तनहुँको आँबुखैरेनी अस्पतालमा आकस्मिक रक्त सञ्चार केन्द्र स्थापना

आँवुखैरेनी : तनहुँको आँबुखैरेनी अस्पतालमा आकस्मिक रक्त सञ्चार केन्द्र स्थापना गरिएको छ । आँबुखैरेनी गाउँपालिकाले सञ्चालन गरेको उक्त अस्पतालमा आज रक्त सञ्चार केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइएको छ ।आँबुखैरेनी अस्पतालमा उपचाररत बिरामीलाई रगतको अभाव नहोस् भन्ने उद्देश्यसहित रक्तसञ्चार केन्द्र स्थापना गरिएको गाउँपालिकाका अध्यक्ष एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पृथ्वीराजमार्गमा दैनिकजसो हुने दुर्घटना, अस्पतालमा प्रसूति सेवा लिन आउने महिला र अन्य बिरामीलाई तत्कालै रगत आवश्यक पर्ने भएकाले अस्पतालमै रक्त सञ्चार केन्द्रको आवश्यकता थियो ।”

रक्तसञ्चार केन्द्र स्थापनापश्चात् रगत आवश्यक पर्ने बिरामीलाई सहज हुने चुमानले बताउनुभयो । उहाँले भन्नुभयो, “रगत खोज्दै अन्यत्र जान नपरोस् भनेर केन्द्र स्थापना गरेका हौँ।”

अस्पतालका प्रमुख डा डिबी क्षेत्रीले अस्पतालमै रक्त सञ्चार केन्द्र स्थापनापछि सम्बन्धित बिरामीले सहज तरिकाले रगत प्राप्त गर्न सक्ने बताउनुभयो । केन्द्र स्थापनासँगै केन्द्रका लागि आवश्यक पर्ने रगत सङ्कलन गर्न थालिएको उहाँको भनाइ छ ।

गाउँपालिकाले २०७९ साल मङ्सिर १ गतेदेखि आँबुखैरेनी स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी १५ शय्याको अस्पताल सञ्चालन गरेको हो । अस्पतालले तनहुँको आँबुखैरेनीका अलवा जिल्लाकै बन्दीपुर, गोरखाको पालुङटार, सहिद लखन र चितवनको इच्छाकामनाका जनतालाई सेवा दिइरहेको डा क्षेत्रीले जानकारी दिनुभयो ।

अस्पतालबाट चौबीसै घण्टा आकस्मिक सेवा, आधारभूत प्रयोगशाला, एक्सरे, भिडियो एक्सरे, इसिजी, फार्मेसीलगायत सेवा प्रदान गरिएको छ । अस्पतालमा एक जना एमडिजीपी, तीन जना मेडिकल अधिकृत र १३ नर्स कार्यरत छन् ।

गाउँपालिकाले अस्पतालका लागि नयाँ भवन बनाएको होइन । भइरहेको भवनको उपयोग गरी अस्पताल सञ्चालन गरेको हो । गाउँपालिकाले वडा कार्यालय भवन, गाउँपालिकाको सभाहल उपयोग गरी अस्पताल बनाएको हो । गाउँपालिकाका अध्यक्ष चुमानले भन्नुभयो, “स्वास्थ्यचौकीलाई ओपिडी बनाएर सञ्चालन गरेका छाँै । इलाका वनको भवनलाई ल्याब बनाएका छाँै । त्यसमा फार्मेसी र शौचालयको पूर्वाधार थप गरेका छौँ ।” अस्पतालले गत एक वर्षको अवधिमा एक सय १७ जनालाई प्रसूति सेवा प्रदान गरेको छ । विसं २०८० मङ्सिर १ गतेदेखि २०८१ मङ्सिर १ गतेसम्म अस्पतालले एक सय १७ महिलालाई प्रसूति सेवा दिएको हो ।

अस्पतालबाट नौ सय ९३ जनाको आकस्मिक अवस्थाका बिरामीको उपचार गरिएको छभने ३२ हजार नौपटक प्रयोगशाला परीक्षण गरिएको क्षेत्रीले बताउनुभयो । अस्पतालमा नौ सय ९१ जना बिरामीलाई भर्ना गरी उपचार गरिएको छभने तीन हजार नौ जनालाई अल्ट्रासाउण्ड सेवा, तीन हजार तीन सय ९१ जनालाई एक्सरे सेवा प्रदान गरिएको क्षेत्रीले बताउनुभयो ।

अस्पतालले अब छिट्टै शल्यक्रिया सेवा, दन्त सेवा, फिजियोथेरापी आवश्यक बिरामीको पुनस्र्थापना र उपचार सेवा सुरु गर्न लागेको छ । त्यसैगरी विशेषज्ञ चिकित्सकमार्फत थप सेवा, टेलिमेडिसिन तथा मोबाइल स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना रहेको डा क्षेत्रीले बताउनुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker