तनहुँका जनप्रतिनिधिको निर्णय : प्राविधिक शिक्षामा छात्रवृत्तिदेखि विपन्नको स्वास्थ्य बीमासम्म

स्थानीय तह निर्वाचनबाट निर्वाचित तनहुँका १० वटै पालिकाका जनप्रतिनिधिले पदभार ग्रहण गरेर कामको सुरुआत गरेका छन् । पदभार ग्रहणसँगै जनप्रतिनिधिले सर्वसाधारणका लागि हित हुने खालका निर्णय गरेका छन् ।

भानु नगरपालिकाका नगरप्रमुख आनन्दराज त्रिपाठीले नगरभित्र सञ्चालित विद्यालयमा प्राविधिक शिक्षा अध्ययन गर्ने विपन्न र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिने निर्णय गर्नुभएको छ । प्रत्येक वडाका एक छात्र र एक छात्रा गरी १३ वडाका २६ विद्यार्थीलाई वार्षिक रु ५० हजारका दरले छात्रवृत्ति प्रदान गरिने त्रिपाठीले बताउनुभयो । प्राविधिक शिक्षा आजको आवश्यकता भएकाले विपन्न विद्यार्थीको पठनपाठनमा सहयोग पु¥याउन उक्त निर्णय गरिएको नगरप्रमुख त्रिपाठीले जानकारी दिनुभयो ।

प्रत्येक वडा समितिले एक छात्र र एक छात्रालाई छात्रवृत्तिका लागि सिफारिस गर्ने नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख धु्रवराज पौडेलले जानकारी दिनुभयो ।

सो नगरपालिकामा तीन प्राविधिक शिक्षालय सञ्चालित छन् । भानु–२ स्थित होमराज लोहनी शारदा शिक्षा सदन मावि, भानु–११ स्थित त्रिभुवन मावि र भानु–४ स्थित भानु संस्कृत माविमा प्राविधिक शिक्षा अध्ययन हुँदै आइरहेको छ । यी विद्यालयमा सिभिल इञ्जीनियरिङ, तीनवर्षे कृषि डिप्लोमा र १८ महिने बाली विज्ञान तथा कृषि विषयको टिएसएलसी सञ्चालनमा छन् ।

आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले ज्येष्ठ नागरिक, दीर्घरोगीलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने निर्णय गर्नुभएको छ । उहाँले गर्भवती महिला, ६० वर्ष पुगेका ज्येष्ठ नागरिकलाई निःशुल्करूपमा एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय गर्नुभएको हो ।

आकस्मिक बिरामी, दीर्घरोगी, असहाय, अशक्तलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने निर्णय गरिएको अध्यक्ष चुमानले बताउनुभयो । आवश्यक परेको खण्डमा गाउँपालिका अध्यक्षले प्रयोग गर्ने सवारीसाधनलाई समेत बिरामी बोक्नका लागि प्रयोग गरिने उहाँले बताउनुभयो ।

गाउँपालिकासहित सबै वडा कार्यालयलाई सेवामैत्री बनाउन कार्यालयमा सेवा लिन जाने सेवाग्राहीलाई सफा, शुद्ध पानीको व्यवस्था गर्ने, प्रत्येक कार्यालयमा एक कर्मचारीसहितको नागरिक सहायताकक्ष स्थापना गरिने चुमानले जानकारी दिनुभयो । चुमानले शिक्षा, स्वास्थ्य, रोजगारी, पर्यटन, सडक तथा पूर्वाधार, कृषि, खेलकुदलगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

म्याग्दे गाउँपालिकाले घरमा निःशुल्क नम्बर प्लेट राख्ने निर्णय गरेको छ । नवनिर्वाचित अध्यक्ष श्रीप्रसाद श्रेष्ठले पदभार ग्रहण गर्दै जीआइएसका आधारमा घर नम्बरिङका लागि निःशुल्क नम्बर प्लेट उपलब्ध गराउने निर्णय गर्नुभएको हो । गाउँपालिकाभित्रका घरको विवरण डिजिटल प्रविधिमा रुपान्तरणका लागि घर नक्सा कायम भएका घरलाई एकपटकका लागि नम्बर प्लेट निःशुल्क उपलब्ध गराउने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

यसैगरी उपाध्यक्ष बालकृष्ण घिमिरेले पदभार ग्रहण गर्दै प्रत्येक वडामा मेलमिलाप केन्द्र गठन गर्ने निर्णय गर्नुभएको छ । गाउँपालिकाभित्र हुने झैझगडाका घटना वडास्तरमै मिलाउन मेलमिलाप केन्द्र गठन गरिने घिमिरेले बताउनुभयो ।

घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले लिफ्ट प्रविधिबाट सञ्चालित खानेपानी योजनाको भुक्तानी गाउँपालिकाले व्यहोर्ने निर्णय गर्नुभएको छ । गाउँपालिकाले सञ्चालन गरेको ‘एक घर, एक धारा’ अभियान सफल बनाउन र सर्वसाधारणलाई राहत दिन उक्त निर्णय गरिएको थापाले बताउनुभयो । उहाँले खानेपानी, स्वास्थ्य तथा शिक्षालगायतका आधारभूत आवश्यतालाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो ।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले विपन्न नगरवासीको निःशुल्क स्वास्थ्य बीमा गरिदिने निर्णय गर्नुभएको छ । सबैलाई स्वास्थ्यको पहुँचमा ल्याउन बीमा गर्न नसक्ने विपन्न नगरवासीलाई निःशुल्क स्वास्थ्य बीमा गरिदिने न्यौपानेले निर्णय गर्नुभएको छ ।

ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले गत वर्षको अविरल वर्षाका कारण आएको बाढी तथा पहिराबाट क्षति पुगेका घर निर्माण गर्ने निर्णय गर्नुभएको छ । त्यस्तै गाउँपालिकाको वडा नं ३ र ४ जोड्ने दिउलीखोलामा पक्की पुल निर्माणका लागि आवश्यक व्यवस्था गर्ने निर्णयसमेत श्रेष्ठले गर्नुभएको छ । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker