धन्वन्तरि जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस मनाइयो

तनहुँ । ‘प्रकृतिअनुकूल आहार, औषध र विहार : रोगमुक्त समाजको आधार’ भन्ने नाराका साथ २७औँ राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरि जयन्ती प्रदेश आयुर्वेद चिकित्सालय, तनहुँमा विशेष कार्यक्रम गरी मनाइएको छ ।
दिवसका अवसरमा चिकित्सालय परिसरमा स्थापित भगवान् धन्वन्तरिको मूर्तिमा विशेष पूजाअर्चना तथा दीप प्रज्वलन गरिएको थियो । फूलमालाले सजाइएको मूर्तिमा विधिपूर्वक पूजाअर्चना गरी प्रसाद वितरणसमेत गरिएको थियो ।
प्रदेश आयुर्वेद चिकित्सालयका कार्यालय प्रमुख डा. बुद्धिप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चिकित्सालयका पूर्व कार्यालय प्रमुख तथा कार्यरत कर्मचारीहरूको सहभागिता रहेको थियो ।
यस वर्षको नाराले स्वस्थ जीवनका लागि प्रकृतिअनुकूल खानपान, औषधिको विवेकपूर्ण प्रयोग र सन्तुलित जीवनशैलीको महत्वलाई जोड दिएको छ । आयुर्वेदले स्वस्थ व्यक्तिको स्वास्थ्य रक्षा र रोगीको रोग प्रशमनलाई मुख्य उद्देश्य मानेकाले आहार, औषध र विहारको सन्तुलनलाई आरोग्य जीवनको आधारका रूपमा लिने गरेको छ ।
दिवसले आयुर्वेदिक चिकित्सा पद्धतिको संरक्षण, प्रवर्द्धन तथा वैज्ञानिक विकाससँगै स्वस्थ जीवनशैली र जनस्वास्थ्यप्रतिको सचेतना अभिवृद्धि गर्ने अपेक्षा गरिएको चिकित्सालयले जनाएको छ ।










