खप्तडमा भू–स्वर्गको अनुभूती

के.बि. मसाल

घुमफिरमा निस्कने पर्यटकहरु अहिले शहरी क्षेत्रमा भन्दा प्राकृतिक क्षेत्र रुचाउछन । धुवाँ, धुलो, फोहोरजस्ता प्रतिकूल वातावरणका कारण पर्यटकहरुले प्राकृतिक वातावरण रुचाउन थालेका छन। पर्यटकहरुले खासगरी नेपालको संस्कृति, प्रकृति र परम्पराको अध्ययनमा रुचि देखाउन थालेका छन । पर्यटनको लागि संस्कृति, धार्मिक र प्रकृति उत्तिकै महत्वका विषय हुन्छन ।
सुदूरपश्चिम प्रदेशको डोटी, अछाम, बझाङ र बाजुरा चारवटा जिल्लाको संगमस्थलमा रहेको खप्तड क्षेत्र अहिले आन्तरिक मात्र नभएर वाह्य पर्यटकहरु पनि पुग्ने गरेका छन । खप्तड राष्ट्रिय निकुञ्जलाई प्राकृतिक सौन्दर्यताको खानी मानिन्छ । खप्तडलाई धर्तीको स्वर्गको उपमा पनि दिइएको छ । प्राकृतिक, धार्मिक र सांस्कृतिक विविधताले भरिपूर्ण खप्तडमा २२ वटा ठूला पाटन र ५२ वटा झोता अर्थात रुखका थुम्काहरु रहेका छन् । खप्तड प्रकृति प्रेमी पर्यटकहरुको लागि रमणिय मानिन्छ । सरकारले वि.सं. २०४३ सालमा २२५ वर्ग किलोमिटर क्षेत्र समेटेर खप्तड राष्ट्रिय निकुञ्ज बनाए पछि खप्तडको सरक्षंण भएको छ। खप्तड हिमाली क्षेत्रदेखि चुरे श्रृंखलासम्म फैलिएको छ । पहिला खप्तड गाउँलेको चरि चरण क्षेत्र मात्र थियो भने अहिले निकुञ्जले बाजुरा, डोटी, बझाङ र अछामको भूमि समेटेको छ । खप्तड राष्ट्रिय निकुञ्जको उचाई १ हजार २६२ देखि ३ हजार २७६ मिटरसम्म रहेको छ । निकुञ्ज मुख्यालयलाई केन्द्र मानेर त्रिवेणीधाम, खप्तड बाबा आश्रम, खापर दह, सहस्त्र लिंग र घोडा दाउने पाटन घुमफिर गर्न पर्यटकहरुलाई दुई दिन लाग्दछ ।
त्रिवेणीधाम गंगा, जमुना र सरस्वती नदीको संगम स्थल हो । खापर दहलाई फन्को मार्दाको मज्जा पर्यटकहरुका लागि छुट्टै हुन्छ । पर्यटकहरुका लागि खप्तडमा सुविधायुक्त होटल, लज र रेष्टुँरा छैनन् । खप्तडमा सेनाको गुल्म रहेको छ । निकुञ्जले बीचपानी र मुख्यालयमा गेस्ट हाउस चलाएको छ । खप्तड जादा बास बस्नको लागि गेस्ट हाउस पहिल्यै खबर गरेर जाँदा राम्रो हुन्छ । खप्तडको अर्काे आकर्षण भनेको खप्तड बाबाको आश्रम हो, जहाँ उनको मूर्ति र बाबाले प्रयोग गरेका केही सामान छन् । खप्तड बाबाले खप्तडमा ५० वर्ष बिताएर विभिन्न पुस्तकहरु लेखेका थिए । उनले अन्वेषण गरेर बनाएका कयौं औषधि अझै सुरक्षित रहेछन् । खप्तडमा राजा वीरेन्द्र, रानी ऐश्वर्यको सुत्ने कोठा, प्रयोग गर्ने सामग्री र हेलिप्याड पनि रहेको छ । खप्तड बाबाको आश्रम छेउमा सिसाखानी रहेछ। आश्रम वरिपरि पुच्छर नभएका अनौठा मुसा देखिन्छन् । त्यस्तै केदार ढुंगा, खापर दह, नाटयश्वरी, निकुञ्ज प्रशासनको संग्रहालय आदिको अवलोकन पर्यटकहरुले गर्न सक्दछन् । छिनछिनममा पानी र घाम लाग्ने खप्तडमा बादलले रुखहरुलाई ढाक्दाको समयमा वातावरण अर्कै देखिन्छ ।
निकुञ्जमा खासगरी वैशाखदेखि मंसिरसम्म पर्यटकहरु घुमफिरका लागि जाने भए पनि बर्खामा लाग्ने गंगा दशहरा मेलामा खप्तडमा विशेष भीड हुने गर्दछ । रंगीबिरंगी गुराँस फुल्ने मौसम र भुइँफूलले पाटन ढाकेको बेलाको वर्णन गरेरै सकिन्न । खप्तडको सुन्दर घाँसे मैदानमा पुग्ने बित्तिकै पर्यटकहरुको यात्राको थकान मेटिन्छ । घाँसे मैदानमा पल्टिएर आकाश हेर्दाको आनन्दको बयान गरेरै सकिन्न । हिउँमा खेल्न रमाउने पर्यटकहरुका लागि मंसिर, पुष र माघ उत्तम मौसम हुन्छ । खप्तड प्राकृतिक, धार्मिक, सांस्कृतिक र जैविक विविधताले भरिपूर्ण भए पनि भौतिक पूर्वाधार र प्रचार–प्रसारको कमी रहेको छ। तर पनि प्राकृतिक रुपमै रहेको भू–स्वर्ग जस्तै प्रकृति हेर्न खप्तड धेरै पर्यटक पुग्ने गर्दछन् । खप्तड घुमफिर गर्न चाहने पर्यटकहरुका लागि अध्यात्म, योग र ध्यान गर्न लायक गन्तव्य पनि हो । ठूल–ठूला पाटन अर्थात चौर, दह, जीवजन्तु र हिमाल खप्तडको सौन्दर्य हो । खप्तडको प्रकृतिको सुन्दर पाटनमा पुग्दा मन हल्का मात्र होइन तनाबबाट मुक्ति मिलेको पर्यटकहरुलाई आभास हुन्छ । आध्यात्मिक हिसाबले पनि महत्वपूर्ण छ खप्तड । परापूर्व कालमा युधिष्ठिर खप्तड हुँदै स्वर्ग गएका थिए भन्ने भनाइ छ । स्कन्द पुराणमा खप्तडको बर्णन पाइन्छ । खप्तडलाई स्थानिय भाषामा ‘खेचराद्री’ भनिन्छ । खेचरको अपभ्रंश हुँदै खप्तड भएको मानिन्छ ।
खप्तडमा त्रिबेणीधाम, सहस्त्रलिंग, केदारढुँगा लगायत धार्मिक सम्पदा पनि छन् । त्रिबेणीधाममा गंगा दशहराका बेला जेठ–असारमा ठूलो मेला लाग्छ । रातभर डेउडा नाचगान गरेर बिहान त्रिबेणीमा नुहाई धुवाई गरेर तीर्थाटनका पर्यटक आफ्नो बाटो लाग्छन् । खप्तडमा वर्षैभरी घुमफिर गर्न सकिन्छ । जेठ, असार साउनमा खप्तडका पाटनहरु भुइमा फुलले ढक्कमक्क हुन्छन । रंगिचंगी अनगिन्ति फूलहरु पाटनमा कार्पेट बिच्छयाईसरी लाग्छन । असोज, कार्तिक, मंसिर, पुष, माघ, फागुनसम्म हिउले ढाकिएर खप्तड सुन्दर देखिन्छ। तराईबाट यति नजिक हिउमा खेल्न पाईने अर्को ठाँउ नै छैन । चौतर्फी फूलेका लाली गुरासले फागुन चैत, बैशाखमा खप्तड ध्वजापताकाले सिंगारेको बेहुली मण्डप झै लाग्छ । खप्तडमा सात थरीका लाली गुरास फुल्छन । खप्तडको डाँफे कोट र भ्युटावरबाट भारतको नन्दादेवी हिमालदेखि दार्चुलाको अपी, बझाङ सैपाल र बाजुराको बडीमालिका लगायत एक दर्जनभन्दा बढि हिमाल पनि अवलोकन गर्न सकिन्छ । खप्तड पुगेपछि धेरै पर्यटकहरु खप्तड बाबाको जीवनी बारे जान्न चाहन्छन । खप्तडमा ५० वर्ष बिताउँनु भएका खप्तडबाबा आध्यात्मिक गुरु र विचारकका रुपमा चिनिनु हुन्छ ।
सन् १८८० मा भारतको कश्मीरको नेहरु परिवारमा जन्मनु भएका खप्तडबाबा विक्रम संवत १९८६ मा नेपाल आउँनु भएको थियो । संन्यास लिनु पूर्व उहाँ प्रतिभावान डाक्टर हुनुहुन्थ्यो । उहाँले कोलकाता स्थित ट्रपिकल मेडिकल कलेजबाट एम.बी.बी.एस. र बेलायतबाट सर्जनको अध्ययन गर्नुभएको थियो । भने काशीको दक्षिणा मूर्ती मठमा रहेर पूर्वीय दर्शनको अध्ययन अध्यापन पश्चात गहन साधनाका लागि नेपालको खप्तड लेक रोज्नु भएको थियो । खप्तड बाबाका विचार विज्ञान, स्वास्थ्य विज्ञान, धर्म विज्ञान सार संक्षेप म र मेरो कर्तव्य, नारी धर्म र पुरुष धर्म, योग विज्ञान, आत्मज्ञान, आरोग्य विज्ञान, वेदान्त विज्ञान, एवं तीनओटा अग्रेजी पुस्तक सहित जम्मा १६ ओटा पुस्तक प्रकाशित भइसकेका छन। प्रकाशित हुन नसकेका उहाँकै हस्तलिखित अरु थुप्रै कृतिहरु पनि रहेका छन ।
यी ग्रन्थहरुले पनि बाबाका विचार, सिद्धान्त, दर्शन र अनुभवलाई उजागर गरेको छ । वैदिक सिद्धान्त र दर्शन अनुरुपको कर्म, उपासना र ज्ञानलाई नै प्रतिपादन गर्ने यी ग्रन्थहरुमा प्रवेश गरेपछि बाबाको अध्ययन, अनुसन्धान र अनुभव कति महान कति गम्भीर, कति स्वाभाविक, कति उपकारी अनि कति अनुकरणीय रहेछन भन्ने स्पष्ट हुन्छ । विचार विज्ञान त यति लोकप्रिय ग्रन्थ बनेको छ सामान्य पढे लेखेका देखि लिएर ठूलाठूला दार्शनिक, वेदान्तीले पनि यी ग्रन्थ पढेपछि अत्यन्त प्रभावित भएका छन । खप्तड बाबा महान तपस्वी, ज्ञानी, त्यागी, योगी, लेखक, साधक हुनुहुन्थो । पहिला खप्तड लेक पहाड र जगल मात्र थियो । अहिले खप्तडसँग खप्तडबाबा गाँसिनुभएको छ । बाबाका कारणले खप्तडले पवित्रताको, सत्यताको, ज्ञानको ज्योति पाएको छ । खप्तडबाबाको विक्रम संवत २०५३ साल जेष्ठ कृष्ण सप्तमीका दिन ब्रहमलिन हुनु भएको हो ।
खप्तड बाबाले तपस्या गरेको पवित्र ठाउँ भएकाले खप्तड प्राकृतिक दृष्टिले मात्र नभएर तीर्थाटन पर्यटन र पर्या पर्यटनको हिसाबले पनि खप्तड पर्यटनका लागि गन्तब्य बनेको छ । खप्तड लेकमा दुईसय ६० प्रजातीका चराहरु, पाचँसय किसिमका जडिबुटी, बिभिन्न किसिमका फूलहरुले सिंगारिएको खप्तड धर्तिकै स्वर्ग भूमि भन्दापनि हुन्छ। जैबिक बिबिधताले भरिपूर्ण यो ठाँउ प्रकृति प्रेमि, अनुसन्धानकर्ता पर्यटकका लागि महत्वपूर्ण मानिन्छ । अहिले नेपाली सेनाले यसको संरक्षण गरी राखेको छ । खप्तड क्षेत्रलाई अझ ब्यवस्थित गर्न र पर्यटन बिकासका पूर्बाधार तयार गर्न सरकारले २०६३ सालमा खप्तड क्षेत्र पर्यटन बिकास समिति गठन गरेको छ । खप्तडबाबाले तपस्या र साधना गरेकाले खप्तड क्षेत्रको महत्व बढेको छ । पछिल्लो समय पर्यटकहरका लागि यतिखेर खप्तड बाबाको आश्रमस्थललाई संग्राहालय बनाईएको छ । संग्राहालयमा बाबाले प्रयोग गरेका कपडा, लत्ता, जुत्ता, पादुका, ओछयानको रुपमा प्रयोग गरेका मृग, बाघ, भालु, कस्तुरी आदिका छाला, संगीतका साधन पर्यटकहरुले हेर्न पाउछन् । समग्रमा खप्तड आफै प्रकृतिको एक जीबित संग्राहालय मानिन्छ । खप्तड क्षेत्रमा सुर्मा काली, बढीमालिका र अन्य मन्दिरहरु पनि छन । खप्तडमा पुराना मठमन्दिरका भग्नावशेषहरु पनि पर्यटकहरुले अवलोकन गर्न सक्दछन् । खप्तड साँस्कृतिक, प्राकृतिक, धार्मिक एवं ऐतिहासिक दृष्टिकोणले अति महत्वपूर्ण मानिन्छ ।
खप्तड क्षेत्रमा चारैतिर घनघोर जङ्गल र बीचमा ठूला फाँट छन् । जैविक विविधताले भरिएको खप्तड क्षेत्रमा घासे मैदान, थुम्का, जंगलहरु, घोडादौड पाटन, खप्तडबाबाको कुटी, नागढुंगा क्षेत्र, बल्दजोडी भ्युटावर, त्रिवेणी, भीमघट्ट, भीमलौरी, सहर्षलिंग, गणेश पाटन, सीतापाइला, छिते ढुंगो मुख्य घुमफिरका ठाउ हुन् । पर्यटकहरु खप्तड पुग्यो भने फर्कन मन गर्दैन । खप्तडको घुमफिरमा सुदूरपश्चिमका बझागं, बाजुरा, डोटी र अछाम जिल्लामा पाइला राख्न सकिन्छ। खप्तड क्षेत्रमा जति पर्यटन बिकासको सम्भावना छ, त्यति नेपालको अन्य ठाउँमा छैन भन्दा पनि हुन्छ । किनभने सुदूरपश्चिम भन्दा पूर्बी नेपालतिर पर्यटकहरुले धेरै घुमिसकेका छन र त्यहाँ नौलोपन नहुन सक्छ। तर खप्तडमा पर्यटकले नयाँ चिजहरु देख्न र अनुभव गर्न पाउँछन ।
खप्तड क्षेत्रमा राष्ट्रिय निकुञ्ज, खप्तड क्षेत्र पर्यटन बिकास समिती र नेपाली सेनाबाट पर्यटकहरुलाई धेरै सुबिधाहरु दिइदै आएको छ । तर निकुञ्जमा घुमफिर गर्न पाउने तर खान र बस्न नपाउने भएकाले केही समस्या भएको छ । सरकाले निश्चित मापदण्ड बनाएर अब खप्तडमा पर्यटकहरका लागि होटल सन्चालनमा ल्याउन पर्दछ । अब पर्यटनको बिकास गर्न खप्तड क्षेत्रको साथै रामारोशन, बडिमालिका, मालीकार्जुन आदि ऐतिहासिक, धार्मिक र प्राकृतिक स्थलको सम्भाब्यता अध्ययन गरेर ग्रमीण पर्यटन स्थलको बिकास हुन पर्दछ । ग्रामीण क्षेत्रमा होमस्टे खोल्दै जानु पर्दछ । योजनाबद्ध ढंगले पर्यटन बिकासमा राज्य, स्थानीय सरकार, समाजसेवी, राजनैतीक नेता, कार्यकर्ता, बुद्धिजिबी, कर्मचारी सबैको ध्यान दिने हो भने खप्तड क्षेत्र मात्र हैन सुदूरपश्चिममा रहेका अन्य पर्यटन क्षेत्रको समेत बिकास हुन्छ ।

कसरी पुग्ने खप्तड ?

