तनहुँ जलविद्युत् आयोजना : विस्फोटन गराउँदा क्षति भएका घरको क्षतिपूर्ति दिइने

तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको प्याकेज–१ अन्तर्गत बाँधको काममा विस्फोटन गराउने क्रममा क्षति भएका घरको क्षतिपूर्ति रकम दिइने भएको छ ।

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा हालै बसेको मुआब्जा निर्धारण समितिको बैठकले बाँध निर्माणका लागि सेती नदीको दुवैतर्फको स्लोप कटानका लागि विस्फोटन गराउँदा घर संरचनामा क्षति पुगेकाले क्षतिपूर्ति रकम दिने निर्णय गरेको हो ।

व्यास नगरपालिका–५ बेतेनीका नौ र ऋषिङ–१ लोक्मामा नौ घरपरिवारको घर संरचनामा पुगेको क्षतिका आधारमा क्षतिपूर्ति निर्धारण उपसमितिले तयार गरेको प्रतिवेदनबमोजिम क्षतिपूर्ति रकम दिने निर्णय भएको आयोजनाका प्रमुख राजभाइ शिल्पकारले जानकारी दिनुभयो ।

साथै प्याकेज–१ का संरचनाको निर्माण कार्यबाट बाँधस्थल वरपरका बस्तीमा कम्पन, आवाजसँगै धुलोलगायतबाट प्रत्यक्ष असर परेका व्यास–५ बेतेनी क्षेत्रका १६ घरधुरीलाई परिवार सङ्ख्याका आधारमा विसं २०८० फागुन ९ गतेसम्म क्षतिपूर्तिबापत रकम उपलब्ध गराउने निर्णय भएको छ । आयोजना निर्माणस्थल वरपर रहेका बस्तीमा भविष्यमा आउनसक्ने यस्तै प्रकारका असरको स्थलगत निरीक्षण गरी थप छलफल गर्ने तयारी गरिएको शिल्पकारले बताउनुभयो ।

प्याकेज–२ का संरचना निर्माणका लागि व्याचिङ प्लाण्ट सञ्चालन गर्दा ऋषिङ–१ मालिङ्गास्थित एक घरपरिवारको बस्नै नसक्ने गरी जोखिमपूर्ण अवस्था रहेकाले प्राविधिकबाट तयार गरिएको उक्त घरको मूल्याङ्कन प्रतिवेदनबमोजिम आयोजनाका तर्फबाट क्षतिपूर्ति रकम उपलब्ध गराउने निर्णय भएको शिल्पकारले बताउनुभयो ।

आयोजनाका हाल तीन वटै प्याकेजको काम भइरहेको छ । प्याकेज–२ अन्तर्गत सिनो हाइड्रो कर्पोरेसन, चीनले भूमिगत विद्युत्गृह, मुख्य सुरुङ र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका कार्य गरिरहेको छ । विद्युत्गृह खन्ने कार्य सम्पन्न गरी कङ्क्रिटिङ कार्य गरिरहेको छ । टेलरेस सुरुङ निर्माण अन्तिम चरणमा छ ।

प्याकेज–१ अन्तर्गत डाइभर्सन सुरुङ–१ को माथिल्लो भाग वारपार (ब्रेक थु्र) भएपश्चात् हाल यसलाई सडक सुरुङका रुपमा प्रयोगमा ल्याइएको जनाइएको छ । त्यस्तै रकबोल्ट जडान, गुणस्तर परीक्षण तथा थप सटक्रिटका कार्य जारी रहेको आयोजनाले जनाएको छ ।

प्याकेज–३ अन्तर्गत प्रसारण लाइन निर्माणका क्रममा हालसम्म ५२ टावरको जग हाल्ने कार्य सकिएको छ । झण्डै ३३ टावरको जडान कार्य भएको छ भने शुन्य दशमलव नौ हजार आठ सय ८३ किलोमिटर तार तान्ने काम सम्पन्न भएको आयोजना प्रमुख शिल्पकारले जानकारी दिनुभयो । नौ वटा टावरको जग संरक्षण सम्पन्न भएको, एक स्थानमा टावर जडान, एक स्थानमा संरक्षण कार्य र सात स्थानमा जग हाल्ने कार्य भइरहेको उहाँले बताउनुभयो ।

आयोजनाको समग्र निर्माण विसं २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ । कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलरका लागि एडीबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैङ्कले आठ करोड ५० लाख र नेपाल सरकार÷नेपाल विद्युत प्राधिकरणले आठ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker