कृषि तथा पशुपन्छी विकास सम्बन्धी समिक्षा : कृषि र पशुपालन क्षेत्रमा श्रमको अभाव
भञ्ज्याङ समाचारदाता/तनहुँ

दुध, मासु, अण्डामा तनहुँ आत्मनिर्भर
तनहुँको कृषि र पशुपालन क्षेत्रमा श्रमको अभाव खड्किएको छ । युवा जनशक्ति वर्षेनी विदेश पलायनहुँदा जिल्लामा पशुपालन क्षेत्रमा परेको श्रम अभावलाई सम्बोधन गर्न नसकिएको निष्कर्ष निकालिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँ र कृषि ज्ञान केन्द्र तनहुँले संयुक्त रुपमा कृषि तथा पशुपन्छी विकास समबन्धी समिक्षात्मक कार्यक्रममा जिल्लामा युवा जनशक्तिको अभाव रहेको देखाइएको छ । कृषि तथा पशु विकासका लागि राजनैतिक प्रतिवद्धताको वृद्धि आवश्यकता रहेको बताउँदै वरिष्ठ पशु विकास अधिकृत डा बालकुमार श्रेष्ठले भने, ‘कृषि तथा पशुपालन पेशालाई प्रतिस्पर्धी, नाफामूलक, सम्मानजनक पेशाका रूपमा स्थापित गर्न राजनीतिक दलले नै प्रतिवद्धताका साथ युवा जनशक्तिलाई खटाउनुपर्ने देखिएको छ ।’
जिल्लामा पशुपन्छी तथा मत्स्य विकासको लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य नहुँदा विभिन्न समस्याहरु झेल्नुपरेको बताइएको छ। जिल्लामा सञ्चालित कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने, पशुपालन क्षेत्रमा सार्वजनिक, निजी तथा सहकारी क्षेत्रको लगानी वृद्धि गर्नुपर्ने, नयाँ प्रविधिको विकास गरी पशुपन्छी पालन प्रणालीलाई यान्त्रीकरण, आधुनिकीकरण र व्यावसायीकरण गर्नु पर्ने, गुणस्तरीय उत्पादन सामग्री, दाना घाँसका बिउवेर्ना, औषधि लगायतका सामग्रीको समयानुकूल आपूर्ति बढाउनु तथा मूल्य नियन्त्रण लगायतका काम सञ्चालन गर्न आवश्यकाता रहेको देखाइएको छ।
नयाँ नयाँ तथा पटक पटक देखिने जुनोटिक एवं महामारीजन्य रोगहरूको प्रकोप न्युनीकरणका लागि चुनौती थपिएको हुँदा भेटेरिनरी सेवामा कृषकहरूको पहुँचमा वृद्धि गराउनु पर्ने, कृषि ऋणको सहज उपलब्धता तथा पशु विमा सुनिश्चित गर्नुपर्ने, बजार मूल्य तथा मागको सूचना कृषकको पहुँचमा पुर्याउनु पर्ने, जलवायु परिवर्तन अनुकूलन हुने गरी पशुपालन प्रणालीको विकास तथा व्यवस्थापन गर्नेपर्ने कार्यालयले निष्कर्ष निकालेको छ ।
कार्यालयले गण्डकी प्रदेश सरकारबाट चालु आर्थिक वर्षका लागि पुँजीगत तर्फ २ करोड २६ लाख र चालु तर्फ६ करोड ५२ लाख ५७ हजार गरी ८ करोड ८७ लाख ५७ हजार बजेट प्राप्त गरेकोमा जेठ मसान्तसम्म कुल बजेटको ६५.५१ प्रतिशसत मात्र प्रगति हाँसिले गरेको छ ।
कार्यालयले चालु आवमा पूर्वाधार विकास, पशु स्वास्थ्य सेवा, पशु आनुवांशिक श्रोत संरक्षण, पशु आहारा विकास, मत्स्य विकास, पशुपन्छी तथा मत्स्य व्यवसाय प्रवर्द्धन सहयोग कार्यक्रम, पशुपन्छी तथा मत्स्य पकेट क्षेत्र विस्तार, पशुपन्छी बजार प्रवर्द्धन, क्षमता अभिवृद्धि लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।
तनहुँ जिल्ला व्यावसायिक पशुपालनको लागि उपयुक्त भूबनोट तथा हावापानी भएको, स्थानीय बजारको उपलब्धतामा वृद्धि भएको, प्राविधिक जनशक्तिको उपलब्धता बढ्दो क्रममा रहेको, मोडेल भेटेरिनरी अस्पताल निर्माणबाट विशिष्टिकृत पशु चिकित्सा सेवा प्राप्त हुने अवस्था रहेको, निजी क्षेत्रको बढ्दो संलग्नताको अवस्था रहेको, सडक, विद्युत, टेलिफोन जस्ता भौतिक पूर्वाधारको विकास भएको, पशुपालन क्षेत्रमा सहकारीकरण एवं सहयोगी संस्थाको उपस्थिति दिनानुदिन बढेको, प्रदेश सरकारको नीतिमा कृषि तथा पशुपालन उच्च प्राथमिकतामा परेको लगायतका सवल पक्ष देखाइएको छ ।
