मूल बीउ उत्पादन गरिँदै

वालिङ (स्याङ्जा) : स्याङ्जाको वालिङ–१ यवादीमा रहेको कृषि विकास स्रोत केन्द्रले प्रजनन बीउबाट मूल बीउ उत्पादन गर्न थालेको छ । गण्डकी प्रदेशका ११ वटै जिल्ला कार्यक्षेत्र रहेको कार्यालयले खाद्यान्न, तरकारी, दलहन र तेलहन बालीको मूल बीउ उत्पादन थालेको हो ।

कृषि अनुसन्धान परिषद् (नार्क)बाट प्रजनन बीउ ल्याएर कार्यालयले मूल बीउ उत्पादन गरी बीउ उत्पादक समूह सहकारी तथा फार्महरूलाई बीउ उपलब्ध गराउँदै आएको कार्यालयका बाली विकास अधिकृत पुकार खनालले जानकारी दिनुभयो ।

कार्यालयले विभिन्न प्रजातिका धान, मकै, बोडी, सिमी, भटमास, कोदोलगायत खाद्यान्न, दलहन तथा तेलहन बालीको प्रजनन बीउबाट मूल बीउ उत्पादन गर्दै आएको छ । “नार्कबाट ल्याएको प्रजनन बीउलाई एक वर्ष यहाँ लगाएर मूल बीउ बनाइन्छ, यहाँ बनाइएको मूल बीउ लाइसेन्स प्राप्त बीउ उत्पादक समूह, सहकारी वा फार्महरूलाई ७५ प्रतिशत अनुदानमा उपलब्ध गराउँछौँ”, उहाँले भन्नुभयो, “कार्यालयले उपलब्ध गराएको मूल बीउबाट लाइसेन्स प्राप्त बीउ उत्पादकहरूले उन्नत बीउ उत्पादन गर्छन् ।”

बीउ उत्पादकले उत्पादन गरेको उन्नत बीउको नियमित निरीक्षण, अनुगमन गर्ने, भण्डारणका लागि टिनका बाकस, बिक्रीका लागि बोरा, विषादी तथा उत्पादित बीउको विवरण समेटिएको ट्याग, बोरा सिलाउने मेसिन, बीउको चिस्यान मापन गर्ने मेसिन कार्यालयले उपलब्ध गराउने उहाँले बताउनुभयो ।

आवश्यकता हेरी प्रदेश बीउबिजन गुणस्तर नियन्त्रण कार्यालय पोखराबाट प्रयोगशालामा बीउको गुणस्तर परीक्षण गरेपछि मात्र उन्नत बीउको रूपमा बजारमा पठाउने गरिएको छ । कार्यालयले उत्पादित बीउको डेसिस प्रणालीमार्फत बीउ उत्पादक समूह, सहकारी, फार्म र बीउ विक्रेता व्यवसायी तथा किसानलाई जोडेर बजारीकरणमा सहजीकरण गर्दै आइरहेको छ ।

कार्यालयले बीउ उत्पादकलाई रामधान, सावित्री, हर्दिनाथ, सावा मन्सुली सव १, मकैको मनकामना ३, गहुँ, बोडीको मालेपाटन १, चौमासे सिमी, भटमासको खजुरे भटमास १, कोदोको सैलुङ्गे १, काभ्रे १ र ओख्ले जातका मुल बीउ उपलब्ध गराउँदै आएको छ । पर्वतमा जेठो बुढो धान, भक्तपुर लोकल काक्रो, मसुरो र तोरीको उन्नत बीउ उत्पादन भइरहेको छ ।

म्याग्दीमा सिमी, केराउको उन्नत बीउ उत्पादन भइरहेको छभने नवलपुरमा बोडी, रामधान, सावित्री, हर्दिनाथ ६ जातका खाद्यान्न तथा तरकारीको उन्नत बीउ उत्पादन गरिएको उहाँले बताउनुभयो । तनहुँको भिमादमा डल्ले कोदो, घिरिङमा राम धान, सावित्री, हर्दिनाथ र सावा मन्सुली सव १ जातका खाद्यान्न बालीको उन्नत बीउ उत्पादन थालिएको छ ।

गोरखामा सिमी र तोरी, बागलुङका तीन ठाउँमा मनकामना ३ जातको उन्नत मकैको बीउ उत्पादन थालिएको छ । लमजुङ, कास्की, मनाङ र मुस्ताङमा कार्यालयमार्फत अहिले काम भइनसकेको उहाँले जानकारी दिनुभयो । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker