“शिशाघाटमा नयाँ सहर आयोजना” प्रस्ताव
कृषि प्रयोजनाका लागि अस्थायी संरचना निर्माण गर्दा प्रति वर्गफिट एक रुपैयाँ तिर्नुपर्ने

- भञ्ज्याङ समाचारदाता (दमौली)
तनहुँको व्यास नगरपालिकाले वडा नं. ६ को शिशाघाटमा नयाँ सहर विकास गर्ने प्रस्ताव अगाडि बढाउने भएको छ । नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा नगर कार्यपालिकाको बुधबार बसेको नियमित बैठलके प्रस्ताव अगाडि बढाउने निर्णय गरेको हो । नयाँ सहरका लागि आवश्यक प्रस्तावमा नगर विकास कोषले स्विकृती दिएमा त्यस क्षेत्रमा नयाँ सहर विकासको काम अघि बढाइने नगरपालिकाले जनाएको छ ।
बैठकले नगरपालिकाको पारस्परिक कोष समेत नगर विकास कोषको अनुदान सहयोगमा शिशाघाट क्षेमा ‘शिशाघाट नयाँ शहर अवधारणा आयोजना’को आयोजना प्रस्ताव तयार गरी नगर विकास कोष स्वीकृतिका लागि पाठाउने निर्णय गरेको शाखा अधिकृत एवं प्रवक्ता मेघनाथ आचार्यले जानकारी गराएका छन् ।
यस्तै, बैठकले चौथो खुला व्यास नगर अल्ट्रा म्याराथनको तयारी सहित विभिन्न आठ निर्णय पनि गरेको छ । नगरपालिका आफैंले सञ्चालन गर्न थालेका घाटबाट कर असुलीलाई ‘पारदर्शी’ बनाउने निर्णय गरेको छ । हरेक घाटमा अस्थायी बिट स्थापना गर्ने निर्णय पनि बैठकले गरेको छ । नगरपालिकाले नगर विकास कोषको ऋण तथा अनुदान र नगरपालिका समेतको लगानीमा बनाउन प्रस्ताव गरिएको बहुद्देश्यीय भवनका लागि सम्झौता अघि बढाउने निर्णय पनि गरेको छ। यस्तै, बाल अधिकार संरक्षण तथा सर्म्वर्द्धन सम्बन्धी कार्यसञ्चालन कार्यविधि, २०७७ पारित गर्ने निर्णय गरेको छ ।
नगरपालिकाद्वारा भौतिक संरचनाहरु निर्माणमा लाग्ने दस्तुर निर्धारण गर्दा अन्य सबै प्रयोजनका संरचनाहरुको लागि एकरुपता कायम गरी नक्सापास दस्तुर निर्धारण गरिएकोमा कृषि तथा पशुपंक्षी व्यवसायमा आवद्ध कृषकहरुले कृषि प्रयोजनाको लागि निर्माण गर्ने अस्तायी संरचनाहरु करको दायारमा नआएका हुँदा कृषि तथा पशुपंक्षी व्यवसायमा आवद्ध कृषकहरुलाई समेत करको दायारमा ल्याउने उद्देश्यका साथ उनीहरुले निर्माण गर्ने -ट्रस एवं लोडवियरिङ्ग प्रविधिमा आधारित घर, गोठ, टहरा आदि) भौतिक संरचनामा प्रति वर्गफिट एक रुपैयाँका दरले नक्सापास दस्तुर लिई निर्माण कार्यका लागि स्वीकृति प्रदान गर्ने बैठकले निर्णय गरेको छ ।










