दुलेगौडा–हर्कपुर मोटर मार्ग ट्रयाक खुलेको २४ वर्षपछि स्तरोन्नति : तीन पालिकाका बासिन्दा लाभान्वित हुने

तनहुँको शुक्लागण्डकी नगरपालिका–३ स्थित वनकेवाबाट सुरू हुने दुलेगौडा–हर्कपुर मोटर मार्ग ट्रयाक खुलेको २४ वर्षपछि स्तरोन्नतिको काम थालिएको छ ।

उक्त सडकमा स्तरोन्नतिपछि जिल्लाका शुक्लागण्डकी, म्याग्दे र व्यासका गरी तीन पालिकाका तीन हजार बढी नागरिक प्रत्यक्ष लाभान्वित हुने भएका छन् । शुक्लागण्डकीका नगरप्रमुख कृष्णराज पण्डितका अनुसार उक्त मार्गको पाँच÷सात पटक ठेक्का लागे पनि निर्माण कम्पनीका कारण कामले गति लिन सकेको थिएन, अहिले बल्ल काम सुरू गरिएको छ ।

आर्थिक अभावका कारण निर्माण कम्पनीले काम अघि बढाउन नसक्ने जनाएपछि नगरप्रमुख पण्डितले इन्धनलगायत आवश्यक वस्तु खरिदमा ‘ग्यारेण्टी’ बसेपछि निर्माण कार्यले गति लिएको हो । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत रु २९ करोड बजेट विनियोजन गरेको छ । आठ वर्षदेखि अलपत्र हुँदै आएको यस मार्गको सोही वडाको जिरो टारदेखि वनकेवासम्मको तीन किलोमिटर दूरीमा कालोपत्रेका लागि काम सुरू गरिएको हो ।

निर्माण कम्पनीलाई निर्माण कार्य अघि बढाइदिनुस्, बिल आएपछि भुक्तानी दिनुहोला भनेर फकाएर काम लगाएपछि काम गर्न राजी भएको नगरप्रमुख पण्डितले बताउनुभयो । उहाँले भन्नुभयो, “अलपत्र हुदै आएको यस मार्गको स्तरोन्नतिसहित कालोपत्रे कार्य ढिलै भए पनि अघि बढाइएको छ, यस वर्ष वनकेवासम्मको तीन किमि सडक कालोपत्रेका लागि बेस बिच्छाउने कार्य भइरहेको छ ।”

नगरपालिकाको आर्थिक स्रोतबाट रु दुई करोड विनियोजन गरी जिरोटार खण्डसम्म करिब दुई किमी सडक नाला, कालोपत्रे र ढलान कार्य यसअघि नै सम्पन्न गरिसकेको छ । त्यसपछिको दुलेगौडा–हर्कपुर मोटर मार्ग खण्डमा ठेक्का लागेको हो, उहाँले भन्नुभयो, “आठदेखि नौ मिटर चौडाइमा साढे पाँच मिटर सडक कालोपत्र हुनेछ ।”

उहाँका अनुसार अन्तिम विन्दु जिल्लाको म्याग्दे–६ मा जोडिनेछ, जसमा आठ किमी सडक स्तरोन्नतिसहितको कालोपत्र गरिनेछ । यस वर्ष पाँच किमी कालोपत्र गरी अर्को वर्ष बाँकी रहेको तीन किमी मार्गमा कालोपत्र पूरा गर्ने लक्ष्य राखिएको छ ।

दुलेगौडा–हर्कपुर मार्गमा कालोपत्र गर्ने वर्षौंदेखिको चाहना अब पूरा हुने क्रममा रहेको छ । पूर्वाधार विकास कार्यालय नवलपुरले सडक कालोपत्रका लागि शङ्कर माली कन्स्ट्रक्सन प्रालिसँग सम्झौता गरेको थियो । विसं २०७६ कात्तिक ४ गते सम्झौता गरी निर्माण कार्य थालिएको यस मार्गको हालसम्म २५ प्रतिशतमा रोकिएको थियो । ठेक्का पाएको कम्पनीले ढिलासुस्ती गर्दा वर्षांैसम्म अलपत्र बनेको दुलेगौँडा–हर्कपुर मोटर मार्गको स्तरोन्नति कार्यले तीव्रता पाउन थालेपछि स्थानीयवासी खुसी भएका छन् ।

नगरपालिकाको चर्काे दबाबपछि निर्माण कम्पनी अहिले काममा फर्किएको छन् । शङ्करमाली जेभिका प्रतिनिधि श्याम लामा अहिले मोटर मार्ग निर्माणमा आफै खटिएर स्तरोन्नतिको काम गर्न थालेको वडाध्यक्ष सचिन भुजेलले जानकारी दिनुभयो ।

शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डितले दुलेगौडा हर्कपुर मोटर मार्गमा भइरहेको कामको अवलोकन गर्दै जनताको अपेक्षाअनुसार निर्माण कार्यलाई तीव्रता दिन निर्माण कम्पनीका लामालाई निर्देशन दिँदै आउनुभएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker