मलाई कसरी शाकाहारी बन्ने प्रेरणा मिल्यो ?
देव बस्न्यात

क्षत्रीको माम्लो जसो गर्यो त्यसै राम्रो भन्ने चलन छ । सिङ्गो मेरो परिवार मांसाहारी थियो । सम्बत २०६० साल पूर्व सम्ममा म पनि मांशाहारी नै थिए । तत्समयमा क्षत्री खानदानमा रक्सी खानमा कुनै बन्देज थिएन। गरिवका लागि सुरा-सुन्दरी परको कुरा थियो तर त्यही चिज हुने खानेको लागि राजषि खान्गि र राजषि शान पनि मानिन्थ्यो । हिजोको सिसीमुनी आजको ऋषिमुनी बन्ने प्रयत्न जारी छ । यो बस्न्यात पनि शाकाहारी मध्ये एक हो भनेर चिन्हाउन रुचाउँछु । अरुलाई पनि शाकाहारी बन्न उत्प्रेरित गरिरहेको छु । स्वयंमा शाकाहारी हुने केही गुणहरु अवशेष छन् भन्ने महसुस गरेको छु । मेरो परिवार गल्बु गाउँको एक प्रतिष्ठित परिवारमा गनिन्थ्यो। मेरो बुबा लिलामान सिंह बस्न्यात नेपाल सरकारको तिरोभरो उठाएर मालकार्यालयमा जम्मा गर्ने नेपाल सरकारको अबैत्तनिक प्रतिनिधि हुनुहुन्थ्यो।
जिम्मावाल लिलामानसिंहलाई यहाँका रैतीहरुले एकअसल मित्रका रुपमा हेर्ने गर्दथे । तत्कालको समयमा जिम्मावाल मुखियाहरुको छुट्टै शान थियो । रैतीहरुले आफ्ना घरबारीमा फलेका फलफूल र्सवप्रथम जिम्मावाल मुखियाको घरमा चढाएर मात्र आफुले खाने परम्परा थियो। भादगाउँ, रतौली, बैरेनी, जोगीटार, सेवर, सांखर र वरपरका छिमेकीहरु कृषि मजदुरी कामका लागि जिम्मावाल कहाँ कहिले बोलाउँछन र कहिले जान पाइन्छ भनेर प्रतिक्षा गर्दथे । आजकल सबै रैतीहरु नागरिक भएका छन् । शिक्षा दिक्षाकै कारण सबै जान्ने सुन्ने पनि भएका छन । पढनकै लागि मेरा दाजुहरु कृष्णबहादुर बस्नेत र रामचन्द्र बस्नेत पूर्कोट, बन्दिपुर, पोखरा र काठमाडौंसम्म पुगेका थिए । यसै गरी दाजु परशुराम बस्नेत पालुङ्गटारबाट हवाइजहाज चढेर काठमाडौंको वीरअस्पतालमा उपचारार्थ गएका थिए । वास्तवमा सम्बत् २०२५ सालमा तनहुँ जिल्लाको सदरमुकाम बन्दिपुरबाट दमौली सरेपछि मात्रै दमौलीमा हाइस्कुल खुलेको हो । स्कुल खुलेपछि ज्ञानार्जनकै लागि दुरदराज जाने अनिवार्यताको अन्त्य हुन पुगेको थियो ।
जिम्मावाल बा का घरमा राम्रा राम्रा खसी बोकाहरु पालिएका हुन्थे । दशैं होस वा अन्य समयमा घरका खसी बोका मार हान्न पाउने आलाकाँचा केटाहरुलाई अनुमति नै थिएन । धारिला खुकुरीहरु लिएका अनुभवी जलादीहरुले मात्र हाम्रा घरका खसी बोका मार हान्न पाउँथे । खसी बोका एकै चोटीमा नछिनालेमा उ पानी मरुवामा दरिन्थ्यो । साउने सक्रान्ति, माघे सक्रान्ति, पन्ध्र पुष, चैतेदशै जस्ता चाडबाड होस या दशैं तिहार लगायतका हरेक चाडबाडमा खसी, बोका तथा हाँस, कुखुरा लगायतका निर्धन प्राणीहरु मिष्ठान भोजनका लागि बध गरिन्थे । चाडवाडका अलवा बाबा आमाको आशौच सम्पन्न भएको तेह्रौं दिनका दिन पितृप्रसादको रुपमा सामिष भोजन खाने र खुवाउने चलन जीवन्त रहेको छ । बाबाको नाममा रहेको श्रीसम्पती आफ्ना नाममा हस्तान्तरित हुने खुसियालीमा वा घरका मूलपुरुषको देहान्त पश्चात प्राप्त हुने घरसत्ता र शक्ति आफुमा आएको उपलक्ष्यमा दिएको भोज त नभनुँ तर हातमा हात र दुःखमा साथ दिने आफन्तहरुलाई पितृकर्म सकेको तेह्रौं दिनमा पितृप्रसाद भनेर खुवाउने प्रचलन थियो नै ।
परम्परागत संस्कारलाई जोगाउन आफ्नो दायित्व वोध गरेका हौं । परम्परागत संस्कृति संरक्षणका नाममा मातापिताको तेह्रौं पूण्य तिथिमा सामिष भोजन गरेकै थियौ । उक्त दिन अनिवार्य सामिष भोजन गर्नै पर्ने हाम्रो पुरानो चलन हो । हाम्रो समाजमा यद्यापि यो परम्परा जीवन्त रहेको पाउँदछौ । मैले मांसाहारी परिवारकै छोरी विवाह गरे । दुबैजना माछा मासु खाने भएपछि भान्सामा के खाने र के नखाने कुनै समस्या नै भएन । जांडपानीका साथ साथै खसी बोका भेंडा, रांगा, सुंगुर, बंगुर, कुखुराका मासु कती खाइयो कति खाइयो।
तितो सत्य यही हो । नेपाल सरकारको जागिरको दौरानबाट अवकाश लिएपछि मात्र सुरा सराब दुबै सदाका लागि त्याग गरेको हो । परिवारमा सबै छोराछोरीहरुको विवाह भइसकेको थियो । विवाह पश्चात छोरीहरु आफनै घरमा रहने बस्ने गर्दथे । छोराछोरीको विवाह हुँदासम्म श्रीमती पनि मांसाहारी नै थिइन । एउटै भान्सामा खाने छोरा र बुहारी अझै पनि मांसाहारी नै छन् । छोरा बि फार्मेसी र बुहारी वि.एन अध्ययनका लागि चितवन भरतपुर गएका थिए । दुइ/तीन महिनाको अन्तरालमा आउने छोरा बुहारीसंग कमै मात्र भेटघाट हुने गर्दथ्यो । अहिले छोरा बुहारी नाति समेत अष्ट्रेलियामा पुगेका छन् । हामी बूढाबूढी दुइजना घरका रैथाने नै भएका छौं । छोराछोरी बुहारीसंग लामो अन्तरालमा मात्र भेटघाट हुने गर्दथ्यो। मांसाहारी र शाकाहारी बीच महिनौंको अन्तरालमा भेट हुँदा उनीहरुको लागि विशेष मांसाहारी परिकार बन्ने नै गर्दथ्यो ।
परिवारको सदस्य तथा परपाहुनाको उपभोगको लागि मासु खरिद गरेर ल्याईदिन फ्रेस हाउस पुग्नु मेरो कर्तव्य भित्र पर्दथ्यो । गृहलक्ष्मीको आदेश पाउनसाथ जिल्ला सहकारी संघ लि.ले सञ्चालन गरेको सहकारी मासुपसलमा मासुजन्य तरकारी खरिद गर्न पुग्ने गर्दथे । परिवारका सबै सदस्य एउटै टेबलमा बसेर निरामिष र सामिष भोजन गर्दथ्यौं । माछामासु खान छोडेता पनि मासु खानेहरु प्रति रतीभर घृणाभाव थिएन । हामी एक आपसमा सदभाव राख्दथ्यौं । एक अर्काप्रति हेर्ने दृष्टिकोणमा केही फरक थिएन । मैले मांसाहार भोजन त्याग गरेको करिब करिब सात वर्ष पश्चात श्रीमतीले पनि स्वेच्छाले मांसाहार भोजन त्याग गरिन । उनी पनि शाकाहारी हुने दौडमा समर्पित बनिन । आफू माछामासु नखाएता पनि दशैंको बेला खसी, बोका कुखुरा बनाइदिने कार्यमा छोरालाई सहयोग दिने गरिन्थ्यो ।
