सम्मानको होइन, स्वाभिमानको रक्षा गरौं

नेपालको राजनीतिक इतिहासलाई हेर्दा एउटा यथार्थ स्पष्ट देखिन्छ– देशमा आफूलाई कम्युनिस्ट भन्ने राजनीतिक दलहरू पटक–पटक सत्तामा पुगे, तर मेरो बुझाइमा सच्चा कम्युनिस्ट शासन भने कहिल्यै स्थापित हुन सकेन। यद्यपि नेपाली जनताको निरन्तर संघर्ष, बलिदान र राष्ट्रिय चेतनाका कारण देशले आफ्नो सार्वभौमिक अस्तित्व जोगाइरहेको छ। यही कारण आजको आवश्यकता सम्मानको खोजी गर्नु होइन, राष्ट्रिय स्वाभिमानको रक्षा गर्नु हो ।
आज नेपालमा मात्र होइन, विश्वमै आफूले परिकल्पना गरेको अर्थमा कम्युनिस्ट शासन छैन । कुनै समय सोभियत संघमा समाजवादी व्यवस्था थियो भने चीनमा नयाँ जनवादी क्रान्तिपछि स्थापित व्यवस्थाले ती देशको आर्थिक, औद्योगिक र सामाजिक विकासमा ऐतिहासिक फड्को दिलायो। आज रूस र चीन विश्वका शक्तिशाली राष्ट्रका रूपमा चिनिनुको आधार पनि त्यही विकासको ऐतिहासिक जग हो। यद्यपि अहिले ती देशहरूको राजनीतिक र आर्थिक स्वरूप परिवर्तन भइसकेको छ। बजार अर्थतन्त्र र विश्वव्यापी प्रतिस्पर्धाले उनीहरूको नीतिमा नयाँ मोड ल्याएको छ ।
इतिहासले देखाएको छ कि कुनै पनि देशको विकास केवल प्राकृतिक स्रोतले मात्र हुँदैन, स्पष्ट राजनीतिक दृष्टिकोण, अनुशासित नेतृत्व र उत्पादनमुखी नीतिले हुन्छ। विश्वका धेरै राष्ट्रहरूले परिवर्तनपछि शिक्षा, स्वास्थ्य, उद्योग, कृषि र विज्ञान–प्रविधिमा उल्लेखनीय उपलब्धि हासिल गरेका छन् । नेपालमा पनि जनताले परिवर्तनको अपेक्षासहित कम्युनिस्ट नाम बोकेका दलहरूलाई बारम्बार विश्वास गरे। तर त्यो विश्वासको प्रतिफल अपेक्षाअनुसार प्राप्त हुन सकेन । यसको एउटा प्रमुख कारण जनताले वास्तविक क्रान्तिकारी र अवसरवादीबीचको भिन्नता छुट्याउन नसक्नु पनि हो । चुनावका बेला झण्डा, चुनाव चिह्न र आकर्षक भाषणका आधारमा निर्णय गरियो, तर व्यवहारमा धेरै नेतृत्व सत्ता, सुविधा र सम्पत्तितर्फ केन्द्रित भयो। परिणामस्वरूप जनतामा कम्युनिस्ट आन्दोलनप्रतिको विश्वास क्रमशः कमजोर बन्दै गयो ।
नेपाल आज पनि श्रमशक्ति निर्यात गर्ने देशका रूपमा परिचित छ। लाखौँ युवा रोजगारीको खोजीमा विदेशिएका छन्। अर्थतन्त्रको मुख्य आधार रेमिट्यान्स र कर राजस्वमा सीमित छ। उत्पादन, उद्योग र कृषि अझै पनि अपेक्षित रूपमा विस्तार हुन सकेका छैनन्। स्वदेशमै रोजगारी सिर्जना गर्ने, उत्पादन वृद्धि गर्ने र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने स्पष्ट राष्ट्रिय दृष्टिकोणको अभाव देखिन्छ।
