रोटरीद्वारा श्याम्घाको स्वास्थ्य चौकीलाई सोलार सुटकेश सहयोग
भञ्ज्याङ समाचारदाता/दमौली

रोटरी क्लबले तनहुँको व्यास नगरपालिका-६ रातमाटा स्थित श्याम्घा स्वास्थ्य चौकीलाई सोलार सुटकेश सहयोग गरेको छ । रोटरी क्लब अफ हवाई, रोटरी क्लब अफ दमौली र राष्ट्रिय आविष्कार केन्द्रको सहयोगमा विभिन्न स्वास्थ्य उपकरण सहितको सोलार सुटकेश स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको हो ।
घामबाट चार्ज हुने भएकाले उक्त सुटकेशलाई बिजुली नभएको बेला पनि प्रयोग गर्न सकिन्छ । आपतकालिन अवस्थामा एक ठाउँबाट अर्को ठाउँमा सजिलै बोकेर लैजान मिल्ने, सोलारबाट चार्ज हुने भएकाले ग्रामीण क्षेत्रको सेवा प्रवाहमा सहयोग पुग्ने रोटरी क्लब अफ सनसेट हुनुलुलु हवाईका निवर्तमान अध्यक्ष अर्जुन अर्यालले बताए ।
उनका अनुसार बिजुलीको अभावमा पनि स्वास्थ्य सेवा प्रवाह अवरुद्ध हुन नहोस् भन्ने उद्देश्यले हामीले घामबाट चार्ज हुने सोलार सुटकेश सहयोग गरिएका हो । उक्त सामग्री खरिदमा अमेरिकी स्थित रोटरी क्लब अफ हेनालिबी हवाइका रोटरियन जनाथन एम.सि रोबर्टले तीन हजार अमेरिकी डलर सहयोग गरेका हुन् ।
उक्त सुटकेशमा थर्ममिटर, अक्सिमिटर, रक्तचाप मापक, सुगर परिक्षण उपकरण, पोर्टेबल अल्ट्रा साउन्ड लगायतका स्वास्थ्य उपकरण र २ वटा बत्ती पनि रहेको रोटरी क्लब अफ दमौलीका पूर्व अध्यक्ष दामोदर भण्डारीले जानकारी दिए ।

सहयोग हस्तान्तरण गर्दै अष्ट ज अमेरिकाका अध्यक्ष डा. दुर्गादत्त पौडेलले रोटरी क्लबले विशेष गरी स्वास्थ्य र शिक्षा क्षेत्र सुधारका लागि काम गर्दै आएको र यसलाई निरन्तरता दिन चाहेको बताए । अमेरिका स्थित विभिन्न दाताहरुको साथ र सहयोगले आफ्नो ठाउँको बिकासमा योगदान गर्न सकेको बताउदै पौडेलले प्राप्त उपकरणको सदुपयोग गर्न अनुरोध गरे ।
ग्रामीण भेगका जनताहरुले स्वास्थ्य, शिक्षा लगायतका आधारभूत आवश्यकता परिपूर्तिका लागि अन्यत्र जानु पर्ने बाध्यता अन्त्य होस् भन्ने उद्देश्यले ग्रामीण क्षेत्रमा विशेष सहयोग गरेको उनको भनाइ थियो । साथै बालिकाहरुको शिक्षा र स्वास्थ्यमा धेरै समस्या देखिएकाले आगामी दिनमा त्यसलाई मध्यनजर गरी काम गर्न चाहेको उनले बताए ।
सोही अवसरमा रोटरी डिष्ट्रिक्ट ५०००की पूर्व डिष्टिक गभर्नर नाओमी मासुनोले स्वास्थ्य उपकरणको प्रभावकारी ढंगले प्रयोग भए अन्य स्वास्थ्य चौकीमा पनि सहयोग गर्ने बताइन् । स्वास्थ्य चौकीमा सेवा लिन आउने सो क्षेत्रका नागरिकहरुलाई प्राप्त उपकरणले ठुलो सहयोग पुग्ने स्वास्थ्य चौकीका इन्चार्ज रामबहादुर गुरुङले बताए ।
दैनिक २० देखी २५ जनाले सेवा पाउने उक्त स्वास्थ्य चौकीको सेवा विस्तारमा उपकरण प्रभावकारी हुने उनले विश्वास व्यक्त गरे । व्यास-६ का वडा सदस्य बालकुमारी श्रेष्ठ, इन्दु माविका प्रधानाध्यापक सन्तोष न्यौपाने लगायतले नयाँ प्रविधिले स्वास्थ्य चौकीको सेवा प्रवाहमा सहयोग पुग्ने बताए ।










