विविध कार्यक्रम गरी तनहुँमा ३१औं विश्व आदिवासी दिवस मनाइयो

दमौली : तनहुँमा शनिबार विविध कार्यक्रम गरी ३१औँ विश्व आदिवासी दिवस मनाइएको छ । जिल्लाका सबै पालिकामा बसोवास गर्ने आदिवासी जनजातिहरुले आ–आफ्नो जातीय पहिचान झल्कने भेषभूषामा सजिएर साँस्कृतिक झाँकी प्रदर्शन गरेका थिए ।
संयुक्त राष्ट्रसंघले सन् १९९४ देखि अगष्ट ९ लाई आदिवासी जनजातिको अधिकार र मानवअधिकारको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित दिवसका रूपमा मनाउन सुरु गरेपछि हरेक वर्ष यो दिन विभिन्न गतिविधिसहित मनाइँदै आइएको छ ।
“प्राकृतिक स्रोत, जल, जमिन र जङ्गलमाथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर, युएनड्रिप र आइएलओ १६९ सम्बन्धी सर्वोच्चको निर्देशनात्मक आदेश कार्यान्वयन गर” भन्ने नाराका साथ आयोजित कार्यक्रममा आदिवासीका हक अधिकारका विषयमा वक्ताहरुले आ–आफ्ना विचार व्यक्त गरेका थिए ।

जल, जङ्गल र जमिनसँग गहिरो सम्बन्ध राख्दै जीविकोपार्जन गर्दै आएका आदिवासी जनजातिहरूले प्रारम्भदेखि नै आफ्ना हक अधिकारका लागि दिवसलाई संघर्षको एक माध्यमका रूपमा उपयोग गर्दै आएका छन् । यद्यपि ३१ वर्षपछि पनि अधिकार सुनिश्चित गर्ने यात्रामा आन्दोलनको आवश्यकता अझै समाप्त नभएको आदिवासी जनजातिका अग्रजहरुले बताउने गरेका छन् ।
२०७२ को संविधानमा प्रदत्त अधिकारहरू पूर्ण रूपमा कार्यान्वयन नहुँदा समुदाय अझै निरन्तर आन्दोलनमा रहेको महासंघ तनहुँका अध्यक्ष सुजित हिराचनले बताए । उनका अनुसार, दिवस केवल अधिकारका मागसम्म सीमित नभई आदिवासी जनजातिको भाषा, संस्कृति, साहित्य र पहिचानको संरक्षण र प्रवद्र्धनको अवसर पनि भएको बताए ।

उनका अनुसार, आदिवासी जनजातिका कार्यक्रममा परम्परागत संस्कृति, भेषभूषा र परम्परागत कला प्रस्तुत गरिँदै आइएको छ । जसले समुदायको पहिचानलाई सशक्त बनाउन सहयोग पु¥याइरहेको सम्पादा नेपालका अध्यक्ष हरिसिं गुरुङले बताए ।
नेपालमा रहेका ५९ आदिवासी जनजाति समुदायमध्ये ५६ जाति नेपाल आदिवासी जनजाति महासंघको संघीय संरचनामा आबद्ध रहेको बताइएको छ ।