उत्पादनमुखी अर्थतन्त्र, श्रमको सम्मान र भ्रष्टाचारमुक्त शासन स्थापना गर्न इमानदार तथा सिद्धान्तनिष्ठ राजनीतिक नेतृत्व आवश्यक हुन्छ। कम्युनिस्ट विचारधाराको मूल उद्देश्य पनि श्रमजीवी वर्गको हित, सामाजिक न्याय र उत्पादनको विकास नै हो । तर नेपालमा कम्युनिस्ट नाम बोकेका धेरै दलले आफ्नै आदर्शलाई व्यवहारमा उतार्न सकेनन् । त्यसैले नक्कली कम्युनिस्टहरूको व्यवहारले वास्तविक विचारधारालाई नै बदनाम गरायो ।
कम्युनिस्ट हुनु केवल रातो झण्डा बोक्नु वा हँसिया–हथौडाको चुनाव चिह्न प्रयोग गर्नु मात्र होइन। कम्युनिस्टको पहिचान उसको आचरण, अनुशासन, श्रमप्रतिको सम्मान, वर्गीय दृष्टिकोण र जनताप्रतिको उत्तरदायित्वबाट हुन्छ । भनाइ र गराइमा एकरूपता हुने, व्यक्तिगत स्वार्थभन्दा सार्वजनिक हितलाई माथि राख्ने व्यक्ति मात्र वास्तविक अर्थमा कम्युनिस्ट हुन सक्छ ।
कम्युनिस्ट बन्नका लागि भौतिकवादी दृष्टिकोण, वैज्ञानिक सोच र समाज परिवर्तनप्रतिको स्पष्ट प्रतिबद्धता आवश्यक हुन्छ। केवल पार्टीको सदस्यता लिएर वा क्रान्तिका नारा लगाएर कोही कम्युनिस्ट बन्दैन । सिद्धान्तलाई व्यवहारमा उतार्न सक्ने क्षमता नै वास्तविक पहिचान हो ।
नेपालको राजनीतिक इतिहासमा झापा आन्दोलनदेखि माओवादी जनयुद्धसम्म विभिन्न आन्दोलन भए । ती आन्दोलनहरूले राजनीतिक परिवर्तनका केही आधार तयार गरे, केही जनपक्षीय उपलब्धि पनि हासिल भए । तर जनताले अपेक्षा गरेको आमूल सामाजिक–आर्थिक परिवर्तन हुन सकेन । कृषि क्रान्ति, भूमिसुधार, उत्पादनमुखी अर्थतन्त्र, आत्मनिर्भर उद्योग र श्रमको सम्मान अझै पनि अपूरा कार्यसूची बनेका छन् ।
आज पनि भूमिहीन, सुकुम्बासी, किसान र श्रमजीवी वर्गले अपेक्षित न्याय पाएका छैनन् । उनीहरूकै नाममा आन्दोलन भए, उनीहरूकै बलिदानबाट राजनीतिक परिवर्तन सम्भव भयो, तर उनीहरूको जीवनस्तरमा अपेक्षित सुधार देखिएको छैन । युवाहरू विदेशिन बाध्य छन्, गाउँ रित्तिँदै गएका छन्, खेतीयोग्य जमिन बाँझो बन्दै गएको छ । यस्तो अवस्थाले देशको भविष्यप्रति गम्भीर प्रश्न खडा गरेको छ ।
आजको विश्व परिवेशमा सशस्त्र संघर्षभन्दा राष्ट्रिय स्वाभिमानको रक्षा, आर्थिक आत्मनिर्भरता र जनमुखी शासन प्रणालीको निर्माण बढी महत्वपूर्ण विषय बनेको छ। सरकार परिवर्तन मात्र उपलब्धि होइन। जनताको जीवनमा परिवर्तन ल्याउने नीति, सुशासन र उत्पादनमुखी विकास नै वास्तविक सफलता हो ।
