भित्ताको क्यालेण्डरमा दशैं आयो, नागरिकमा रौनक छाएन, गाउँघरमा न पिङ हालिइयो, न त परदेशी नै आए
- नारायण खड्का (तनहुँ)
तनहुँको भानु नगरपालिका १२ र १३ ग्रामीण बस्ति हो । यहाँका अधिकांश युवाहरु रोजगारी, अध्ययन, व्यापार व्यवसाय तथा अन्य कामले प्रायः घर बाहिर नै हुन्छन् । विदेश तथा जिल्ला बाहिर भएकाहरु पनि दशै पर्व मनाउन आफ्नै घर फर्किन्थे । तर, अहिले जिल्ला बाहिर भएका तथा परदेश गएका कोही पनि गाउँ फर्किएका छैनन् ।
गाउँघरमा दशैका बेला छुट्टै रौनक हुन्थ्यो । गाउँबाट बाहिर गएकाहरु पनि दशै मनाउन फर्कन्थे । अहिले कोही फर्किएका छैनन् । फर्किका पनि होम क्वारेन्टिनमा बसेका छन् । कोरोना संक्रमण जोखिमका कारण यस वर्षगाउँमा रोटेपिङ, लिङ्गे पीङ केही नहालिएको भानु १३ का पूर्ण बहादुर थापा बताउँछन् ।
उनले भने, ‘अघिल्ला वर्षभाइभतिजा, छोरा दशै मान्न स-परिवार गाउँ फर्किन्थे । अहिले जिल्ला बाहिर भएका कोही पनि आफन्तलाई गाउँ आउ भन्न सकिएन । आफन्तहरु गाउँ नआउँदा दशै आएको जस्तो लागेको छैन । दशै त केवल भित्तामा झुण्डाएको क्यालेण्डरलाई मात्र आयो तर हामीलाई दशै होइन् कोरोना भाइरस गाउँ आउँछ कि भन्ने त्रास भयो ।’
घटस्थापनाका दिन राखिएका जमरा हुर्किसकेका छन् । आज सोमबार टिकाको साइत पनि बिहान १० बजेर १९ मिनेट जाद छ । तर, घरमा पहेलै भएर बसेका जमरा र थालीमा बनाइएको रातो टिका लगाउने मान्छे भने घर गाउँमा छैनन् ।
बिगतकै जस्तो मौसम पनि दशैंकै जस्तो छ । घमाइलो दिन, खेतमा झुलेका धानका बाला, खुलेको नीलो आकाशले दशैंको स्वागत गरिरहेका छन् । शरद ऋतुको यस मौसमले दशैंलाई स्वागत गरे पनि आमनागरिकले मनैदेखि दशै मनाउन सकिरहेका छैनन् ।
विगत वर्षा लिंगे र रोटे पिङको मच्चाइ, मेला, जात्रा र शक्तिपीठमा हुने भीडले दशैं स्वागत गरिरहेको हुन्थ्यो । लामो समय बेखबर बनेकाहरु घर फर्किन्थे । वर्षदिनसम्म नभेटिएकाहरु भेटिन्थे । बसाइ सरेर गएकाहरु दशैंको मौका पारेर गाउँ फर्किन्थे, एकार्कामा खुशी साटासाट गर्थे । पर्यटकीयस्थल भरिभराउ हुन्थे । बजारका पसलमा किनमेल गर्नेको भीड हुन्थ्यो । तर, यो वर्षयस्ता केही देखिदैन । गाउँमात्र होइन् शहर बजारको अवस्था पनि यही छ ।
दशैंमा एकार्काको घरमा जाने, मिष्ठान्न परिकार खाने चलन हुन्थ्यो । यस वर्षत्यस्तो केही छैन । ‘अरु वर्ष दशैं खुब रमाइलो हुुन्थ्यो । यस वर्षत कोरोनाका कारण जताततै सुनसान छ । क्यालेण्डरमा बाहेक दशैं कतै आएको जस्तो देखिएन । मनमा रोगको डर भएपछि जति रमाउन खोजे पनि सकिदो रहेन छ’, भानु नगरपालिका १३ की चीजामाया खड्का बताउँछिन् ।
कोरोनाको संक्रमण बढ्दो छ । एकातिर कोरोनाको त्रास, अर्कातिर रित्तो गोजी । यही कारण घर बाहिर भएकाहरु फर्किन पनि सकेका छैनन् । विगत वर्षमा जो जहाँभए पनि दशैमा घर आउने चलन हुन्थ्यो, यस वर्षठीक उल्टो अवस्था छ । जो जहाँ छन् त्यहि बसेर जसो तसो दशैं मनाएका छन् । घरमा वृद्ध बुबाआमा हुनेहरु आशीर्वाद लिन जाने रहर हुँदाहुँदै पनि कोरोनाको जोखिमले यस वर्षघर फर्किएका छैनन् ।
समुदायस्तरमै संक्रमण फैलिएकाले जमघट र भेटघाट प्रायः बन्द छन् । शहरबाट गाउँ आएकाहरु होम क्वारेन्टाइनमा बसेका छन् । सरकारले स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरेको छ । स्थानीय तह र प्रशासनले जिल्लामा विशेष सुरक्षा योजना लागु गरेको छ ।
दशै पर्वमा घर बाहिर भएका सबै र्फकन्थे । आफ्ना मान्यजनको हातबाट टिका जमारा ग्रहण गरिन्थ्यो । रोटेपिङ, लिङ्गे पिङमा युवाहरुको भिडभाड हुन्थ्यो । तर, अहिले त्यस्तो छैन । भानु नगरपालिकाको १२ र १३ नम्बर वडामा कतै पनि पिङ हालिएको छैन । न त जिल्ला बाहिर भएकाहरु नै गाउँ फर्किएका छन् । आएकाहरु पनि अहिले होम क्वारेटिनमा बसेका छन् ।
भानु १३ मा जिल्ला बाहिरबाट कोही पनि आएमा उनका परिवारले पाँच हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने, १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने, आफ्नो घर भन्दा बाहिर अन्यको घरमा आउजाउँ गर्न नपाउने गरी टोलटोलले आ-आफ्नो नियम बनाएको छ ।
बाहिरबाट गाउँ आएकाहरु र गाउँमै हुनेहरु भेटघाट हुने थलोका रुपमा पिङ, मेला, खेलकूद जस्ता कार्यक्रम हुने भएकाले त्यसलाई रोक लगाउन गाउँमा पिङ हाल्न रोक लगाइएको भानु १३ का वडा अध्यक्ष रामबहादुर बानियाले बताए । ठूलाबडा, माइत, मामाघर वा ससुराली टीका थाप्न जानेहरु यस वर्षनजाने नियम वडाका टोल विकास संस्थाहरुले बनाएका छन् । कोसेली लिएर आउने पाहुनाले कोरोना ल्याउँछन् कि भन्ने त्रासले यस्तो नियम बनाउनु परेको भानु १३ पयास्वाँराका संगम सुमिर पियाँ बताउँछन् ।
यस्तै, चैतमा लकडाउनसँगै रोजगारी गुमाएकाहरु अहिलेसम्म काममा फर्कन पाएका छैनन् । त्यसैले पोहोरपरारको जस्तो किनमेल गरेर र हर्षोल्लासका साथ दशैं मनाउने अवस्था छैन । कोरोनाको त्रासका कारण मात्रै होइन, यस पटक पैसा नभएकाले पहिले जस्तो दशैँ हुने अवस्था छैन ।
विगतमा घरमा सिङ्गै खसी ढाल्नेहरु यस वर्ष धार्नीमा मासु जोखेर ल्याउन बाध्य छन् । नयाँ लुगा अनिवार्य मान्नेहरु पुरानामै चित्त बुझाइरहेका छन् । मन खुशी भए धन नभए पनि ऋण काढेर दशैं मनाउन तम्सिने नेपालीहरु यस वर्षदशैं जसरी आउँछ त्यसरी जान्छ भन्ने अवस्थामा पुगेका छन् ।
अहिले लकडाउन र निषेधाज्ञा हटे पनि व्यापार व्यवसाय चौपट छ । अघिल्लो वर्ष यतिखेर भ्याइनभ्याई हुने पसलेहरु फुर्सदमा छन्, पसल खालीखाली छन् । पसल खाली भएसँगै दमौलीमा व्यवसाय गर्दै आएका राजकुमार श्रेष्ठको मन पनि रित्तो छ । ‘व्यापार व्यवसाय सोचेजस्तो छैन । दशै लागेको जस्तो त होइन सामान्य अवस्थाको जस्तो पनि रौनक भएन’, श्रेष्ठ भन्छन्, ‘अहिलेको समयमा भीडभाड गरेर चाडपर्व मनाउनु निकै जोखिम छ । यस वर्ष स्वस्थ रहन सकियो भने अर्को दशैमा रमाइलो गर्नुपर्छ ।’
यस वर्ष दशै पर्व मनाउनु भन्दा पनि कतै लापरवाही भयो भने कोरोना संक्रमण फैलने पो हो कि भन्ने खतारा बढेको छ । यतिबेलासम्म तनहुँका बजार क्षेत्रमा देखिएको भाइरस संक्रमण चार्डपर्वसंंगै ग्रामीण क्षेत्रमा पुग्ने त्रास बढेको छ । त्यसैले ग्रामीण क्षेत्रका स्थानीय तह तथा वडा वडामा रहेका टोल विकास संस्थाहरुले आवश्यक स्वास्थ्य सुरक्षा सावधानी अनाएका छन् ।










