अभिनेत्री सृष्टिको उपचारका लागि तनहुँ समाज यूकेद्वारा १० लाख ५५ हजार आर्थिक सहयोग

स्नायू सम्बन्धी जटिल रोगबाट पीडित मगर संस्कृतिमा आधारित चलचित्र दिलसराकी प्रमुख अभिनेत्री सृष्टि रानाको उपचार सहयोगार्थ तनहुँ समाज यूकेले संकलन गरेको १० लाख ५५ हजार रुपैयाँ बराबरको चेक एक विशेष समारोहका बीच हस्तान्तरण गरिएको छ ।
भिमाद नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री तथा प्रदेशसभा सदस्य माननीय जीत प्रकाश आले, भिमाद नगर प्रमुख दधिराज सुवेदी, तनहुँ समाज यूकेका सचिव शोभा गौतम र कार्यसमिति सदस्य डा. प्रकाश गौतमले संयुक्त रूपमा अभिनेत्री सृष्टि रानाका बुवा दशरथ रानालाई सहयोग रकमको चेक हस्तान्तरण गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि आलेले भने, “सांस्कृतिक तथा सिर्जनात्मक क्षेत्रमा योगदान पु¥याउने कलाकारप्रति समाजको साथ र सहयोगले अझ ठूलो प्रेरणा दिन्छ । सृष्टिजीको उपचारमा हामी सबैको साथ रहन जरुरी छ । तनहुँ समाज यूकेले गरेको यो सहयोग मुक्तकण्ठले प्रशंसा गर्न लायक छ ।”
कार्यक्रमका अध्यक्षसमेत रहेका नगरप्रमुख सुवेदीले सहयोगदाताप्रति आभार व्यक्त गर्दै भने, “सांस्कृतिक पहिचान बोकेर अघि बढेकी कलाकार सृष्टि रानाको उपचारका लागि गरिएको यो सहयोग अत्यन्तै सराहनीय छ । भिमाद नगरपालिकाले पनि सृष्टि राना र उहाँकी आमाको उपचारका लागि आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाउँछु ।”
कार्यक्रममा उपप्रमुख शारदा खनाल, प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद पुन, नेपाली कांग्रेसका केन्द्रीय सदस्य पुष्प पराजुली, विभिन्न वडाका वडाध्यक्षहरू, राजनीतिक दलका प्रतिनिधिहरू, संघसंस्था, सञ्चारकर्मी, चलचित्र दिलसरा का निर्माता हर्क आले, स्क्रिप्ट राइटर मीना थापालगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो । उक्त अभियान सञ्चालनमा प्रताप राना र मनोज आलेको सक्रिय भूमिका रहेको जानकारी तनहुँ समाज यूकेका महासचिव महेन्द्र आलेले दिए ।
यसअघि पनि सृष्टि रानाको उपचारका लागि विभिन्न संघसंस्थाहरूले सहयोग अभियान सञ्चालन गरेका थिए । केही समयअघि सामान्य बिरामी भई पोखरा मणिपाल अस्पतालमा भर्ना भएकी सृष्टिलाई दुवै खुट्टा नचल्ने समस्या देखिएपछि केही दिन आईसीयूमा राखिएको थियो । न्युरो–सम्बन्धी जटिलता देखिएपछि उनलाई थप उपचारका लागि काठमाडौंस्थित टिचिङ अस्पतालमा लगिएको हो । चिकित्सकहरूका अनुसार उनको उपचारमा लामो समय लाग्ने र महँगो औषधि आवश्यक पर्ने जनाइएको छ ।
सृष्टिकी आमा विगत दुई वर्षदेखि क्यान्सर पीडित हुनुहुन्छ । आमाको उपचारमा निरन्तर लागिरहेकी सृष्टि आफै पनि गम्भीर रोगबाट पीडित भएपछि परिवारमा आमाछोरी दुबैको उपचार खर्च व्यहोर्न आर्थिक कठिनाइ भएको सृष्टिका बुबा दशरथ रानाले बताइन् ।
तनहुँ जिल्लाको भिमाद नगरपालिका–४, पिरुङमा जन्मिएकी २४ वर्षीया सृष्टि राना हाल पोखरामा बसोबास गर्दै आएकी छिन् । मौलिक तथा सांस्कृतिक नृत्य क्षेत्रमा सक्रिय सृष्टिको दिलसरा पहिलो चलचित्र हो, जसबाट उनी प्रमुख नायिकाको रूपमा परिचित छिन् ।
तनहुँ समाज यूकेसहित विभिन्न सहयोगी संस्थाहरूले उनको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै आर्थिक सहयोग जुटाउने अभियानमा निरन्तरता दिने प्रतिबद्धता जनाएका छन् ।










