छन जित्ने मान्छे कहिल्यै भाग्दैन । उ अघि बढ्छ । पढदा पढदै अल्छी लाग्यो भने तपाईं झन् धेरै पुस्तक पढनुस् राम्रा राम्रा । अल्छी लाग्यो भनेर बीचैमा छाडने हो भने कहिल्यै पढिदैन । सुरुवाती चरणमा आफ्नो रुचि के हो थाहा नहुन सक्छ। त्यतिबेला जुनसुकै पुस्तक पनि पढिन्छ तर केही फरक स्वादका पुस्तक पढदै गएपछि भने आफ्नो रुचि ठयाक्कै थाहा हुन्छ । मान्छेको स्वभावअनुसार रुचि फरक हुने गर्छ । कसैलाई आख्यान मन पर्ने हुन सक्छ भने कसैलाई गैरआख्यान । आफू जे पढदा रमाउन सकिन्छ, त्यही विधा रोज्न सकिन्छ ।
जहाँ जाँदा पनि आफूसँगै पुस्तक लैजान नछुटाउनुस् । यस्तो अवस्थामा तपाईंले थोरै फुर्सद हुँदा वा मौका पाउनेबित्तिकै पढन सक्नुहुन्छ । कसैलाई पर्खिरहनु भएको छ, अस्पतालमा लाइनमा हुनुहुन्छ भने यस्तो बेलामा तपाईंको सबैभन्दा राम्रो साथी पुस्तक नै बन्न सक्छ । सबैभन्दा ठूलो कुरा पढनका लागि समय छुट्ट्याउनु हो । जब हामीले समय नै छुट्ट्याएर, यो महत्वको काम हो र यसलाई म यति समयमा पढ्छु भनेर प्रतिबद्ध भयौँ भने केही दिनभित्रमा नै हामी त्यो समय तालिकामा अभ्यस्त हुन्छौँ । हामी अधिकांश समय सामाजिक सञ्जाल र युट्युबमा बिताइरहेका हुन्छाँै । सामाजिक सञ्जाल र युट्युब चलाउने समय घटाइदिने हो भने पढनका लागि समय निकाल्न सकिन्छ ।
जसरी हामी कपडाका लागि तथा अरु कामका लागि भनेर पैसाको जोहो गर्छाैं, पुस्तकको लागि पनि जोहो गर्नुपर्छ । पुस्तक मागेर हैन, आफैँ किनेर पढने बानी बसाल्नुपर्छ। जब पुस्तक पढिसकिन्छ, त्यसपछि त्यो पुस्तकबारे धारणा बनाउन सकिन्छ । त्यसलाई लेखेर अथवा छलफल गरेर प्रस्तुत गर्न सकिन्छ । धेरै जसोलाई प्रिन्ट पुस्तक नै मन पर्छ । पुस्तकको सुगन्ध, नयाँ पानालाई सुम्सुम्याउनुको मज्जा नै छुट्टै हुन्छ । स्क्रिनमा पढनुभन्दा पुस्तकै हातमा लिएर पढ्नु कयौँ गुना आनन्द हुन्छ । सधैँभरि साथमा प्रिन्ट पुस्तक नै लिएर हिँडन नमिल्न सक्छ । त्यसको विकल्प स्वरुप अडियो बुकलाई लिन सकिन्छ । हातहातमा स्मार्टफोन हुनेले सुन्न र स्क्रिनमा पढन सहज हुन्छ ।
पठन संस्कृतिको विकास गर्न, साहित्यिक कार्यक्रमहरु, गोष्ठी, पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव उपयोगी हुन्छन् । सचेत समाज निर्माण गर्न नपढी सुखै छैन । ज्ञान बिना समाज चल्दैन र ज्ञान आर्जन गर्न पढनै पर्दछ । तीव्र गतिमा फेरिएको प्रविधि र प्रवृत्तिका कारण गहन पठन संस्कृति धरापमा पर्दै गइरहेको छ । पठन संस्कृतिको विकास सामाजिक चेतनाको स्तर नकारात्मक दिशा तर्फ जान्छ। तसर्थ प्रविधि मार्फत हुने टुक्रे पठन भन्दा मुद्रित पुस्तकहरुबाट गहन अध्ययन गर्ने अवधारणालाई बलियो बनाउँदै लैजानु पर्दछ । संसारका साहित्यकार, वैज्ञानिक, अर्थशास्त्री, इतिहासकार, भूगर्भविद तथा जुनसुकै क्षेत्रका प्रख्यात व्यक्तिको जीवनीलाई हेर्ने हो भने उनीहरुले धेरै पुस्तक अध्ययन गरेको पाइन्छ । त्यस्ता व्यक्तिले जीवनको प्रारम्भिक अवस्थामा पुस्तकालयको सेवा सुविधा प्राप्त गरेको भेटिन्छ । जीवनको प्रारम्भिक उमेरमा नै पढने बानी बसाएको पाइन्छ । कसैलाई पुस्तक ज्ञान मात्र होइन, आनन्द लिने, खुसी हुने, मन बहलाउने उपाय हुनसक्छ भने कसैलाई पुस्तक कागलाई बेल पाक्यो हर्ष न विस्मात पनि हुनसक्छ ।
पुस्तक पढने बानी भएका व्यक्तिले बसमा यात्रा गर्दा, विभिन्न कामको चापको बीचमा, पैदल यात्राबाट थाकेको अवस्थामा पनि ध्यानमग्न भएर गहिरिएर पढन सक्छ। पुस्तकमा लेखिएका अधिक पाठबाट सार खिची निचोड निकाल्न सक्छ । बानी नभएकालाई पुस्तक पढनका लागि विशेष समय छुट्याउनुपर्ने, लामो समय पढदा पनि मेसो नचल्ने हुनसक्छ । त्यसैले पनि समाजमा पुस्तक पढने, ज्ञान प्राप्त गर्ने, ज्ञानका विभिन्न पक्षमा बहस गर्ने अभियान सञ्चालनको आवश्यकता छ । समाजको परिवर्तन चाहने, समाजबाट अज्ञानता हटाउन चाहने, ज्ञानमा आधारित सचेत समाज निर्माण गर्न चाहनेले पठन संस्कृति स्थापित गर्ने प्रयास गर्नुपर्छ । यस्तो महत्वपूर्ण कार्यको जिम्मा विद्यालय तथा विश्वविद्यायलाई मात्र सुम्पेर सीमित गर्नु उपयुक्त हुँदैन । पठन संस्कृति निर्माणकार्य समाजका अगुवा, नेतृत्वमा रहेका व्यक्तित्वहरुको चासोको विषय हुनुपर्छ ।
व्यक्तिको आनिबानी निर्माणमा परिवार र समाजको प्रत्यक्ष प्रभाव हुन्छ । परिवार, समाज, परिवेशमा हुने कार्यमा सहभागी हुँदाहुँदै व्यक्तिको बानी निर्माण हुने हो । परिवारमा बाबु–आमा, ज्येष्ठ सदस्यले मात्र होइन, समाजका अग्रजहरुले गर्ने कार्य र बसाएका बानीहरुको प्रभाव हुर्कदै गरेका नयाँ पुस्तामा परिरहेको हुन्छ । आफूभन्दा बढी उमेरका व्यक्ति र पुस्ताले बसाएका बानी नयाँ पुस्ताले सजिलै ग्रहण गर्न सक्छ । घरपरिवारमा वा समुदायमा पुस्तक पढने संस्कृति छ, पुस्तकालय छ र अग्रजहरुले पुस्तक पढछन् भने कलिला नानीमा पुस्तक पढने र पुस्तकबाट सिक्ने बानी बस्न सहज हुन्छ ।
हुन त पुस्तक किनेर पनि पढन सकिन्छ । पुस्तक किनेर मात्र पढदा निकै खर्चिलो हुनसक्छ। पुस्तकालयको सुविधा छ भने एउटै पुस्तकबाट धेरै व्यक्तिले फाइदा उठाउन सक्छन् । पुस्तक किन्ने रकमको अभाव भएकाले पनि पुस्तकालयमा पुस्तक पढन सक्छन्। पुस्तकालय निर्माणले समाजका धेरै व्यक्तिलाई पुस्तकको सेवा पु¥याउन सकिन्छ । पुस्तकालयको राम्रो व्यवस्थापन गर्न सकेमा वातावरणले नै पढौँ पढौँ लाग्ने अवस्था सिर्जना हुनसक्छ । पुस्तकालयले असल सामाजिक र सांस्कृतिक वातावरण निर्माणमा सहयोग गर्न सक्छ । पुस्तकालयलाई एक आपसमा भेटघाट गर्ने, सामाजिक सम्बन्ध बलियो पार्ने र विभिन्न विषयमा सार्वजनिक बहस गर्ने स्थानसमेत बनाउन सकिन्छ । पुस्तकालयले पत्रपत्रिका र अन्य सामाजिक अभिलेखको संरक्षण गर्न सक्छ ।
पुस्तक नभएको कोठा आत्मविहीन शरीरजस्तै हो । यो भनाइले मानिसको जीवनमा पुस्तकको महत्वलाई निकै सूक्ष्म वर्णन गरेको छ। सभ्यताको इतिहासमा मानिसले आविष्कार गरेका असख्य अमूल्य वस्तुमध्ये सबैभन्दा अनुपम आविष्कार हो पुस्तक । चराचर जगतका असख्य प्राणीमध्ये मानिसको विशिष्टता उसको विचार र चिन्तनमा निहित छ । मानिसका त्यही विचार, चिन्तनशीलता र कल्पनशीलताको संग्रह गर्ने वस्तु पुस्तकले मानिसलाई पृथ्वीको सभ्य र सुसंस्कृत प्राणी बनाउन अतुलनीय भूमिका खेलेको छ ।
त्यसकारण मानिसको संस्कृति पुस्तकसँगसँगै हुर्किँदै आएको छ । संसारमा त्यो समाज अघि बढेको देखिन्छ जुन समाजमा पुस्तक अध्ययन संस्कृति जीवन्त छ । पुस्तक लेखन, पठन, बहस, विमर्श चलेको समाज आफू हिँडने अगाडिको बाटोमा प्रस्ट हुने गरेको छ । शाब्दिक अर्थमा पुस्तक निर्जीव भौतिक वस्तु भए पनि त्यसले समाज र सिगो संसारलाई जीवन दिन अहम भूमिका खेलिरहेको हुन्छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker