तिलिचो बेसक्याम्पमा बितेका दिनहरु

नवराज न्यौपाने

मैले वि.सं. २०५१ सालको जेठ र असार महिना योजना सञ्चालनको क्रममा तिलिचो बेसक्याम्पमा बिताउनु पर्‍यो । मनाङको खांसार गाउँबाट ३ घण्टा पैदल दूरी (सात कोश) हिमाली खोचमा रहेको उक्त स्थान समुद्री सतहबाट चार हजार दुइ सय मीटर उचाइमा अवस्थित रहेको छ। चारैतिर सेता हिमालले घेरिएको यो हिमाली खर्कमा बेलाबेलामा याकहरुको बथान पनि आउथे । नाउर (जङ्गली भेडा)का बथानहरु पनि आउथे । साँझ जुनेलीमा चाँदीझैं टल्केका हिमालहरु देख्दा मन रोमाञ्चित भएर आउथ्यो ।

वैशाख महिनामा उपल्लो मनाङमा हिमपात भएको र तिलिचो जाने बाटो हिउँले ढाकेको हुँदा खाङ्सार गाउँबाटै फर्कनु परेको थियो। २०५० साल पौष २७ गतेबाट हिउँ खेल्न सुरु गरेको मलाई हिउँले अत्याउनुसम्म अत्याएको थियो । जेठको पहिलो हप्ताबाट मात्र तिलिचो जाने घोडेटो बाटो र तिलिचो बेसक्याम्पमा धर्मशाला भवन बनाउन उपभोक्ता समितिबाट मानिसहरु आउने भए । त्यतिखेरसम्म्म हामीले सर्वेक्षण र लेआउटको काम सकिसकेका थियौं ।

जेठको पहिलो साताबाट काम शुरु भयो । सबै मान्छे आ-आफ्नै काममा व्यस्त हुन्थे । म भने काम निरीक्षण गर्न खाङ्सारदेखि बेसक्याम्पसम्म ओहोरदोहोर गरिरहन्थें । तर धेरै समय बेसक्याम्पमा नै बिताएँ । वास्तवमा म त्यहाँ हाँसको बथानमा बकुल्ला जस्तै थिए । धेरै स्थानीय मनाङका गुरुङ र कोही कोही लमजुङका हिन्दू गुरुङ थिए । सबैका आफ्नै भाषा थिए । नेपाली बोल्ने म मात्र । बेलाबेलामा खङ्सार पुगेर विद्यालयका शिक्षक, हुलाक र पशुसेवा केन्द्रका कर्मचारीलाई भेट्दा आफू एक्लो नभएको महशुस हुन्थ्यो ।

बेशाक्यम्पको हावापानी निकै चिसो थियो । बेलाबेलामा हिउँ पनि पथ्र्यो । तर घाम लागेपछि बिलाएर जान्थ्यो । बेलाबेलामा पर्यटक लिएर शेर्पा गाइड पनि आउथे । सुकेका धूपिका पोथ्राहरु र काँडेझारहरुको बुट्यान बटुलेर क्याम्प फायर गर्थे । पर्यटकहरु उन्मुक्त भएर गीत गाउँथे र नाच्थे पनि । मेरो ‘आउटडोर लाइफ’ को पहिलो अनुभव थियो यो ।
जेठ १२ गते प्रातभ्रमणको क्रममा खल्तिमा एउटा चाउचाउ हालेर तिलिचो जाने बाटोतिर सोझिएँ। तिलिचो जाने भनेर गएको त थिइन तर हिड्दै जादा तिलिचोको डिल र तिलिचो हिमाल नजिकै देखियो । खुरुखुरु हिड्दा एक घण्टामै हिउँले ढाकेको भूभाग्मा पुगें । त्यहाबाट तिलिचो ताल देखियो तर पानीमाथि बरफ र त्यसमाथि हिउँ जमेको हुँदा हिउँदमा देखिने हुम्डे विमानास्थल जस्तै देखिन्थ्यो । चार डिग्री सेल्सियसको पानीको घनत्व सबभन्दा बढी हुने भएकोले भित्र पानी र बहिर बाराफ र हिउँ हुने ध्रुवीय समुन्द्र जस्तै थियो त्यो । मैले तिलिचो पिक र तिलिचो ताललाई नियालेर हेरें । अनि सोचें, कुनै दिन नीलो पानी हेर्न आउनेछु ।

फर्केर बेस क्याम्प आउँदा ११ बजेको थियो । ७ बजे मर्निङ वाकमा निस्केको म त्यतिबेलासम्म नआउदा सबै चिन्तित भएका रहेछन् । कसैलाई नभनी एक्लै गएकोमा मलाई पनि ग्लानि भएर आयो ।

असार २५ गतेसम्म काम सकेर भुक्तानी भैसक्नु पर्ने भएकोले काम निरन्तर चलिरहेको थियो । लमजुङका कामदारहरु लेक लागेकोले धेरै दिन बस्न सकेनन् र फर्किए । अनि गाउँबाट थप मान्छेहरु आए । काम चाँडै सकेर र्फकनुपर्ने अवस्था आयो र फेरि तिलिचो जाने अवसर भने जुर्दै जुरेन ।

अब तिलिचो तालको कुरा गरौं । नेपालका हिमाली क्षेत्रमा ५००० मीटरको उचाइलाई हिमरेखा भनिएको छ । अर्थात ५००० मीटरभन्दा माथि १२ महिना नै हिउ जम्ने गर्दछ । तर अचेल ग्लोबल वार्मिङले गर्दा ५००० मीटरको उचाइमा पनि हिउँ ५/६ महिनामै पग्लिने गरेको छ । त्यो बेला तिलिचो तालको पानी ३ महिना (असार, साउन र भदौ) मात्र पग्लिने गथ्र्यो । खाङ्सारका बुढापाकाहरु भन्छन्- हाम्राबाबु बाजेको पालामा त्यहाँ पानी कहिल्यै पग्लदैनथ्यो र ताल छ भन्ने पनि थाहा थिएन । ताल कहिल्यै भरिदैन र पानी केही तल पत्तालिएर मुलको रुपमा निस्केको छ।

तिलिचो तालको उचाइ ४९१९ मीटर रहेको छ । तालको औशत गहिराइ ८५ मीटर (२७९ फीट) रहेको छ । यसरी हेर्दा तालको पानीको माथिल्लो सतह ५००४ मीटर हुन आउँछ । तर किनार तथा मेसोकान्तो पासको उचाइ भने ५१०० मीटर रहेको छ । तालको क्षेत्रफल भने ४ दशमलव ८ वर्ग किमी रहेको छ । तालको पानीको आयतन (भोलुम) १५ करोड ६० लाख लिटर रहेको छ।

अहिलेको समय अर्कै भएको छ । तिलिचो बेसक्याम्पमा अहिले होटेल खुलेका छन् र लामाजुङको बेसीशहरबाट खाङ्सारसम्म गाडी चल्ने भएको छ । र, त्यहाँबाट पैदल्, घोडा वा माउन्टेन बाइकबाट तिलिचो एक दिनमै पुग्न सकिन्छ । पौराणिक किम्वदन्ती अनुसार काग भुसुण्डे भनिने यो ताललाई स्थानीय भाषामा तिरिछो भनिन्छ । तिरि भनेको कुनोकाप्चा र छो भनेको ताल हो ।

यसबाट अप्रभंश हुँदै तिलिचो हुन पुगेको बुढापाकाहरु बताउछन् । गत वर्षको सिजनमा दैनिक ५०० देखि १००० जना पर्यटक पुग्ने गरेकोमा यो वर्ष कोरोनाको महामारीले गर्दा पर्यटकको उपस्थिति शून्य रहेको छ । कार्तिक १ गतेबाट पर्यटकको लागि अन्नपूर्ण पदयात्रा खुल्ल गरिने भएको छ । कोरोना हटेर गयो भने हजुरहरु पनि पुग्ने होइन त सुन्दर तिलिचो ताल ?

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker