राजमार्गका होटलमा आकस्मिक अनुगमन, म्याद नाघेका खाद्य सामग्री नष्ट

दमौली : पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँट क्षेत्रमा सञ्चालित हाइवे होटल, रेष्टुरेन्ट तथा खाद्य पसलहरूमा आकस्मिक अनुगमन गरिएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौली, आँबुखैरेनी गाउँपालिका, उद्योग वाणिज्य संघ सत्रसय बाराही इकाइ तथा इलाका प्रहरी कार्यालय आँबुखैरेनीको संयुक्त टोलीले राजमार्ग आसपासका होटलहरूको सरसफाइ तथा खाद्य स्वच्छताको अवस्था निरीक्षण गरेको हो ।
अनुगमनका क्रममा १३ वटा व्यवसायमा निरीक्षण गरिएको थियो । निरीक्षणका क्रममा अन्दाजी १९ हजार ५०० रुपैयाँ बराबरका म्याद नाघेका खाद्य सामग्री तथा अखाद्य कालो अमिलो झोल नष्ट गरिएको जनाइएको छ ।

खाद्य अनुसन्धान अधिकृत ज्योति आचार्यका अनुसार होटल सञ्चालकलाई सरसफाइ तथा खाद्य स्वच्छतामा सुधार गर्न सात दिनको समय दिइएको छ । म्याद नाघेका सामग्री बिक्रीका लागि राख्ने व्यवसायीलाई प्रचलित ऐनअनुसार कारबाही गरिने उनले बताए ।
आँबुखैरेनी गाउँपालिका कृषि शाखा प्रमुख सन्तोष केसीले राजमार्ग क्षेत्रमा यात्रुहरूको सचेतना बढ्दै गएकाले व्यवसायीले ग्राहकमैत्री व्यवहार गर्नुपर्ने बताए । उनले गुनासो सम्बोधनमा सक्रिय हुन तथा होटलमा गुनासो पेटिका राख्नसमेत निर्देशन दिइएको जानकारी दिए ।
उनका अनुसार गाउँपालिकाकी उपप्रमुख दुर्गा अर्यालको निर्देशनमा चाँडै खाद्य स्वच्छताका आधारमा होटल स्तरीकरण कार्यक्रमसमेत सञ्चालन गरिनेछ ।

उद्योग वाणिज्य संघ सत्रसय बाराही इकाइका सभापति शारदा पण्डितले यस्ता अनुगमनले व्यवसायीलाई सचेत र जिम्मेवार भएर व्यवसाय सञ्चालन गर्न प्रेरित गरेको बताइन् ।
त्यस्तै संघका सचिव राजेन्द्र अधिकारीले व्यवसायीलाई कारबाहीअघि सचेत गराउनुपर्ने आवश्यकता रहेको धारणा राखे ।