२०७० सालको दशैंमा खसीको मासु काटकुटमा सहयोग नपुर्याउँदा मातापिता आफुबाट टाढाटाढा भएको हो की जस्तो महसुस छोराले गरेको थियो । हिजो अस्ति के गरियो गरियो सो बारे कुरै नगरौं । जान्ने र बुझ्ने भएपछि हिंजोअस्ति गरेको कामको अपराध वोध भएको छ । अब उप्रान्त ती कार्यहरु नदोहोराउने दृढ अठोट लिएको छु। तर सहकारी कर्मी भएकै नाताले सूर्यमुखी कृषि सहकारी संस्थाको सदस्य बनेको छु । सूर्यमुखी संस्थाले बाख्रापालन कार्यक्रम संचालन गरेको छ । त्यही संस्थाले जिल्ला सहकारी संघ लि. आबद्धता जनाएको छ । संघले खसी बोका बधस्थल निर्माण गरी मासु खरिद बिक्री गरेको व्यवसाय गरेको छ । यसरी सहकारी संस्थाका सदस्यको हैसियतले म स्वयं पनि मासु खरिद बिक्रीमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपले संलग्न भएकै छु । सहकारी कर्मी भएका नाताले व्यवसायी बन्न पर्छ भन्ने वकालत गर्न गौरव महसुस हुने गर्दथ्यो तर अहिले सूर्यमुखी सहकारी संस्थाले बाख्रापालनको काम छोडेको र जिल्ला सहकारी संघले पनि खसी बोका बधशालामा काट्ने र मासु बेच्ने काम छोडिसकेको छ । मनमा सन्तोष बढेको छ । हिजोका यस्ता गतिविधिले गर्दा आजसम्म भौतिक शरिरका साथै आत्मिक शरिरलाई पनि पलपलमा पीडा बोध गराएकै छ । आत्मा ग्लानिले शरिर पानी पानी भएकै छ । जे होस नयाँ क्रियाकलापले आत्मानुभूति मिलेको छ ।
म शाकाहारी प्रति समर्पित हुनुको मुख्य कारण मनमा पलाएको पीडावोधबाट मुक्ति प्राप्त गर्नु नै हो । मेरो संवेदनशील स्वाभावले नै मलाई शाकाहारी बन्न प्रेरित गरेको छ । आखिरमा जीवित प्राणीको प्राणहरण गरिएको शरीरबाट नै मासु प्राप्त हुने गर्दछ । वास्तवमा कुनै निर्दोष प्राणीको जीवनमा असीम पीडा नपुर्याई वा जीवको प्राण पखेरु नउर्डाई त्यसबाट मासुजन्य पदार्थ उपलव्ध हुनै सक्दैन। अर्को अर्थमा निरिह प्राणीलाई नमारी मासु प्राप्त हुँदै हुँदैन । प्राणहरण गरिएको प्राणीको माछामासुको सेवनले नै मानिस मांसाहारी बनेको हो । यदी मेरो बाल्यकालमा मेरो परिवारले मलाई जानेर वा नजानेर मांसाहारी बनाएको भएता पनि मासु खान हुँदैन भन्ने ज्ञान आफुलाई प्राप्त भएपछि मांसाहारी बन्न छोड्ने भिष्म प्रतिज्ञा नै गर्न चुक्ने थिइन । आफु जस्तै अर्को प्राणीको जीवन हरण गर्ने कार्य संवेदनशिल व्यक्तिलाई कहिल्यै स्वीकार्य हुन सक्दैन । अर्थात हामी कुनै प्राणीको जीवन दान गर्न सक्दैनौ भने कुनैपनि प्राणीको जीवन हरण गर्न पनि त सक्दैनौं होइन र –
अब प्रश्न उठ्न सक्छ की ! कसरी म मिष्टान भोजनका नाममा जिउँदै प्राणीहरुको प्राणान्त गरेर मांसाहारी भोजन ग्रहण गर्न सक्छु र – गोस्वामी तुलसीदास भन्नुहुन्छ “परहित सरिस धर्म नही भाई, परपीडा सम नहीं अधमाई” । हाम्रो शरीरमा बिझेको कांडा सियो, खिप तथा आलपिनले झिक्न खोज्दा तथा डाक्टर तथा नर्सहरुले हाम्रा शरीरमा सुइ लगाउँदा जती कष्ट र पीडा हुने गर्दछ त्यस्तै कष्ट र पीडा असाहय तथा निर्दोष जीव हत्यामा पनि हुन्छ भनेर हामी किन कल्पना गर्दैनौ – यसैले आजकल निरीह प्राणीको प्राण हर्दाको बखत स्वयं वा अरु जलादीले प्राणीको हृदयमा दिएको असह्य पीडाले पलपल पोल्न र पिरोल्न थालेको छ।
प्रकृतिले पर्यावरण सन्तुलन कायम गर्न शाकाहारी तथा मांसाहारी दुबै प्राणीको सृष्टि गरेको छ । यस पृथ्वीमा सन्तुलन कायम गर्न पनि प्रकृतीमा “जीव जीवस्य भोजनम्” अर्थात जीव नै जीवको भोजनको व्यवस्था बनेको व्याख्या नगरेको होइन। प्रकृतीले बाघ, भालु, कुकुर बिराला, जस्ता मांसाहारी प्राणीका तिखा तिखा दांत, चुच्चा ठूंड, नङ्ग्रा सहितका पञ्जा, सिर्जना गरेका पाइन्छन् । मांसाहारीहरुलाई मासु लुच्छन कै लागि तिखातिखा नङ्ग्रा र सिकार दाब्ने पञ्जा इश्वरले प्रदान गरेका हुन । मांसाहारी पानी चाट्ने गर्छन । मांसाहारीका आँखा रातमा टल्कने हुन्छन् । शाकाहारीहरु पानी घुटुघुटु पिउने गर्छन । मांसाहारीहरु जन्मदा आँखा नदेख्ने हुन्छन् तर शाकाहारीहरु जन्मदा आँखा खुला राख्ने गर्छन ।
यसैले हामी भन्न सक्दछौं की प्रकृतिले मानिसलाई मांसाहारी श्रेणीमा राखेको पूर्णाधार प्रमाण पाउन सक्दैनौं । हामी लोभी लालची भएर नै पशुपंक्षीलाई पीडादिने पीडक बनेका हौ । लालची भएर नै हाम्रो जीवनमा मासु तथा अन्य अखाद्य बस्तुको फल्दो फूल्दो छ । यस धरतीमा मासु खानकै लागि एकले अर्कोलाई उकास्ने एकमात्र खराब पात्र मानिस हो ? के गैंडाको सिंग, मृगछाला, बाघको छाला लगायतका पशुपंक्षीका अन्य अमूल्य अंगहरुको अवैध कारोवारमा लीन भएका हौं ? के प्रकृति भन्दा पनि हाम्रै दुष्प्रवृति, अज्ञानता र संवेदनहीनता दोषी हुन पुगेको हो ? वास्तविक जगतमा हेर्ने हो भने प्रकृति त सदैव ममतामयी माता बनेर निष्पक्षताका साथ हामी सबैका लालन पालन गरी रहेकी छन् । तर हामी स्वयं स्वार्थी र कुपुत्र बनेर ममतामयी माताको अपहेलाना गरी रहेका छौं भन्दा फरक नपर्ला ।
अन्त्यमा मानिस मात्र नभएर यस धरतीमा जन्मेका हरेक मासुम प्राणीको जीवन पनि त्यतीकै मूल्यवान भएकाले उनीहरुको बाँच्न पाउने अधिकारको संरक्षण हुन जरुरी छ । मानिस स्वयंले स्वयंलाई सर्वश्रेष्ठ प्राणी घोषणा गरेको छ । जो मानिस स्वयं मर्नदेखि डराउँछ भने अरुलाई पनि मर्नदेखि डर लाग्छ भनेर सोच्न जरुरी छ । जसरी मानिस स्वयंलाई आफ्नो शरिर प्यारो लाग्छ त्यसरी नै निर्दोष प्राणीहरुमा पनि आफ्नो शरिरको माया हुन्छ भन्ने भनेर सोच्न सिक्नु पर्दछ । विनाकारण मानिसलाई निर्दोष प्राणीहरुको हत्या गर्ने र सो को मांस भक्षण गर्ने कुनै हक र अधिकार इश्वरले प्रदान गरेका नै छैनन् । यसैले निर्दोष र निमुखा प्राणीको हत्या गर्न र त्यसबाट प्राप्त हुने स्वादिष्ट मिष्ठान्न भोजनको नाममा मांसाहर खाने अधिकार आफुमा नभएकाले आफूलाई शाकाहार बन्ने प्रेरणा मिलेको हो । निर्दोष तथा निमुखा प्राणीहरुको हत्या गरेर प्राप्त मांसाहारी भोजन त्याग्न सम्पूर्ण मांसाहारी साथीहरुलाई हार्दिक अनुरोध गर्न चाहन्छु ।