नेपाल प्राकृतिक स्रोत, जलस्रोत, उर्वर भूमि र परिश्रमी जनशक्तिले सम्पन्न देश हो । यति धेरै सम्भावना हुँदाहुँदै पनि हामी वैदेशिक ऋण, अनुदान र रेमिट्यान्समा निर्भर छौँ । यो अवस्था दीर्घकालीन रूपमा देशका लागि हितकर हुन सक्दैन। कुनै पनि देशले निःस्वार्थ सहयोग गर्दैन। सहयोगसँग सधैँ आफ्नो हित जोडिएको हुन्छ । त्यसैले राष्ट्रिय विकासको आधार आफ्नै श्रम, आफ्नै उत्पादन र आफ्नै स्रोत–साधन हुनुपर्छ । आज पनि भ्रष्टाचार, राजनीतिक संरक्षणवाद, अवसरवाद र वैदेशिक निर्भरता हाम्रो विकासका प्रमुख अवरोध बनेका छन्। सरकार फेरिए पनि प्रवृत्ति फेरिएको अनुभूति जनताले गर्न सकेका छैनन् । महँगी बढिरहेको छ, सार्वजनिक ऋण विस्तार भइरहेको छ, उत्पादन घटिरहेको छ र रोजगारीका अवसर सीमित भइरहेका छन् । यस्ता चुनौतीको समाधान केवल सत्ता परिवर्तनबाट सम्भव हुँदैनÙ सोच, नीति र कार्यशैलीमा परिवर्तन आवश्यक हुन्छ ।
यदि नेपालले उत्पादन, कृषि, पर्यटन, जलस्रोत र साना–मझौला उद्योगलाई राष्ट्रिय विकासको केन्द्रमा राख्न सक्यो भने लाखौँ युवालाई स्वदेशमै रोजगारी दिन सकिन्छ । आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सकिन्छ । त्यसका लागि इमानदार नेतृत्व, स्पष्ट राष्ट्रिय दृष्टिकोण र जनताप्रतिको उत्तरदायित्व अनिवार्य हुन्छ ।
आज केही मानिस विदेशी सम्मान, पुरस्कार वा प्रशंसालाई ठूलो उपलब्धिका रूपमा प्रस्तुत गर्छन् । तर कुनै पनि राष्ट्रको वास्तविक सम्मान बाहिरबाट प्राप्त हुने पुरस्कारमा होइन, आफ्नै स्वाभिमान, आत्मनिर्भरता र सार्वभौमिकतामा निहित हुन्छ । इतिहासले पनि यही शिक्षा दिएको छ कि आफ्नो राष्ट्रिय हितभन्दा बाह्य स्वार्थलाई प्राथमिकता दिने नेतृत्वले अन्ततः देशलाई कमजोर बनाउँछ ।
त्यसैले आज हामीले सम्मानको पछि दौडिनुभन्दा स्वाभिमानको रक्षा गर्ने राष्ट्रिय चेतना निर्माण गर्नुपर्छ । आफ्नै माटोमा श्रम गर्ने, आफ्नै उत्पादनलाई सम्मान गर्ने, आफ्नै स्रोत–साधनको सदुपयोग गर्ने र राष्ट्रिय हितलाई सर्वोपरि राख्ने संस्कृतिको विकास गर्नुपर्छ । नेपालको समृद्धिको बाटो बाहिरबाट होइन, यही देशको माटो, श्रम, उत्पादन र जनशक्तिबाट खुल्नेछ । राष्ट्रको भविष्य विदेशीको प्रशंसाले होइन, आफ्ना नागरिकको आत्मविश्वास, उत्पादनशीलता र स्वाभिमानले निर्धारण गर्छ । त्यसैले आजको हाम्रो मूल मन्त्र यही हुनुपर्छ– सम्मानको पछाडि होइन, स्वाभिमानको रक्षा गरौँ ।










