तोड्फोड गरिएको १७ वर्षपछि राजा महेन्द्रको शालिकमा टाउँको जोडियो
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको सदरमुकाम दमौली स्थित प्रशानचोकमा रहेको स्व. राजा महेन्द्रको शालिकमा टाउँको हालिएको छ । वि.सं. २०६२/०६३ को आन्दोलनका क्रममा आन्दोलनकारीले उक्त शालिक तोड्फोड गरी टाउँको बिहिन बनाएका थिए ।
राप्रपा तनहुँका कार्यकर्ताहरुले बुधबार बिहानै शालिकमा टाउँको हालेका हुन् । टाउँको बिना रहँदै आएको शालिकमा बिहान करिब ४ बजेको समयमा टाउँको हालिएको बताइएको छ ।
राप्रपा तनहुँले यसअघि गत पुस २७ गते पृथ्वीजयन्तीको दिन शालिकमा टाउँको राख्ने हल्ला फैलिएपछि प्रहरीले बिहानैदेखि उक्त ठाउँलाई कब्जामा लिएको थियो । त्यसक्रममा राप्रपाका कार्यकर्ताले शालिकमा टाउँको राख्न पाएका थिएनन् । शालिकमा टाउँको पुनःस्थापन गरिएपछि अधिकांश स्थानीयले उक्त कार्यको प्रशंसा गर्दै इतिकासलाई संरक्षण र प्रवर्द्धन गरी लाभ लिनुपर्ने प्रतिक्रिया दिएका छन् ।
यस्तै, राजा महेन्द्रको टाउको राखेपछि राप्रपा तनहुँका अध्यक्ष विनोद घर्तीले इतिहासको संरक्षण गर्नुपर्ने बताउँदै यसलाई राजनीतिक रुपमा हेर्न नहुने प्रतिक्रिया दिएका छन् । ‘यसलाई इतिहासको रुपमा हेर्नुपर्छ । इतिहासको संरक्षण गर्नुपर्छ भन्ने मान्यता सहित पुस २७ गते नै टाउँको राख्ने तयारी भएपनि प्रहरीबाट अवरोध भयो’, उनले भने, ‘इतिहास मेटाएर मेटिदैन, यसलाई राजनीतिक लाभको रुपमा नहेरी संरक्षणको अभियानमा लाग्नुपर्दछ ।’
दमौलीमा वि.सं. २०४१ सालमा तत्कालिन प्रमुख जिल्ला अधिकारी माधवप्रसाद उपाध्याय र जिल्ला सभापति ऋषिकान्त पौडेल भट्टराइको नेतृत्वमा जिल्ला सभाकोषको रकमबाट राजा महेन्द्रको शालिक निर्माण भएको बताइन्छ ।
तत्कालीन जिल्ला पञ्चायतले निर्माण गरेको सालिक जिल्ला समन्वय समिति तनहुँको सम्पतीका रुपमा रहेको छ । तोडफोड गरिएको करिब १७ वर्ष पछि बुधबार बिहानी अध्यारोको समयमा टाउँको जोडिएको छ ।










