ऋषिङका कृषकलाई आधुनिक मौरीघार निर्माणका लागि मेशिनरी सामग्री हस्तान्तरण

ऋडिाङ : मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेश, पोखरा र ऋषिङ गाउँपालिकाको साझेदारीमा सञ्चालित नवप्रवर्तन साझेदारी कार्यक्रम (मौरी परियोजना) अन्तर्गत मौरीपालन व्यवसायलाई प्रवर्द्धन गर्ने उद्देश्यले आवश्यक मेशिनरी सामग्री हस्तान्तरण गरिएको छ ।
ऋषिङ गाउँपालिका–४ स्थित केशर कृषि, पशुपन्छी तथा मौरीपालन फर्मका सञ्चालक केशर मल्ललाई गाउँपालिकाले मौरीका आधुनिक घार निर्माणका लागि आवश्यक मेशिनरी सामग्री उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी गराए ।
उक्त मेशिनरी सामग्रीको प्रयोग गरी फर्मले आधुनिक प्रविधिबाट मौरीका घार निर्माण गर्न थालेको छ । स्थानीयस्तरमै घार निर्माण हुन थालेपछि मौरीपालक कृषकलाई आवश्यक घार सहज रूपमा उपलब्ध हुनुका साथै घार खरिदका लागि बाहिरी क्षेत्रमा निर्भर रहनुपर्ने अवस्था कम हुने अपेक्षा गरिएको छ ।
मौरी परियोजनाले मौरीपालनलाई व्यावसायिक तथा प्रविधिमैत्री बनाउँदै स्थानीयस्तरमा रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्ने लक्ष्य राखेको अध्यक्ष श्रेष्ठले बताए । आधुनिक घार निर्माण तथा मौरीपालन प्रविधिको विस्तारले उत्पादन र व्यवसायीकरणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको उनले बताए ।
गाउँपालिकाले कृषि तथा पशुपालनसँग जोडिएका नवीन कार्यक्रममार्फत स्थानीय उत्पादन, उद्यमशीलता र रोजगारी प्रवर्द्धनमा जोड दिँदै आएको जनाएको छ ।










