खोला कटानले शुक्लागण्डकी-११ को जरेबर बस्ती जोखिममा

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको शुक्लागण्डकी नगरपालिका-११ जरेबर बस्ती खोला कटानले जोखिममा परेको छ । क्याङ्दी र बर खोलाको कटानले यो बस्ती जोखिममा परेको हो । केही दिनदेखि परेको अविरल वर्षाका कारण यी दुइ खोला उर्लिएर जमिन कटान गर्दै बस्तीतर्फ सोझिएपछि स्थानीयवासी त्रसित बनेका छन् । यहाँका स्थानीयवासीले वर्षौंदेखि कटानको समस्या भोग्दै आएका छन् । कटान रोक्नलाई बृहत् तटबन्धन नहुँदा खोला बस्तीतर्फ आइरहेको स्थानीयवासी सानुमाया महतले जानकारी दिए । खोलाको कटानले यहाँका १० घर उच्च जोखिममा परेका छन् ।

यस ठाउँमा दुइ दर्जनभन्दा बढी घर छन् । दुवैतर्फ खोलाले कटान गरेपछि बर खोलामा मोटरेबल पुल निर्माणमा खटिएको कामदार बसेको क्याम्पलाई सारिएको उनले बताइन । “कामदार जरेबरको चौरमा क्याम्प बनाएर बसेका थिए। कटानले खाली जमिन सकिँदैछ । खोलाको बहाव घटेको छैन, कतिबेला के हुने हो, त्रासमा छौँ, उनले बताइन । गत असारमा पनि दुवैतर्फ नदीले कटान गरेको थियो । बस्ती जोगाउन शुक्लागण्डकी नगरपालिकाले ४० थान जाली दिएको थियो । खोलालाई डाइभर्ट गराउन नसक्दा तटबन्धन गर्न नसकेको महतले बताउनुभयो । बस्ती जोगाउनलाई बृहत् गुरुयोजना बनाएर तटबन्धन गर्नुपर्ने उनको सुझाव छ ।

यसैगरी क्याङ्दी खोलाकै कटानले भिमाद नगरपालिका-८ अरौदीको बस्ती पनि जोखिममा परेको छ । क्याङ्दी खोलाको बहाव बस्तीतर्फ आएपछि जोखिम बढेको हो । कटानकै कारण चार घर विस्थापित भएको वडाध्यक्ष बुद्धिमान श्रेष्ठले जानकारी दिए । उनका अनुसार अरौहीको बस्तीमा ६५ घरधुरीको बसोबास छ । अन्य घरपरिवार तत्कालै विस्थापित हुने अवस्था नरहे पनि पूरै बस्ती जोखिममा परेको श्रेष्ठले बताए ।

“असारमा बस्तीतिर नदी सोझिन थालेपछि नगरपालिकाको स्काभेटर लगाएर धार परिवर्तनको काम गरेका थियौँ । अहिले फेरि खोला बस्तीतिर सोझिएको छ”, उनले बताए । अरौदीमा क्याङ्दी खोलाले क्याङ्दी मार्गको सडक पूरै बगाएको छ । असारमा कटान भएपछि केही समय ठूला सवारी चल्न सकेनन् । खोलाको धार परिवर्तन गरेपछि सवारी चलेको थियो । अहिले निरन्तर एक साता परेको अविरल वर्षाले खोला बढेर असारमा सडक कटान गरेकै ठाउँबाट बग्न थालेपछि भिमाद नगरपालिका र शुक्लागण्डकी नगरपालिकाका केही बस्ती पुनःयातायात सञ्जालबाट सम्पर्कविच्छेद भएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker