महिलालाई आत्मनिर्भ बनाउँन व्यासमा सीपमुलक तालिम सञ्चालन

दमौली : तनहुँको व्यास नगरपालिकाले महिलालाई आत्मनिर्भर बनाउने कार्यक्रम अन्तर्गत विभिन्न सीपमुलक तालिम सञ्चालन गरेको छ । प्रदान गर्दै आइरहेको छ। नगरपालिकाले यस कार्यक्रम अन्तर्गत वडा नं. १० मा महिलालाई सीप सिकाएर आत्मनिर्भर बनाउन छ महिने सिलाई बुनाई तालिम सञ्चालन गरिएको छ ।
धौलागिरि सीप विकास केन्द्र वाग्लुङसँगको सहकार्यमा वडा कार्यालयले महिलाहरूलाई गाउँमै पेसा व्यावसाय गरेर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरेको हो। तालिमको सोमबार शुभारम्भ गर्दै व्यास नगरपालिकका प्रमुख वैकुण्ठ न्यौपानेले जागिर खान भन्दा सीप सिकेर आत्मनिर्भर उपयुक्त भएको बताए ।
दिनहुँ जागिर चाहियो भनेर महिलाहरू आउने गरेको उल्लेख गर्दै नगरप्रमुख न्यौपानेले जागिर खान भन्दा स्वरोजगार बन्न ध्यान दिनुपर्ने बताए। जागिर खान ठुलो प्रतिस्पर्धा गर्नुपरेको स्मरण गर्दै नगरप्रमुख न्यौपानेले भने, “व्यास नगरपालिकामा एक जना कार्यालय सहयोग आवश्यक परेकोमा ५० जनाको आवेदन प¥यो स्नाकोत्तर पढ्दै गरेकाले समेत आवेदन दिए ।“
समयको माग अनुसार नयाँ डिजाइनको सिलाउनसके यसबाट राम्रो आम्दानी लिन सकिने न्यौपानेले बताए । उनले सहज जीवनयापनका लागि सीप महत्वपूर्ण हुने हुँदा सीप सिकेर व्यावसायिक बन्न महिलाहरूलाई आग्रह गरे ।
स्थानीय महिलालाई जीवनोपयोगी सीप सिकाएर आर्थिक उन्नती गराउँदै आत्मनिर्भर बनाउन तालिम आयोजना गरिएको वडाध्यक्ष खेमराज पोख्रेलले बताए । महिलाहरू सीप सिकेर उद्यम व्यवसाय गरी आत्मनिर्भर बनाउन तालिमले सहयोग पुग्ने आधा खर्च वडा कार्यालय र आधा खर्च सहभागीले गर्ने तालिम सुरु गरिएको वडा सचिव लक्ष्मी अधिकारी न्यौपानेले बताइन ।
कार्यक्रममा धौलागिरि सीप विकास केन्द्रका कार्यक्रम संयोजक बालकृष्ण पन्त, सहसंयोजक प्रेमप्रसाद सुवेदी, वडा सदस्य इश्वर पौडेल लगायतले यस्ता तालिमले घरको चुलो चौकोमा सिमित रहेका महिलाहरूलाई व्यवसाय नै सञ्चालन गरी आर्थिक रूपमा सबल र सक्षम बनाउन महत्त्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए ।
३० जना महिला सहभागी रहेको तालिममा महिला उद्यमी बबिता विकले प्रशिक्षण दिने भएकी छन् । पछिल्लो समय आर्कषण डिजाइनबाट सिलाइएको कपडाहरूको माग बढ्न थालेकाले स्थानीय स्तरमा महिला उद्यमीहरू तयार पार्न तालिमले सहयोग पुग्ने प्रशिक्षक विकको भनाइ छ ।