यस्तै, कार्यालयले पशुपालन सम्वद्ध स्पष्ट ऐन, नीतिको अभाव र भएका नीतिहरूको समेत प्रभावकारी रूपमा कार्यान्वयनमा नआउनु, प्राविधिक जनशक्तिको कमीले न्यूनतम् पशु चिकित्सा सेवा ग्रामीणस्तरसम्म पुर्याउन नसक्नु, पशुपालनमा सरकारी क्षेत्रको न्यून लगानीको अवस्था रहेको, बढ्दो पशुजन्य उत्पादन लागत, आवश्यक मात्रामा यान्त्रीकरण, आधुनिकीकरण र व्यावसायीकरण गर्न नसकिएको, पशु र पशुजन्य पदार्थको मूल्य निर्धारण प्रक्रिया वैज्ञानिक र व्यवहारिक बनाउन नसकिएको, कृषकको सीप र क्षमता विकास तथा कृषकले आवश्यक ठानेका विषयमा यथेष्ट कार्यक्रम नहुनु लगायतका कमजोर पक्ष देखाएको छ ।
कार्यालयले स्थानीय पशुपन्छीको उत्पादकत्व कम हुनु तथा उन्नत नश्लका पशुपन्छीहरूको स्रोतको अभाव हुनु, बजारीकरणमा बिचौलियाहरू हावी हुनु र बजारीकरणको समुचित व्यवस्था गर्न नसक्नु, अनुदानका कार्यक्रमहरूलाई वस्तुनिष्ठ बनाई दायरा वृद्धि गर्न नसकिएको, प्रविधिको प्रसार, बिमा, सुलभ ऋण जस्ता सेवामा कृषकहरूको पहुँच नपुग्नु, पशुपन्छीजन्य उत्पादनलाई मूल्य श्रृंखलासँग जोड्न नसक्दा बजारीकरणमा समस्या देखिनु, सरोकारवालाहरू बीच समन्वयमा कमी हुनु जस्ता कमजोर पक्ष रहेको जनाएको छ ।
तनहुँ जिल्लामा भौगोलिक तथा वातावरणीय हिसाबले पशुपालनको प्रचूर सम्भावना हुनु, तीन तहका सरकारले कृषि तथा पशुपालनको क्षेत्रलाई उच्च प्राथमिकतामा राख्नु, पर्यटन अभिवृद्धिसँगै पशुजन्य उपजहरूको माग तथा उपभोग बढ्नु, विदेशबाट फर्किएका युवाहरू सीप, ज्ञान, पूँजी र उन्नत प्रविधिसहित यस क्षेत्रमा आकर्षित हुनु, पशुपालन क्षेत्रमा लगानी गर्न निजी क्षेत्र पनि आकषिर्त हुँदै जानु, कृषि विकास रणनीति, २०७२, प्रादेशिक आवधिक योजना र कृषि विकासका अन्य मार्गदर्शनहरूको विकास भई कार्यान्वयन अगाडि बढ्न सकिने अवसरहरु देखाइएको छ ।
स्वदेशी लगानीमै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको शुरूवात भई गाईभैंसी तथा बाख्रा ब्लक र पकेट कार्यक्रम यस जिल्लामा पनि कार्यान्वयन हुनु, प्रदेश सरकारले मासु तथा दुग्ध व्यवसाय क्षेत्र विस्तार गर्ने नीति लिनु, जिल्लाका सम्पूर्ण क्षेत्रमा यातायात सुविधा बढ्दै जानु, सुलभ ऋण, बीमा र नयाँ प्रविधिहरूको उपयोग बढ्दै जानु, माछा, मासु तथा दुग्धजन्य वस्तुहरूको उपभोग वृद्धि हुँदै जानुलाई पशुपालन क्षेत्रको अवसरहरु देखाइएको छ ।
यस्तै, कार्यालयले भावि कार्यदिशामा कार्यालय व्यवस्थापन तर्फ सेवा प्रवाहलाई प्रभावकारी बनाउन प्राविधिक जनशक्ति थप गर्ने, कृषकहरूबाट विशिष्टिकृत पशु चिकित्सा सेवाको माग भएको देखिएकोले सोको लागि आवश्यक पूर्वाधार र जनशक्ति तयार गर्ने, कार्यालयलाई प्रविधि प्रसार तथा विस्तारको आधार स्थलको रूपमा निर्माण गरी कृषक र विज्ञबीच प्राविधिक ज्ञान आदानप्रदान गर्ने नलेज एक्सचेन्ज सेन्टरको रूपमा विकास गर्ने, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रलाई संघ, प्रदेश र स्थानीय तहबीच पशुपालनका नविनतम प्रविधि प्रसारमा समन्वय र सहकार्यको सङ्गम विन्दुको रुपमा विकास गर्ने, कार्यालयलाई संघ र प्रदेशको प्रतिनिधि केन्द्रको रूपमा विकास गरी राष्ट्रिय लक्ष्य हासिल गर्न पशु विकास तथा ब्याकस्टपिङ्गको लागि नेतृत्वदायी भूमिका निर्भाह गर्ने भएको छ ।
कार्यक्रम कार्यान्वयन तर्फ कार्यालयले अनुदानका कार्यक्रमहरूलाई थप प्रभावकारी बनाउने, उत्पादनमा आधारित अनुदान कार्यक्रमलाई बढावा दिने, सुलभ कृषि ऋण, वीमा सम्बन्धी कार्यक्रमहरूमा कृषकहरूको पहुँच वृद्धि गर्न सचेतना कार्यक्रम संचालन गर्ने, गुणस्तर कायम गर्ने असल पशुपालन अभ्यास तथा असल भेटेरिनरी अभ्यासलाई जोड दिँदै सो अनुसार कार्यक्रम संचालन गर्ने, युवा जनशक्तिलाई पशुपालन पेशामा आकर्षित गर्न युवा लक्षित कार्यक्रमहरू संचालन गर्ने, हालको कोभिड-१९ को विश्वव्यापी महामारीसँगै कृषि र पशुपालन क्षेत्रमा आकर्षा बढ्दै गएको सन्दर्भमा विशेष प्याकेजका साथ रोजगार सृजनाका गर्ने खालका कार्यक्रमहरू सञ्चालन गर्ने योजना बनाएको प्रमुख डा. श्रेष्ठले जानकारी गराए ।










