कोरोना र प्रभाव

प्रिती श्रेष्ठ
चिनको शहर बुहानबाट संसारभर फैलिएको कोराना भाईरस कोभिड-१९ ले संसारलाई त्रसित बनाईरहेको छ । यो लेख तयार पार्दासम्म ३ करोड ६४ लाख ३८ हजार ३ सय ८० मानिस संक्रमित भएका छन भने १० लाख ६१ हजार २ सय ३७ मानिसको मृत्यु भएको छ । जति नै प्रयास गरेपनि अझसम्म कोरोनाको औषधी नबनेको कारण मृतकहरुको संख्या बढ्ने पक्का छ मृतक आत्माहरुप्रति हार्दिक श्रद्धाञ्जली । कोरोनाले जति मानिसहरुको मृत्यु भयो कालान्तरमा ति मृत्युलाई मानिसहरुले मुक्ति पाएको मानिनेछ । किनकी कोरोनाको कहर सजिलै रोकिने छाँट देखिदैन भने बाँच्ने मानिसहरुले ठुलो आर्थिक व्यवधान बेहोनुपर्ने देखिएको छ । त्यतिबेला धेरै मानिसहरुले भन्नेछन् ‘फलानो त मरेर गयो ढुक्क भयो बाँचेको भए हामी जस्तै मरिमरि बाँच्ने थियो ।’
पछिल्लो समय संसारको जनसंख्या अचकाली बढेको छ, मानिस प्रकृति विनासमा रमाउन थालेको छन् । मान्छेको जिन्दगी मेशिन सरह भएको छ । प्रायजसो देशमा खेतियोग्य जमिनमा सिमेन्टका घरहरु उम्रिएका छन् । मानिसका लागि नभई नहुने खाद्यान्न तथा पानीका श्रोतहरु हाम्रै कारण सुक्दै गएका छन् । यस्तो अवस्थामा प्रकृतिले हामीलाई अनौठो उपहार दिएको छ कोरोना । कोरोनाको प्रभाव त्यस्ता देशहरुमा भइरहेको छ जुन देशहरु संसारका सबैभन्दा सम्पन्न मानिन्छन् । पैसा हुँदैमा कसैलाई बचाउन सकिदोरहेनछ भन्ने गतिलो पाठ सबैले पढिरहेका छन् । अहिलेसम्म थोरै भएपनि प्राकृतिक रुपमा सम्पन्न देशहरु कोरोनाको प्रभावबाट कम पीडित भएको पाईएको छ । तर पनि कोरोनाको समाप्ति पश्चात तिनै देशहरु सबैभन्दा बढि आर्थिक रुपमा प्रताडित बन्नुपर्ने निश्चित प्रायः छ । किनकी कोरोना माहामारीको सयममा विकसित देशहरुले ठुलो आर्थिक नोक्सानी बेहोरिरहेका छन् भने त्यसपश्चात विश्वभर अझै ठुलो आर्थिक मन्दि छाउने निश्चित छ । आर्थिक मन्दिको समयमा बिकसित देशहरुले बिकासोन्मुख देशहरुलाई दिइरहेको अनुदानहरु बन्द हुनेछन् । राजश्वले भिभिआईपि र भिआईपिहरुलाई पाल्न त मुस्किल पर्ने हाम्रो जस्तो देशको हालत के होला – हामी सहजै कल्पना गर्न सक्दछौ ।
नेपाल प्राकृतिक रुपमा सम्पन्न छ । धेरै कुरामा सम्भावना भएको देशमा गनिन्छ। तर राजनितिक खिचातानीले गर्दा कहिल्यै पनि स्थिरता पाउन नसकेको कारणले पनि हुन सक्छ नेपालमा उल्लेख्य कलकारखानाहरु खुलेका छैनन् । परापूर्वकालदेखिका औद्योगिक कारखाना कौडिको भाउमा बिक्री भईसकेका छन् र ति कारखानाहरु पनि मृत बनाईएका छन् ।
पूर्वराजा महेन्द्र र पञ्चायतका पालमा खुलेका कारखानाहरु कौडिको मोलमा बेचिनु प्रजातन्त्र पश्चात खासै कलकारखानाहरु नथपिनु, उद्योग र उद्योगीमैत्री सरकारी नीति नियम नहुनु, बर्षेनि लाखौ बेरोजगारहरु उत्पादन हुनु । जसोजसो बैदेशिक रोजगारले धानेको युवाहरुको जागिर खाने जिजिविषा समाप्त हुन लाग्ने चरणमा पुग्नु त्योभन्दा ठुलो धक्का के हुन सक्दछ हाम्रो जस्ता रेमिट्यान्सले चलेको देशका लागि ?
कोरोनाको प्रकोपले बेरोजगारीको संख्या त बढाउछ नै यस्ले रेमिट्यान्सको भरमा धानिएको नेपाललाई आर्थिक अभावको ठुलो चपेटामा पनि पार्नेछ । जस्बाट सरकारका सम्पूर्ण काम कारवाहीहरु प्रभावित हुनेछन् । वडादेखि केन्द्रसम्मका जनप्रतिनिधिहरु पाल्नको लागि रकम बाड्दा बाड्दै आर्थिक अभावको कारण बिकास निर्माणका कामहरु ठप्प हुन सक्नेछन् भने राष्ट्रिय महत्वका आयोजनाहरु बन्न ढिलाई हुनेछन् । समाजमा बिशेष गरी युवापुस्तामा व्यापक असन्तोष जन्मनेछ भने विपक्षी दलहरु तिनै सेन्टिमेन्टलाई क्याच गरेर आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न लाग्नेछन् । जस्ले गर्दा नेपालको राजनीतिमा मात्र हैन विश्वको राजनीतिक परिदृश्यमा अनौठा दृश्यहरु देखिन सक्नेछन् । जसका संकेतहरु अमेरिका र नेपालका सडकतिर कहिलेकाही देखिन थालेका छन् ।
राजनीतिक अस्थिरता, आर्थिक अभावको रिस सरकारमाथि पोखिने छ । त्यसपछि नेपालमा पुनः बन्द, हडताल आन्दोलनको आँधिबेरी नआउला भन्न सकिदैन । पञ्चायतमा आफुलाई मन नपर्ने तत्वहरुलाई अराष्ट्रिय तत्व भनिए जस्तै लोकतन्त्रमा पनि आफ्नो स्तुति नगाउने, आफुले खाइपाइ आएको सेवा सुविधामाथि औला ठड्याउनेलाई प्रतिगामी तत्व भनिने गरिएको छ । ति प्रतिगामी भनिने तत्वहरु त्यसको प्रतिक्षामा बसिरहेका छन् । सरकारले तिनै असन्तुष्टको भित्री मर्म बुझेर अगाडि नबढ्ने हो भने नेपालमा बिस्तारै चरम आर्थिक अभावले गर्दा लुटपाट, चोरी, हत्या, अपहरण, बलात्कार जस्ता घटनाहरुमा बृद्धि हुनेछन् ।
कोरोना र लकडाउनले बिस्तारै निम्न आय भएका वर्गलाई मात्र होईन अब बिस्तारै गृहिणी, विद्यार्थी, व्यापारी, उद्योगी, व्यवसायी र मध्यम वर्गलाई पनि पिरोल्दैछ । यो पिरोलाई पिलो जस्तो बन्दै गईरहेको छ राग्लिदैछ छ । कुन दिन ठुलै बिस्फोट हुनसक्नेछ । त्यस्तो अवस्था आउन दिइयो भने कसैले रोकेर पनि रोक्न सकिने छैन । सबैको जीवनमा असहज अवस्था आउनु भन्दा अगाडि राजनीतिक नेतृत्वले सुझबुझ पूर्ण निर्णय लिएर देशवासीलाई आत्मनिर्भर बनाउनतिर कदम नचाल्ने हो भने धेरैको राजनीतिक भविष्य त चौपट बन्छ नै अझै देश पचासौ बर्षपछाडि धकेलिन सक्नेकुरालाई नकार्न सकिदैन ।
संसारलाई कोरोना भाईरसले अत्याइरहेको बेला कोरोनाले नै मानव सभ्यताको अन्त गर्यो भने त ठिकै छ तर अझै केही महिना र केही बर्ष यस्को प्रकोपको डरमा सबै व्यापार व्यवसाय ठप्प प्रायभयो । बेरोजगार भएर बस्नुपर्ने अवस्था भईरहृयो, सरकारको काम आफ्नो पदको रक्षा गर्नेमात्र भईरहृयो, सरकारले राजश्व त उठायो तर दुखिगरिव, सर्वहाराको लागि के गर्यो त ? प्रश्न भित्रभित्रै हुर्कदै गईरहेको छ । हुर्किएको यो प्रश्नबाट नेपालमा ठुलै राजनीतिक वितृष्णा सिर्जना हुनेपक्का छ जस्को लागि धमिलो पानीमा माछा मारेर आफुलाई बहादुर सम्झनेहरु भित्रभित्रै तयार भएर बसिरहेको देख्न र सुन्न पाईन्छ । ति बहादुरहरुको अभिष्ट पुरा गर्न तर्फ नै काम गर्ने कि जनताको हितका लागि काम गर्ने ? बल सरकारकै कोर्टतर्फ छ । नत्र कोभिड-१९ को महामारीले कतिको अस्तित्व सिध्याउला थाहा छैन । धेरैको निद उडाउने पक्का छ ।










