बन्दीपुरको भगिनी चैनपुर र बखतावर सिंह बस्न्यातको मेजरपाटी
देव बस्न्यात

विषय प्रवेश
यही २०८२ साल जेष्ठ ५ गतेका दिन संखुवासभाको चैनपुर पुग्ने अवसर मादी पुलुङमा आयोजित श्रीपाली बस्न्यातहरुको कुलायन पूजाले मेसो मिलाइ दियो । पूर्वी नेपालको पल्लो किरातमा पर्ने समुन्दी सतहदेखि १२०० मिटर उचाइमा रहेको नेवारहरुको सुन्दर बस्ति मानिने चैनपुर बजार काठमाण्डौ तथा भक्तपुरका नेवारजातिले बनाएको एक प्रमुख वाणिज्य केन्द्र हो । समुन्द्री सतहदेखि ११०० मिटर उचाइमा रहेको तनहुँको बन्दीपुर पनि काठमाण्डौबाटै पश्चिम पलायन भएका पिया र प्रधान खलकका नेवारहरुले बनाएको प्रमुख वाणिज्य केन्द्र हो । यी दुबै स्थान जिल्लाका पुराना जिल्ला सदरमुकामहरु हुन । अनेकतामा एकता देखिएका तनहुँको बन्दीपुर र संखुवासभाको चैनपुरको बीच भगिनीको सम्वन्घ कायम रहेको महसुस भएकाले यो लेखले मूर्तरुप प्राप्त गर्न पुगेको हो ।
संखुवासभाको चैनपुर र बन्दीपुरलाई नियालेर हेर्दा
नेपाल एकीकरणको समयमा चैनपुर राजनैत्तिक एवं व्यापारिक उद्देश्यले महत्वपूर्ण ठाउँ मानिथ्यो । २२३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको संखुवासभा जिल्ला समुन्द्र सतहदेखि २७८ कि.मि. उचाइको पिलुवा खोला दोभान देखि ३१७४ मिटर उचाइको मेन्छ्यामा डाँडासम्म फैलिएको पाउँदछौं । तिब्बती भाषामा “घो” भन्नाले टाउको (शिर) र “ला” भन्नाले भञ्ज्याङ (पास) भन्ने जनाउँछ। सखुवासभाको उच्च शिखर तथा शिरमा रहेको भञ्ज्याङ (पास) भएकाले यस स्थानलाई “घोला” भन्न थालियो । पछि त्यही “घोला” शब्द “गोला” बन्न गएको हो । राईहरुको शासन रहँदासम्म ओलाङचुङगोला र तोप्केगोलाको बीचमा रहेको यस स्थानलाई पहिले गोलाबजार भन्ने गरिन्थ्यो । प्राकृतिक विविधताको अनुपम खानी रहेको संखुवासभामा सभापोखरी र गुफापोखरीहरु रहेका छन् । गोलबजार चैनपूर भन्दा करिव दुई किलो मिटर टाढा पर्दछ ।
तनहुँका बन्देकामीले बनाएको तोप राखिएको स्थान अथवा तनहुँसुरको कैलाश पर्वत जाने भञ्ज्याङलाई अहिले गोलाभञ्ज्याङ भन्ने गरिन्छ । ४०० वर्ष अगाडि नेवारी भाषामा लेखिएको श्रीस्वास्थानी किताव अनुसार महादेवी सतीदेवीको दाहिने आँखा चन्द्रपुरमा पतन भएको उल्लेख गरिएको पाइन्छ । सतीदेवीको दाहिने आँखा पतन भएको स्थान चन्द्रपुर हुनाले नेवारजातिहरुले यस ठाउँलाई चन्द्रपुर भनेर संवोधन गर्दथे। अहिले यही ठाउँमा शिद्धकाली र मनकामनाको मन्दिरहरु रहेका छन् ।
तिब्बत, सिक्किम र त्यहाँका स्थानीय नीति लिम्बुहरुसंग युद्ध गरी पुनः नेपालमा एकीकृत गर्न कमाण्डर बनाइ मूलकाजी बखतावरसिंह बस्न्यातलाई चैनपुर पठाइयो। बखतावर बस्न्यातका संगसंगै सरदार जहरसिंह बस्न्यात, बदलसिंह बस्न्यात, भैरवसिंह बस्न्यात र पदम बस्न्यातहरु पनि काठमाण्डौदेखि ७५ कोष पैदल हिंडेर चैनपुर पुगेका थिए । चैनपरको युद्धमा भाग लिन पुगेका मूलकाजी बखतावरसिंह बस्न्यात केही समय (लगभग ६ महिना) चैनपुर नै रहे । उनै बखतावरसिंह बस्न्यातले चैनपुरमा, बखतेश्वर महादेव मन्दिर, पानीको कुवा, बस्नेत पौवा (मेजरपाटी) र बखतसुन्दर हिटी मनराजी बंगैंचा बनाए जुन अद्यापि पनि कायम रहेका छन् । बखतावरसिंह बस्न्यातले बनाएको बखतसुन्दर हिटी मनराजी बंगैंचा मासिएर अहिले यहाँ क्याम्पस भवन बन्न पुगेको छ । मूलकाजी बखतावरसिंहको समयदेखि यही चन्द्रपुरलाई चैनपुर भन्ने गरिएको कुरा यहाँका महन्त रत्ननाथ पन्त र यहाँका स्थानीय वासिन्दाहरुको भनाइ रहेको पाइयो ।
मगरहरुको घनाआवादी भएको क्षेत्रमा वनलाई वन र पानीलाई डी अर्थात वनको पानी वनडी भन्न थालियो । मगरभाषामा पानीलाई डी भने झैं गाउँलाई थोक भन्ने गरिन्थ्यो । वनको पानी संवोधन हुने वनडी र मगर भाषामा गाउँलाई संवोधन गरिने दुबै शब्द संयोजन हुन पुग्दा बन्दीपुरलाई पहिले बन्देथोक भन्ने गरिन्थ्यो । यसै गरी तनहुँका राजा हरकुमारदत्त सेनले बन्दीपुरका बन्देकामीलाई तरवार, तोप लगायतका हातहतियार बनाउन लगाउँदा तरवारमा देवी चढेकोले तरवार बनाउन आरान राखेको स्थानलाई बन्देथोक भन्न थालियो । जब नेवारहरुले बन्दीपुरलाई हटियाबाट शहर बजारमा रुपान्तरण गर्दै लगे तब बन्देथोकलाई बन्दीपुर भन्न सुरु गरिएको हो ।
गोलबजारमा राइहरु र तनहुँको बन्दीपुरमा सेनहरुको शासन
पृथ्वीनारायण शाहले नेपाल एकीकरण अभियान सुरु गर्नु पूर्व यहाँ याक्खा जातिका लिम्बुहरुको बसोबास रहेको थियो । त्यही बेला यस क्षेत्रका वरपरका फेदाम क्षेत्रमा आतहाङ्ग राइ, तमोर क्षेत्रमा शुभवना राई, मेवा खोला क्षेत्रमा श्री देवराई फोगामेवा खोला क्षेत्रमा रैनसिजा राई, चैनपुर क्षेत्रमा जानमुखी राइहरु समेतका दशहाङ राजाहरुले शासन गर्दथे । यसैगरी अरु चार थरेहरु पनि थाङरोकमा सुनहाङ राइ र चारखोलामा आसदेव राइले प्रशासन चलाउने गर्दथे । काठमाण्डौ विजय पश्चात वि.सं. १८३०/३१ तिर मूलकाजी अभिमानसिंह बस्न्यात पूर्वी किराँत र मधेश प्रदेशको एकीकरण अभियानमा लागे। उनका साथमा जेठाबूढा रामकृष्ण कुँवर, पनि संगै गएका थिए । अरुण तरेका बस्नेतले सेनहरुले स्थापना गरेका देवीलाई मनकामना भनेर पूजे । दशहाङ राजाहरुसंग युद्ध नै नगरी अभिमानसिंह बस्न्यातले विना रक्तपात पल्लो किराँत नेपालमा मिलाए । यस बेला नेपालको प्रस्ताव स्वीकार्ने लिम्बुहरुलाई समरीति र नस्वीकार्ने लिम्बुहरुलाई नीति लिम्बु भन्न थालियो ।
तनहुँमा सेनहरुको शासन हुनुपूर्व बन्दीपुर राना मगरहरुको शासन चलेको थियो । वि.सं. १५७५ तिरै पाल्पाका राजा मणिमुकुन्द सेनले तनहुँमा आफ्नो प्रभाव जमाएपछि तनहुँ पाल्पाको अधीनमा पुगेको थियो । वि.सं. १६१० मा भृङ्गी सेनले स्वतन्त्र राज्य घोषण गरेपछि तनहुँका अन्तिमराजा हरकुमारदत्त सेनले तनहुँसरको राजगद्धी र शासन सत्ता गुमाउन पुग्दा यही बन्दीपुरमा वि.सं. १८३९ कार्तिक १८ गते पश्चात तनहुँसुर त्यागेको र मार्ग वदी ४ मा बन्दीपुरको गोलडाँडामा आइ शेष तनहुँराज्यको वि.सं. १८४१ सम्म शासन गरेको इतिहास भेटिन्छ ।
चैनपुरमा भएको नेपाल चीन, तिब्बत एवं सिक्किमसंगको युद्ध प्रसंग र बन्दीपुरको सम्झना
गोलबजारको उत्तर पूर्वमा रहेको शिद्धिपुर र कैलाश डाँडोमा नै नेपाल, तिव्वत र सिक्किम बीच पटक पटक युद्ध भएका स्थलहरु हुन् । वि.सं. १८३१ मा मूलकाजी अभिमान सिंह बस्न्यातको नेतृत्वमा सरदार दामोदर पाण्डे, जेठाबूढा रामकृष्ण कुँवर, सरदार आसा खत्री सरदार रनमान सिंह बस्न्यात लगायतका सेनापतिहरु पनि युद्ध मैदानमा पठाइएको थियो । दसहाङका राजाहरुले गोरखाली सेनालाई हार्दिक स्वागत गरे । तत्कालै गोरखाली सेनाले अरुण तरेर शिद्धी कालिका र मनकामनाको पूजा आरधना गरे । नेपालका सेनापति मूलकाजी अभिमानसिंह बस्न्यातले लिम्बु याक्खाका दसहाङ राजाहरुले युद्धै नगरी पल्लो किराँतको पुरै भूभाग नेपालमा मिलाएका थिए । गोर्खाली सेनालाई यहाँका राजाहरुले हार्दिक स्वागत गरेका कारण पनि मूलकाजी अभीमान सिंह बस्न्यातले लिब्बुहरुलाई किपट र स्थानीय रुपमा ठिंग्रो मुँग्रो (संजाय गर्न पाउने अधिकार) गर्न पाउने अधिकार प्रदान गरेका थिए । डिंग्रोमुग्रो गर्न पाउने अधिकार आफ्ना हातमा आएकाले दसहाङ राजाहरु पनि खुसी नै बनेका थिए ।
वि.सं. १७०२ (सन १६४५) पछि सिक्किममा नामग्याल राजवंशको निसन्तानका कारण छोरी ज्वाई पर्ने लेप्चा जातिका राइथरका राजा बन्न पुगे । कुनै बेला सिक्किम राज्यको पश्चिम सिमाना अरुण नदी र पूर्वमा टिष्टासम्म पर्दथ्यो । वि.सं. १८३३ (सन १७७६) मा चीनको उक्साहटमा तिव्वतीहरुले सिक्किमलाई नेपाल विरुद्ध युद्ध गर्न उचाले । नेपाल एकीकरण अभियानबाट नेपालको भूमि मानिएका स्थानका पूर्व राजा राजौटा, भोटिया, लेप्चा तिब्बती र चिनिया सेनाहरुले संखुवासभाको शिद्धीपुर कैलाशडाँडोमा आक्रमण गरे । उक्त आक्रमणमा नेपाली सेनामा ठूलो नोक्सानी हुन पुगेको थियो । पछि यही स्थानको युद्धमा सिक्किमे सेनाहरुलाई हायलकायल पारी नेपालमा एकीकृत गरियो। यही युद्धले दामोदर पाण्डेको पदोन्नती हुन पुग्यो । इलाममा भएको सन्धीले नेपालको सिमाना टिस्टा नदीसम्म पुराएको थियो। यही बेला यहाँको सुरक्षा सरदार आसाखत्रीको हातमा पुगेको थियो ।
चिनको उक्साहटमा पुनः वि.सं. १८४८/४९ तिब्बत र सिक्किमसंग नेपालको पुन युद्ध भयो। चिन र तिब्बतको सहयोगमा सिक्कम र त्यहाँका रजौटाहरुले अप्रत्यासित चैनपुर माथि हमला गरिदिए। अरुण पारीको पल्लो किराँत पुनः सिक्किमको भएको घोषणा भयो। सिद्धकाली मन्दिर नजिकको सिस्नोघारीमा लुकेर बसेका बैरीका सिपाहीहरुले पछाडिबाट घात गरेर रनमान सिंह बस्न्यातको शिर र छातीमा चुप्पि हानेकाले यस युद्धमा रनमान सिंह बस्न्यातले वीरगती प्राप्त गरे भने नेपाली सेना तर्फका अरु धेरै सिपाहीहरुको ज्यान पनि गयो । बाँकी बाँचेका सेनाहरुलाई सरदार पूर्णनन्द पाध्या र सरदार आसा खत्रीले साविकको गढीबाट केही पछि हट्न लगाई आफ्नो सुरक्षाको लागि अर्को गढी बनाएर बसेका थिए । नेपाली सेनालाई मद्दत गर्न तथा सिक्किमसंगको लडाईं लड्न र नेपालको एकीकरण अभियान सुदृढ गर्न काठमाण्डौबट मूलकाजी बखतावर सिंह बस्न्यात चैनपुरमा पुगे । सिद्धिपुरको युद्धमा विजय प्राप्त गरेपछि बदलसिंह पुलुङमा गइ बसेका हुन् भने मूलकाजी केही समयको लागि (छ महिना) चैनपुरमा नै रहे ।
यही बेलामा बखतावर सिंह बस्न्यातले कुवा, मेजरपाटी, बखत सुन्दर हिटी बगैंचा बनाएको कुरा हामीले माथि चर्चा गरी सकेका छौं। बाहिरबाट हेर्दा सबुत हालतमा देखिए पनि भित्रका सबै नाल, दलिन र फलिकाहरु मक्किएर मेजरपाटीको तला तला नभएर ठूला ठूला भ्वाङहरु बन्न पुगेका छन् । मेजरपाटीको बारे पुरातत्व विभाग, सम्बन्धित नगरपालिका, श्रीपाली बस्न्यात समाज मौन बसेको देख्दा यो लेखकलाई साह्रै नै नरमाइलो लागेर आयो । पुरातत्व विभागले अनुमती दिएमा श्रीपाली बस्न्यात आफ्नो गौरव बचाउन कम्मर कसेर लाग्ने कुरामा दुइमत नहोला भन्ने पूर्णविश्वास रहेको छ ।
राजकुमार बहादुर शाहको समयमा पनि सिक्किमेहरुले पुनः निहुँ खोजे यस बेला काजी जहरसिंह बस्न्यात र बदलसिंह बस्न्यातको टोली दार्जलिङ पुगि सिक्किमका सेनापति कार्वाङ युकसुथुकलाई स्वर्गको बास पठाइदिएका थिए भने बालक राज सावालाई नजरबन्दमा राखेका थिए । एक महिनासम्मको लडाईबाट विजय प्राप्त गरी काजी जहरसिंह बस्न्यात सिक्किमबाट इलाम आएर बलियो सुरक्षा गढी बनाएका थिए । पछि उनै जहरसिंह बस्न्यातले बाजे शिवराम सिंह बस्न्यातको नाममा सिन्धुपाल्चोकमा जहरसिंह पौवा बनाएका थिए । बखतावर सिंहले बषत सुन्दर हिटी मनराजी र बस्नेत पौवाको लागि धन्यै ५००० रोपनी जग्गा गुठी बन्दोबस्त गरेको भन्ने सुनिने गरिएता पनि अहिले ३६०० रोपनी जग्गा रैकर गुठीमा दर्ता भएको पाईएको छ । यस विषयमा डा. प्रेम सिंह बस्न्यातले चैनपुरको अध्ययन भ्रमणको सन्दर्भमा लेखिएको नेपाल सिक्कम युद्ध र चैनपुरको मेजरपाटी भन्ने लेखमा पनि उल्लेख गर्नु भएको छ । यसै गरी तनहुँ बन्दीपुरको खड्गमाइ मन्दिरको पूजा व्यवस्थापनको लागि चौतारिया बमशाहले शाम्दिको ६० मुरी खेत गुठी राखि दिएकोमा पुनः काजी प्रसादसिंह बस्न्यातले गुठी थमौती लालमोहरमा दस्तखत गरेको पाइन्छ ।
यता नेपाल एकीकरणको सन्दर्भमा वि.सं. १८३९ मा तनहुँसुरमा र तत्पश्चात पनि बन्दीपुरको चन्द्रकोटमा र हुस्लाङकोटमा पटक पटक लडाइहरु भइरहेको पाउँदछौं। तनहुँसेनाले गोरखाली सेनाहरुको स्थान हुनाले हुस्लाङकोटलाई अहिले पनि जीतपुर गढी भनिन्छ । अर्को तर्फ नेपालको इतिहास र रामनगरको इतिहास भन्ने पुस्तकमा इतिहासकार अम्विकाप्रसाद उपाध्यायले वि.सं. १८४३ (सन १७८६) मा मात्र राजा हरकुमारदत्त सेनले आफ्नो विरासत राज्य रामनगरमा (हाल भारतको विहारमा पर्दछ) पुगेर सन्तोषका सास फेरेका थिए भनेर लेख्नु भएको छ । यस कुरालाई आधार मान्दा वि.संं १८४१ सम्म राजा हरकुमारदत्त सेन तनहुँको बन्दीपुर क्षेत्रमा नै थिए भन्ने बल मिल्दछ ।
मेजर पाटी नाम कसरी रह्यो ?
मूलकाजी बखतावर सिंह बस्न्यातले तिब्बत र सिक्किमेसंगको युद्धमा विजय भएको उपलक्षमा मेजरपाटी बनाएका हुन्। मेजरपाटी बनाउँदा बख्तावर सिंह बस्न्यातले पाटीको नामै राखेनन् तर यस पाटीलाई पहिले बस्नेत पौवा र अहिले आएर मेजरपाटीको नामले चिनिन्छ । एकपटक सूर्यबहादुर थापा पछिल्लो पटक चुनाव प्रचार गर्न जाँदा चैनपुरका होटलमा बास नबसी मेजरपाटीमा बास बसेर पुरानो याद गरेका थिए भन्ने सुनिन्छ । मेजरपाटी नाम कसरी रह्यो यो विषय अनुसन्धेय नै छ । वि.सं. २००० सालसम्म नेपाली सेनामा मेजर भन्ने पद सृजना भएकै थिएन तर उक्त समया नेपाल आर्मीमा मेजर कप्तान पद भन्ने उल्लेख गर्ने चलन थियो । जमदार भन्दा तल्लो पदका जेष्ठ हवल्दारलाई मेजर (अजिटन–एडजुडेण्ट) हवल्दार भन्ने गरिन्थ्यो । कतै भोट सिक्कम र नेपालका युद्धमा नेतृत्व गर्ने नेपाली सेनाका सेनापति रनमानसिंह बस्न्यात मेजर थिए कि भनेर सोच्नु पर्ने बेला आएको छ । आफ्ना वंशका कुलदीपक रनमान सिंह बस्न्यातले सहादत प्राप्त गरेकाले उहाँको स्मृतिमा कुवा पौवा मन्दिर किन नबनाउने भन्ने विषयमा बखतवारसिंह बस्न्यातले पक्कै सोचेको हुनु पर्दछ । जेहोस श्रीपाली बस्न्यातहरुको कृतिखम्बाको रुपमा उभिएको संखुवासभाको मेजरपाटी जीर्ण हुँदै गएकोले यस्को मर्मत सुधार गर्नमा सबै श्रीपाली बस्न्यातहरु एकजुट हुनु पर्ने महसुस गरेको छु ।
कुन पापीले उडायो छैन सुर……
नेपाली लोकभाकामा प्रचलित एउटा गीत गुञ्जने गर्दछ “घरत मेरो यहाँ होइन चैनपुर, कुन पापीले उडायो छैन सुर…..” चैनपुरको सातो खाने को को होलान त? कसरी उड्यो होला चैनपुरको सुर ? कुराकानी पनि गजब गजबका पाइन्छन्। यहाँका दसहाङ लिम्बुहरुले नेपाल सरकारसंग पटक पटक विद्रोह गरेता पनि आफ्नो र चैनपुरको अस्तित्वको पहिचान कायम गर्ने प्रयास गरेकै हुन् । त्यही कारण पल्लो किराँतको प्रमुख प्रशासनिक केन्द्र चैनपुरले तिब्बत र भारतबीचको प्रमुख वाणिज्य केन्द्र बन्ने सुअवसर प्राप्त गरेको हो । यही कारण तिब्बतबाट आउने नुन र तेल मधेश तथा तराइबाट आउने उपभोग्य सामाग्री क्रयविक्रय गर्ने थलो बनेको थियो चैनपुर ।
दोश्रो पटक तिब्बतसंग भएको युद्धमा टिप्तवा भञ्ज्याङ (ओलाङचुगोला)बाट रसद पठाउने बाटो लामो हुनाले वि.सं. १९११ तिर एउटा नयाँ बस्ती बनाउने निर्णय भयो यस ठाउँमा पानीबाट धान कुट्ने घट्ट चलाइएको हुनाले यस ठाउँमा नयाँ बस्ती बसाउने निर्णय भयो । पछि यही बस्ती धानकुटाबाट धनकुटा बन्न गएको हो भन्ने किंबदन्ती सुन्नमा पाइन्छ ।
एकपटक धनुकटाका सूर्यबहादुर थापा महाशभा पार्टीबाट चुनावका लागि भोट माग्न चैनपुरमा गए । चैनपुरवासीले सूर्यबहादुरलाई गाँसबास नदिएर खेदि दिए । आफुलाई अपमान गरेको झोकमा म सत्ता र शक्तिमा पुगे भनें चैनपुरलाई दिउँसै स्याल कराउने पाखा बनाइ दिने भावना व्यक्त गरे। नभन्दै सूर्यबहादुर थापा आफू प्रधानमन्त्री पदमा रहँदा सखुवासभाको सदरमुकाम चैनपुरबाट खादबारी सारेर बातले नमानेको भूतलाई लातले हानी दिए । सदरमुकाम खादवारी सरेपछि यहाँका नेवार व्यापारीहरु खाँदवारी तिरै लागे । भोटको युद्धमा खांडो पखालेर पूजा गरेको स्थल भएको हुनाले खाँडोवारीबाट अपभ्रंश भइ खाँदबारी बन्न गएको हो भन्ने जनोक्ति रहेको छ । त्यसै गरी बन्दीपुरका नेवारहरु पनि व्यापार व्यवसायका लागि नारायणगढ, विमलनगर र डुम्रेबजार पलायन भएपछि बन्दीपुर भूतगाउँ बन्न पुगेको थियो । जहाँ पुगे पनि बन्दीपुरेमा बन्दीपुर प्रतिको स्नेह र ममता रही रहेकोले बन्दीपुर बौरिएको छ तर चैनपुरेहरुमा त्यस्तो माया ममता र स्नेहता नभेटिएकोले चैनपुर अझै पनि बौरिन नसकेको तितो सत्य हो ।
एकपटक जंगबहादुर राणाले आफ्ना ज्वाई गजराज सिंह थापालाई चैनपुर र इलाम समेतको वडाहाकिम बनाइ पठाए । थापाको बसाइ बढी इलाममा रहनाले चैनपुर मर्कामा पर्न गएको थियो । काठमाण्डौबाट बाहिर खेदिएका देवशमशेर राणालाई चैनपुर नपठाएर धनकुटा पठाइएको हुनाले चैनपुरको वैभव धनकुटामा रहेको श्री ३ देबशमशेर राणाको दरवारले पायो। अन्ततः चैनपुरमा बस्नु पर्ने गांैंडा धनकुटा पुग्दा चैनपुरले आफ्नै वैभव गुमाउन पुग्यो । धनकुटामा बडाहाकिम बस्न थाले । वडाहाकिम बस्ने थलोमा नेवारहरुको बस्ती बाक्लिंदै जाँदा चैनपुरको महत्व कम हुँदै गयो। आखिर किन चाउरिस मरिच आफ्नै पिरले भने जस्तै चैनपुरलाई हुन गयो ।
वि.सं. २०२५ सालममा तनहुँको सदरमुकाम बन्दीपुरबाट दमौलीमा सर्न गयो। त्यही बेला निर्माण गरिएको पृथ्वी राजमार्ग पनि बन्दीपुर नउक्लेर मस्र्याङ्दी करिडोर, चुँदीखोलाको करिडर अँगाल्दै सत्रसयबाट, विमलनगर, डुम्रे, छिर्कने हुँदै दमौलीमा हुईंकियो । बन्दीपुरको सदरमुकाम दमौलीमा सार्न रा.पं.स गञ्जसिंह आले, जिल्ला पञ्चायत सभापति हुस्लाङ निवासी रामनाथ भट्टराइ, जि.पं.स तारापति भट्टराइ जि.पं. स मेघनाथ कैनी, जि.पं.स कृष्णप्रसाद अधिकारी, प्रधानपञ्च डम्बरबहादुर अधिकारी, रामचन्द्र पोखरेलहरुको दह्रो समर्थन रहेको पाउँदछौं ।
तनहुँको बन्दीपुरको भगिनी चैनपुर
पल्लो किराँतको पहाडकी रानी चैनपुर नगरपालिका हो भने पश्चिम पहाडको रानी बन्दीपुर गाउँपालिका मानिन्छ । चैनपुर र बन्दीपुर दुबै स्थान कुनै बेला पाल्पाली राजा मणिमुकुन्दसेनका पाल्पा राज्यका अभिन्न अङ्गहरु रहेका थिए । चैनपुरका वरपर बालेश्वर गुफा, भीरेश्वर गुफाहरु छन भने बन्दीपुरको विमलनगरमा एशियाकै ठूलो शिद्धगुफा र रक ल्काइम्बिङ पर्वत रहेका छन् । यसैगरी चैनपुरको बागेश्वर डाँडामा बानेश्वर मन्दिर, वानेश्वर मन्दिर संगै टेस्कोटा भैरवको मूर्ति, र भीमसेन मन्दिर र सिद्धकाली मन्दिर (जहाँ सिक्किममे राजाको पालामा ॐ आ हुम् लेखिएको शिलालेख पाइन्छ) रहेका छन् भने बन्दीपुरको मुकन्देश्वरी डाँडामा मुकुन्देश्वरी मन्दिर, गुरुङ्चे डाँडामा थानी मन्दिर, तीनधारामा महादेव मन्दिर, चन्देनीथोकमा चण्डी मन्दिर माझबजारमा विन्ध्यवासिनी मन्दिर, लक्ष्मी मन्दिर, महादेव मन्दिर लगायत अन्य मठमन्दिरहरु पनि रहेका छन् । बन्दीपुरकी आराध्यदेवी खड्गमाई हुन् भने चैनपुरको आरध्यदेवी शिद्धकालिका मानिन्छिन् ।
तनहुँको बन्दीपुर भक्तपुरे र कीर्तिपुरका नेवारहरुहरुले आवाद गरी पश्चिमको प्रमुख वाणिज्य केन्द्र बनाए भने काठमाण्डौ भक्तपुर, ललितपुर, धुलिखेल, बनेपा, सांगा र नालाका नेवारहरुले आवाद गरेको चैनपुर पूर्वको प्रमुख वाणिज्यकेन्द्र मानिन्छ । बन्दीपुरको सदरमुकाम दमौली सरेर भूत गाउँ बन्न पुग्योे भने संखुवासभा जिल्लाको सदरमुकाम चैनपुरबाट खाँदबारी सदरमुकाम सरेपछि विकासका कार्यबाट विमुख हुन पुगेको छ । यहाँ पिलुवाखोला र हेवाखोलामा लघु जलविद्युत निकालिएको छ। बन्दीपुरको आर्थिक श्रोत एउटा स्लेट खानी पनि हो। धान, मकै, कोदो, फापर चैनपुरका कृषि उत्पादन हुन् भने अदुवा अलैंची र रुद्राक्षको दाना यहाँका प्रमुख नगदेबाली मानिन्छन् भने बन्दीपुरेको सुन्तलाखेतीलाई नगदेबालीको रुपमा हेर्न सकिन्छ ।
भोजपुरको प्रसिद्धि खुकुरी प्रख्यात उत्पादन हो भने चैनपुरको करुवाको निमित्त नेपालभर प्रख्यात मानिन्छ । धन्यै ४० देखि ४५ वटा करुवा उद्योग रहेको चैनपुरमा अहिले ३ वटा मात्र बाँकी रहेका देखिन्छन् । शिल्पकारहरु मध्येमा गङ्गा शाक्य नै यहाँका प्रमुख शिल्पकार र कालीगढ हुन् भने तनहुँ राज्यलाई हातहतियार बनाएर उपलब्ध गराउने बन्दीपुरका बन्देकामी यहाँका हतियार विशेषज्ञ मानिन्छन् । बन्दीपुरको सदरमुकाम दमौलीमा सार्न रामनाथ भट्टराइको देन छ भने संखुवासभाको सदरमुकाम खाँदवारी पु¥याउने जस अवजस सूर्यबहादुर थापामा जाने गर्दछ ।
२०१७ सालमा चुनाव लड्न जाँदा चैनपुरमा गाँसबास नपाई उपेक्षित भएका सूर्यबहादुर थापा आफू तीन पटकसम्म प्रधानमन्त्री हुँदा धनकुटाको विकास दिलोज्यानले गरेता पनि चैनपुरलाई भने उपेक्षा नै गरेका थिए । यसै गरी वि.सं. २०१७ सालमा रु १००/– प्रति तोला सुनको मूल्य कायम हुँदा भा रु २००००/– खर्च गरेर कलेज स्थापना गर्ने व्यक्ति भोलामान साहु र कृष्णमान श्रेष्ठलाई ने.क.पा. माओवादी पार्टीका कार्यकर्ताले सामन्ति, शोषक, गुप्तचर जस्ता शब्दहरुले आरोपित गर्दै हत्याको षड्यन्त्र गरेको स्मरण ताजै छ । त्यही बेलादेखि ओरालो लागेको चैनपुर अहिले पनि नुन खाएको कुखुरा जस्तै ओइलाई रहेको छ ।
बन्दीपुर र चैनपुरको दुबै बजारको बीचमा स्लेटले छापिएको सुन्दर बाटो थियो । मोटर दौडाउने रहरमा बन्दीपुरले स्लेट झिकेर मोटर गुडाए । राम्रो होला भन्यो हुनै सकेन । त्यहाँका प्रधानपञ्च रविचन्द्र भट्टराइले मिनि जनमत संग्रह गराए । रविलाई माओवादीले पनि सहयोग गरे । बन्दीपुरेहरुले बन्दीपुरमा मोटर जान पाउने नगरी पुनः स्लेट बिच्छाइ इको टुरिज्मको बाटो अप्नाए । बन्दीपुरेहरु जहाँ पुगेपनि छातीभरी बन्दीपुरको माया बोकेर हिडेकाले अहिले आएर अनेकौं उकाली ओराली पार गरेर भएपनि बन्दीपुरलाई पहाडकी रानी पर्यटनको खानी बनाउन सफल भएका छन् । तर चैनपुर मातृभूमि प्रतिको माया ममता नभएर पछाडी परेको छ । आगोमा घिउ हाल्ने ने.क.पा. माओवादी पार्टी र सूर्यबहादुर थापाको कारण चैनपुर फुङ्ग अनुहार लिएर टोलाएकी छे ।
चैनपुर र पुलुङको सम्वन्ध
सरदार रनमान सिंहका बस्न्यातका चारजना दाजुभाइहरु थिए। जस्मा जेठोमा पदममान सिंह बस्न्यात ?, माहिलो नरमान सिंह बस्न्यात, साहिंलोमा दूर्जमानसिंह बस्न्यातहरु थिए । बस्ने थलोको खोजी गर्दै हानथुङको शिखरमा पुगेका बस्न्यातहरु बस्न योग्य नलागेर मादीको पुलुङ र हुम्लिङमा आइपुगेका हुन । तिनै रनमान सिंह, दूर्जमानसिंह र रनमान सिंह बस्न्यातका खलकहरु पुलिङ, हुम्लीङ र चैनपुर न.पा. ६ को डाँगी र खराङमा भेटिएका छन् । यहाँका श्रीपाली बस्न्यातहरुले आफ्नो कुलदेवतामा साइबरा मष्ट, रुमाल मष्ट, मण्डालिनी देवी र भाञ्जामष्ट र आच्छामी मष्ट पुज्दछन ।
यसैगरी वायुका रुपमा रन्याथानी, दिव्येश्वर थानी, बाटुली चन्द्रमाया र दिलमान रहेका छन्। अझै पनि मादी पुलुङमा धामीका रुपमा पदम श्रीपाली बस्न्यात, मेहरमान बस्न्यात, पदम श्रीपाली बस्न्यात फडिन्द्रमान सिंह बस्न्यात (दियो कलश दिन बाँकी) रहेका छन् । अहिले त्यही वंशमा मादी पुलुङमा दलबहादुर बस्न्यात, गोविन्दमानसिंह बस्न्यात, शिवराज बस्न्यात, अर्जुनमानसिंह बस्न्यात, कालुसिंह बस्न्यात, चिरञ्जिवी बस्न्यात, बाघसिंह बस्न्यात, महानसिंह बस्न्यात, बृजमानसिंह बस्न्यात, दलुसिंह बस्न्यात दिल्लीसिंह बस्न्यात, ज्ञानेन्द्रसिंह बस्न्यात, प्रेमसिंह बस्न्यात, प्रेसकुमारसिंह बस्न्यात आदि रहेका छन् ।
अन्त्यमा, स्थानीय वासिन्दाहरुसंग सोधनी हुँदा मेजरपाटी वेवारिसे रुपमा देखिंदा साह्रै खिन्नता अनुभव भएको छ । मेजरपाटीको घर कहिले रक्सी भट्टी, कहिले वेवारिसेहरुलाई राख्न दिएर भाडा असुल्ने गरेकोे देखियो । पुरातात्विक महत्वका सम्पदाको जगेर्ना गर्नु पर्नेमा स्थानीय निकाय मौन देखिंदा हामीलाई साहै्र नै अचम्मको अनुभव हुन पुग्यो । मेजरपाटीको मर्मत सम्भारका जिम्मा पाएका गौतम परिवारबाट गुठीका जग्गा आफ्ना नाममा दर्ता गरेका छन् भन्ने सुन्दा लज्जा वोध भयो। हिंजोका गल्तीलाई स्वीकार्दै पुरतात्विक महत्वका सम्पदाको संरक्षण र सम्वद्र्धनामा हामी सबैको ध्यान जाओस । अस्तु ।