खप्तड जान पैदलयात्रा गर्न रुचाउने पर्यटकहरुका लागि डोटी अछाम, बाजुरा र बझाङका विभिन्न क्षेत्रबाट खप्तड पुग्न सकिन्छ । खप्तड घोप्टिएको कचौरा आकारको छ । खप्तड जान डोटीको झिग्राना, बझाङको छान्ना, बाजुराको कोल्टी, अछामको साँफेबगर र डोटी सीमा चौखुट्टेबाट पनि खप्तड पुग्न सकिन्छ। सिलगढीबाट एक दिनको पदयात्रामा निकुञ्जको प्रवेशद्वार नेपाली सेनाको चेकपोस्ट झिंग्राना बास बसेर भोलिपल्ट खप्तड पुग्न सकिन्छ । झिंग्रानादेखि देखिन थाल्छन मनोरम दृश्य । अनि विश्वमै दुर्लभ हरिया रङका छेपाराहरु । त्यहाँबाट घना जंगलै जंगल पाँच घन्टा हिँडेपछि बीचपानीमा बस्नुपर्छ । बीचपानीमा एउटा सानो होटल छ । त्यहाँ तीनओटा खोलाको संगममा त्रिवेणी मन्दिर छ। त्रिवेणी मन्दिरबाट खप्तडका प्रख्यात मानिने गणेश मन्दिर, घोडादाउने पाटन, सहस्रलिंग, नागढुंगा, केदारढुंगा तथा खप्तड बाबाको आश्रम स्थल हेर्न पाइन्छ। खप्तडमा दुईओटा साना होटल छन् । ती होटल खप्तड मेलामा मात्र खुल्छन्। खप्तडमा बास बस्नका लागि चारओटा धर्मशाला छन्। खप्तड क्षेत्र पर्यटन विकास समितिले बीचपानी र निकुञ्ज कार्यालय नजिक पर्यटक बस्ने दुईओटा घर बनाएको छ ।
खप्तडको यात्रामा परिचित रुट गाईड र सुमूहमा यात्रा गर्ने हो भने सजिलो र रमणिय हुन्छ । डोटीको सिलगढीबाट खप्तड जाने पदमार्ग अरु वैकल्पिक पदमार्गको तुलनामा निकै सजिलो पदमार्ग पर्दछ । तर पनि खप्तड जान पर्यटकहरुका लागि चल्तिको बाटो भनेको बझाङको तमैल र डोटीको झिंग्राना दुवै ठाउँबाट जान सकिन्छ । बझाङको बाटो भएर जान अत्तरिया वा धनगढीबाट गाडीमा तमैलसम्म जानु पर्दछ । सबैभन्दा छोटो आरामदायी, सुरक्षीत बाटो बझाङको तमैलबाट हो । तमैलबाट जीपमा दारुगाउँ सम्म जान सकिन्छ । दारु गाउँबाट चार घण्टा नागवेली तर्पेलो उकालो करिव १२ किलो मिटर यात्रामा खप्तड पुग्न सकिन्छ । खप्तडको यात्रामा न्यानो कपडा स्लिपिङ व्याग र ड्राइफुडस साथमा बोक्दा राम्रो हुन्छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker