कोरोना र प्रभाव

प्रिती श्रेष्ठ

चिनको शहर बुहानबाट संसारभर फैलिएको कोराना भाईरस कोभिड-१९ ले संसारलाई त्रसित बनाईरहेको छ । यो लेख तयार पार्दासम्म ३ करोड ६४ लाख ३८ हजार ३ सय ८० मानिस संक्रमित भएका छन भने १० लाख ६१ हजार २ सय ३७ मानिसको मृत्यु भएको छ । जति नै प्रयास गरेपनि अझसम्म कोरोनाको औषधी नबनेको कारण मृतकहरुको संख्या बढ्ने पक्का छ मृतक आत्माहरुप्रति हार्दिक श्रद्धाञ्जली । कोरोनाले जति मानिसहरुको मृत्यु भयो कालान्तरमा ति मृत्युलाई मानिसहरुले मुक्ति पाएको मानिनेछ । किनकी कोरोनाको कहर सजिलै रोकिने छाँट देखिदैन भने बाँच्ने मानिसहरुले ठुलो आर्थिक व्यवधान बेहोनुपर्ने देखिएको छ । त्यतिबेला धेरै मानिसहरुले भन्नेछन् ‘फलानो त मरेर गयो ढुक्क भयो बाँचेको भए हामी जस्तै मरिमरि बाँच्ने थियो ।’

पछिल्लो समय संसारको जनसंख्या अचकाली बढेको छ, मानिस प्रकृति विनासमा रमाउन थालेको छन् । मान्छेको जिन्दगी मेशिन सरह भएको छ । प्रायजसो देशमा खेतियोग्य जमिनमा सिमेन्टका घरहरु उम्रिएका छन् । मानिसका लागि नभई नहुने खाद्यान्न तथा पानीका श्रोतहरु हाम्रै कारण सुक्दै गएका छन् । यस्तो अवस्थामा प्रकृतिले हामीलाई अनौठो उपहार दिएको छ कोरोना । कोरोनाको प्रभाव त्यस्ता देशहरुमा भइरहेको छ जुन देशहरु संसारका सबैभन्दा सम्पन्न मानिन्छन् । पैसा हुँदैमा कसैलाई बचाउन सकिदोरहेनछ भन्ने गतिलो पाठ सबैले पढिरहेका छन् । अहिलेसम्म थोरै भएपनि प्राकृतिक रुपमा सम्पन्न देशहरु कोरोनाको प्रभावबाट कम पीडित भएको पाईएको छ । तर पनि कोरोनाको समाप्ति पश्चात तिनै देशहरु सबैभन्दा बढि आर्थिक रुपमा प्रताडित बन्नुपर्ने निश्चित प्रायः छ । किनकी कोरोना माहामारीको सयममा विकसित देशहरुले ठुलो आर्थिक नोक्सानी बेहोरिरहेका छन् भने त्यसपश्चात विश्वभर अझै ठुलो आर्थिक मन्दि छाउने निश्चित छ । आर्थिक मन्दिको समयमा बिकसित देशहरुले बिकासोन्मुख देशहरुलाई दिइरहेको अनुदानहरु बन्द हुनेछन् । राजश्वले भिभिआईपि र भिआईपिहरुलाई पाल्न त मुस्किल पर्ने हाम्रो जस्तो देशको हालत के होला – हामी सहजै कल्पना गर्न सक्दछौ ।

नेपाल प्राकृतिक रुपमा सम्पन्न छ । धेरै कुरामा सम्भावना भएको देशमा गनिन्छ। तर राजनितिक खिचातानीले गर्दा कहिल्यै पनि स्थिरता पाउन नसकेको कारणले पनि हुन सक्छ नेपालमा उल्लेख्य कलकारखानाहरु खुलेका छैनन् । परापूर्वकालदेखिका औद्योगिक कारखाना कौडिको भाउमा बिक्री भईसकेका छन् र ति कारखानाहरु पनि मृत बनाईएका छन् ।

पूर्वराजा महेन्द्र र पञ्चायतका पालमा खुलेका कारखानाहरु कौडिको मोलमा बेचिनु प्रजातन्त्र पश्चात खासै कलकारखानाहरु नथपिनु, उद्योग र उद्योगीमैत्री सरकारी नीति नियम नहुनु, बर्षेनि लाखौ बेरोजगारहरु उत्पादन हुनु । जसोजसो बैदेशिक रोजगारले धानेको युवाहरुको जागिर खाने जिजिविषा समाप्त हुन लाग्ने चरणमा पुग्नु त्योभन्दा ठुलो धक्का के हुन सक्दछ हाम्रो जस्ता रेमिट्यान्सले चलेको देशका लागि ?

कोरोनाको प्रकोपले बेरोजगारीको संख्या त बढाउछ नै यस्ले रेमिट्यान्सको भरमा धानिएको नेपाललाई आर्थिक अभावको ठुलो चपेटामा पनि पार्नेछ । जस्बाट सरकारका सम्पूर्ण काम कारवाहीहरु प्रभावित हुनेछन् । वडादेखि केन्द्रसम्मका जनप्रतिनिधिहरु पाल्नको लागि रकम बाड्दा बाड्दै आर्थिक अभावको कारण बिकास निर्माणका कामहरु ठप्प हुन सक्नेछन् भने राष्ट्रिय महत्वका आयोजनाहरु बन्न ढिलाई हुनेछन् । समाजमा बिशेष गरी युवापुस्तामा व्यापक असन्तोष जन्मनेछ भने विपक्षी दलहरु तिनै सेन्टिमेन्टलाई क्याच गरेर आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न लाग्नेछन् । जस्ले गर्दा नेपालको राजनीतिमा मात्र हैन विश्वको राजनीतिक परिदृश्यमा अनौठा दृश्यहरु देखिन सक्नेछन् । जसका संकेतहरु अमेरिका र नेपालका सडकतिर कहिलेकाही देखिन थालेका छन् ।

राजनीतिक अस्थिरता, आर्थिक अभावको रिस सरकारमाथि पोखिने छ । त्यसपछि नेपालमा पुनः बन्द, हडताल आन्दोलनको आँधिबेरी नआउला भन्न सकिदैन । पञ्चायतमा आफुलाई मन नपर्ने तत्वहरुलाई अराष्ट्रिय तत्व भनिए जस्तै लोकतन्त्रमा पनि आफ्नो स्तुति नगाउने, आफुले खाइपाइ आएको सेवा सुविधामाथि औला ठड्याउनेलाई प्रतिगामी तत्व भनिने गरिएको छ । ति प्रतिगामी भनिने तत्वहरु त्यसको प्रतिक्षामा बसिरहेका छन् । सरकारले तिनै असन्तुष्टको भित्री मर्म बुझेर अगाडि नबढ्ने हो भने नेपालमा बिस्तारै चरम आर्थिक अभावले गर्दा लुटपाट, चोरी, हत्या, अपहरण, बलात्कार जस्ता घटनाहरुमा बृद्धि हुनेछन् ।

कोरोना र लकडाउनले बिस्तारै निम्न आय भएका वर्गलाई मात्र होईन अब बिस्तारै गृहिणी, विद्यार्थी, व्यापारी, उद्योगी, व्यवसायी र मध्यम वर्गलाई पनि पिरोल्दैछ । यो पिरोलाई पिलो जस्तो बन्दै गईरहेको छ राग्लिदैछ छ । कुन दिन ठुलै बिस्फोट हुनसक्नेछ । त्यस्तो अवस्था आउन दिइयो भने कसैले रोकेर पनि रोक्न सकिने छैन । सबैको जीवनमा असहज अवस्था आउनु भन्दा अगाडि राजनीतिक नेतृत्वले सुझबुझ पूर्ण निर्णय लिएर देशवासीलाई आत्मनिर्भर बनाउनतिर कदम नचाल्ने हो भने धेरैको राजनीतिक भविष्य त चौपट बन्छ नै अझै देश पचासौ बर्षपछाडि धकेलिन सक्नेकुरालाई नकार्न सकिदैन ।

संसारलाई कोरोना भाईरसले अत्याइरहेको बेला कोरोनाले नै मानव सभ्यताको अन्त गर्‍यो भने त ठिकै छ तर अझै केही महिना र केही बर्ष यस्को प्रकोपको डरमा सबै व्यापार व्यवसाय ठप्प प्रायभयो । बेरोजगार भएर बस्नुपर्ने अवस्था भईरहृयो, सरकारको काम आफ्नो पदको रक्षा गर्नेमात्र भईरहृयो, सरकारले राजश्व त उठायो तर दुखिगरिव, सर्वहाराको लागि के गर्‍यो त ? प्रश्न भित्रभित्रै हुर्कदै गईरहेको छ । हुर्किएको यो प्रश्नबाट नेपालमा ठुलै राजनीतिक वितृष्णा सिर्जना हुनेपक्का छ जस्को लागि धमिलो पानीमा माछा मारेर आफुलाई बहादुर सम्झनेहरु भित्रभित्रै तयार भएर बसिरहेको देख्न र सुन्न पाईन्छ । ति बहादुरहरुको अभिष्ट पुरा गर्न तर्फ नै काम गर्ने कि जनताको हितका लागि काम गर्ने ? बल सरकारकै कोर्टतर्फ छ । नत्र कोभिड-१९ को महामारीले कतिको अस्तित्व सिध्याउला थाहा छैन । धेरैको निद उडाउने पक्का छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker