तनहुँको दक्षिण र उत्तरी भेगमा भएका विकासको तुलना

धेरै समयपछि फेरि भिमाद नगरपालिकादेखि घिरिङ र ऋषिङ गाउँपालिका हुँदै दमौली झर्ने अवसर मिल्यो । यो दक्षिणी भेगमा यात्रा गर्दैगर्दा उत्तरको दाजोमा यो भेगमा विकासका पूर्वाधारहरु लोभ लाग्दो ढंगले अगाडि बढेको पाए ।

केही वर्ष अगाडिसम्म सडक सञ्जालको सहज पहुँच नहुँदा यस भेगबाट घण्टौ समय खर्चिएर स्थानीय सदरमुकाम आउने गरेको सुनेको थिए । तर, अहिले गाउँगाउँमा सडक विस्तारसंगै यातायातको सहज पहुँच पुगेको रहेछ । विकासको पहिलो खुड्किलो भनेको सडक पनि हो । बाह्रै महिना सहज ढंगले यातायात चल्ने अवस्था नभएपनि तनहुँको दक्षिणी भेगमा विकासका रेखाहरु प्रष्टसंग कोरिदै लगिएको रहेछ।

भिरालो तथा पहाडी भूबनोटमा अवस्थित क्षेत्रमा सडक मार्ग विस्तार गर्दा प्रकृतिमैत्री हुन सकेका छैनन् । प्रकृतिमाथि खेलवाड गर्दा ठाउँठाउँमा पहिरो खस्नुका साथै जोखिमपूर्ण पनि बनेका छन् । बजेट सिध्याउनमात्र नभई आवश्यकताका आधारमा प्रकृतिमैत्री सडक सञ्जाल विस्तारलाई प्राथमिकता दिएर बजेट विनियोजन गर्न सकेमा तनहुँका हरेक कुनाकाप्चामा सडक सञ्जाल विस्तार यातायतको सहज पहुँच पुग्न सक्छ ।

मनलाग्दि ढंगले डोजरे विकासलाई प्राथमिकता दिनेक्रम पनि बढ्दै गएको छ। यो प्रवृत्तिका कारण बाढीपहिरो, भू–क्षयको उच्च जोखिम बढेको छ । खानेपानीका स्रोतहरु सुक्दै पनि गएका छन् । विज्ञद्वारा अध्ययन अनुसन्धान गरी आवश्यकताका आधारमा मेसिनको प्रयोग गरी सडक विस्तार गर्ने, विद्युतका पोलहरु उपयुक्त ठाउँमा गाड्ने जस्ता कार्यलाई प्राथमिकता दिनुपर्ने देखिन्छ ।

जिल्लाको उत्तरी भेगको दाजोमा दक्षिणी भेगमा यस्तो राम्रो बिकासको गोरेटो कोरिएका छैनन् । ग्रामीण क्षेत्रको विकासका लागि दुरदराजका गाउँलाई समेटेर पालिका बनाउनु र पालिकाको प्रशासकीय भवन पनि गाउँबस्तिमै हुँदा आवश्यकताको पहिचान भई विकासका पूर्वाधारहरु निर्माण हुन्छन र दक्षिणी भेगका गाउँहरुमा यहीनै भयो ! तर, जिल्लाको उत्तरी भेगमा यो अवस्था छैन । मिर्लुङकोट क्षेत्रको विकास नहुनु र सधै बत्तीमुनिको अध्याँरो जस्तै बन्नुको मुख्य कारण सरोकारवाला निकायका ध्यान यहाँ पुग्नै सकेको छैन । आधारभूत आवश्यकता समेत सहज रुपमा उपभोग गर्न नपाउँदा मिर्लुङकोट क्षेत्रका गाउँबस्ति उजाडिदै गएका छन् । युवाजनशक्ति गाउँमा नहुँदा उर्वरभूमि बाँझिदै गएका छन् ।

मुलुक संघीय संरचनामा गएसंगै सिंगदरबारको अधिकारी गाउँगाउँमा, सरकार जनताको घरदैलोमा भन्ने गरिएपनि मिर्लुङकोट क्षेत्रका बासिन्दाले अहिलेसम्म त्यो अनुभूति गर्न सकेका छैनन् । न त अहिलेसम्म गतिलो सडक सञ्जाल विस्तार भएको छ, न त खानेपानीको सहज पहुँच छ, शिक्षा, स्वास्थ्य सेवा त झन दयानीय अवस्थामा पुगेको छ । उत्तरी भेगका बादर लड्ने भिरलो क्षेत्रको विकासका लागि गाउँपालिका बनाउनु पर्नेमा नगरपालिका बनाइएको छ, नगरपालिकाको भवनदेखि सबै संरचना, गौरबको आयोजनाका भवन, खेलकुदका संरचना, शहरमा केन्द्रित छन् ।

कछार भनेर चिनिने जिल्लाको दक्षिण भेगमा छोटो समयमा भएको विकास र उत्तरी क्षेत्रमा भएका विकासका गतिविधिलाई मुल्याङ्कन गर्ने हो भने यस भेगका बासिन्दाले दक्षिण भेगबाट सिक्नुपर्ने धेरै देखिन्छ । यस भेगका जनता अनि सरोकारवाला निकायले समयमै यसबारेमा गम्भिरतापूर्वक नसोच्ने हो भने दक्षिणले उत्तरलाई नजित्ला भन्न सकिन्न ।

पहिला उत्तरी भेगका हामीले दक्षिणी भेगलाई एकदम दुर्गम, कछार भनेर सम्बोधन गथ्र्यौ । हाम्रो उत्तरी भेगमा बत्तीको लाईन र मोटर बाटोको गोरेटो कोरिदा यो भेगमा गोरेटो बाटो अनि बत्तीको लाइनको नामोनिसान थिएन । अहिले घुम्ने क्रममा पुग्दा यहाँका विकासका पूर्वधार, पालिकाको संरचना देख्दा आफैंलाई अचम्म लाग्यो ।

हाम्रो उत्तरी भेगमा २९÷३० वर्ष अगाडि खनिएका मोटरका बाटा अहिले पनि त्यही अवस्थामा छन् । कुनै स्तरोन्नती हुन सकेका छैनन् । दक्षिणी भेगमा एक वर्ष अगाडि कोरिएका मोटरका बाटा अहिले पक्की भएको देख्न पाइयो। यो भेगका जनताले सडक सञ्जालको मात्रा हैन सबै खाले विकासको अनुभव गर्न पाएको स्थानीयनै बताउँछन्।

त्यसैले साविक क्षेत्र नं. १ उत्तरी भेगका जनता एकजुट भएर सबै पार्टीका नेतृत्वलाई आ–आफ्नो ठाउँबाट खबरदारी गर्न अग्रसरता देखाउन आवश्यक छ । कछार भनेर चिनिने दक्षिणले गरेको विकासबाट त्यो भन्दा अघि विकासमा पाईला लम्काएको उत्तरी भेगले सिको गर्नु जरुरी छ । समयमै यसबारेमा गम्भिरतापूर्वक नसोचिने हो भने दक्षिणले उत्तरलाई नजित्ला भन्न सकिन्न ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker