लिपुलेकमुनिका गाउँका पीडाः ‘न बाटो छ, न सञ्चार’

दार्चुला : कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रका कारण सबैभन्दा चर्चित ठाउँ हो दार्चुलाको ब्यास गाउँपालिका । त्यहीँ गाउँपालिकाको वडा नम्बर १ भित्रै पर्छन् छाङ्गरु र तिङ्कर गाउँ । तर त्यहीँ नेपालको अधिनमा रहेको छाङ्गरु र तिङ्कर पुग्न न पैदल बाटो छ न फोन गर्न सञ्चार सुविधा नै । अहिले पनि यहाँका दुई गाउँका नागरिक भारतीय सडक हुँदै गाउँ पुग्छन् । पैदल बाटो अवरुद्ध भएको र सञ्चार सेवा नहुँदा यहाँको जनजीवन कष्टकर बनेको छ ।

छाङ्गरुबाट तिङ्कर गाउँ पुग्न १० किलोमिटर दूरी छ । छाङ्गरुबाट तिङ्कर गाउँ पुग्नै अहिले पैदल बाटो अवरुद्ध भएको छ । गत साउन २८ गतेको बाढीले छाङ्गरु र तिङ्करको सम्पर्कविच्छेद भएको हो । छाङ्गरुदेखि तिङ्कर गाउँ पुग्ने ठाउँ ठाउँमा बाटो बाढीले बगाएको छ । मङ्सिरमा तिङ्करवासीको बसाइँसराइ खलङ्गा झर्ने बेला कसरी फर्किने भन्ने चिन्ता भएको छ ।

बाटो बाढीले बगाएकै कारण गाउँमा खाद्यान्नसमेत ढुवानी गर्न असहज भएको वडा नम्बर १ का वडासचिव विनोदसिंह बुढाथोकी बताउनुहुन्छ । अहिले स्थानीयले पुरानै मौज्दात खाद्यान्न खाइरहेका छन् । यस्तै बाटोको अवस्था रहने हो भने गाउँमा खाद्यान्न अभाव हुने अवस्था छ ।

“बाटोका लागि कुनै क्षेत्रबाट तत्कालै बजेट आउने सक्ने अवस्था छैन, बाटो निर्माण नहुने हो भने यहाँका नागरिकलाई मात्र नभई सुरक्षाकर्मीलाई समेत आवतजावतमा कठिनाइ हुन्छ, बिरामी भयो भने ल्याउन सक्ने अवस्था छैन”, सचिव बुढाथोकीले भन्नुभयो ।

स्थानीय आस्तिक तिङ्करीका अनुसार तिङ्कर गाउँमा सञ्चार नभएको तीन साता बढी भयो । गाउँ नेटवर्कविहिन छ । स्थानीयले अहिले आफन्तसम्म खबर गर्न सुरक्षाकर्मीको सेट प्रयोग गर्नुपर्ने बाध्यता बनेको छ । तिङ्करबाट छाङ्गरु गाउँ आउन तीन घण्टा एकतर्फी हिँड्नुपर्छ । छाङ्गरुमा नेपाल टेलिकमको नमस्ते फोनले काम गरे पनि तिङ्करवासीले भने सञ्चारबाट वञ्चित हुनुपरेको स्थानीय वीरेन्द्र तिङ्करी बताउनुहुन्छ ।

ब्यास–१ को तिङ्करमा ७० परिवारको बसोबास छ । यहाँका नागरिक गत जेठमा कुञ्चा सरेका थिए । तिङ्करभन्दा छियालेकमा सशस्त्र प्रहरीको बिओपी र नेपाल प्रहरी बसेका छन् । टेलिकमको सेवा अवरुद्ध भएसँगै सुरक्षाकर्मीले समेत आफन्त परिवारसँग कुराकानी गर्न पाएका छैनन् ।

गत वर्ष सङ्घीय सरकारको विशेष अनुदानमा ब्यास–२ दुम्लीङदेखि तम्बाकु, माल्पा, घाटीबगड, बयली, दोपखे, पोला, गिरकिस्से, बुदी अपिखोला र कुन्तीसाउसम्म २० किलोमिटर बाटो निर्माण तथा मर्मत गरेको छ । त्योभन्दा अहिले पनि नागरिकको लागि हिँड्डुल गर्न पैदल बाटो राम्रो छैन ।

गाउँपालिका उपाध्यक्ष विनोदसिंह कुँवरका अनुसार तिङ्कर सडकमा तुरुन्त आवश्यक बजेट, स्थानीय र सुरक्षाकर्मीलाई नेपालकै खाद्यान्न, आफ्नो भूमि भएर जाने बाटो बनाउनुपर्छ । “नभए यहाँका नागरिकको लागि हेलिकोप्टरको व्यवस्था गर्नुपर्छ”, उहाँले भन्नुभयो, “नागरिकका लागि चाहिने आधारभूत आवश्यकता पूरा गर्न नसक्ने तर जहिल्यै सीमाको विषय बल्झाइ रहँदा नागरिकले सास्ती खेप्नुपरेको छ ।”

पर्यटन अभियानकर्मी हिमालय भट्ट नेपालले ओमपर्वतदेखि लिम्पियाधुरासम्मको भू–भाग हाम्रो नै हो भन्ने दाबीलाई व्यवहारिक बनाउन छाङ्गरु तिङ्करसम्म तीव्र गतिमा विकास निर्माण कार्य अघि बढाउनु अत्यावश्यक रहेको बताउनुहुन्छ । उहाँका अनुसार विकास निर्माणको कामले गति लिएमात्रै ती भूभाग हाम्रो उपस्थिति प्रमाणित हुनेछ ।

अहिले गाउँपालिकाको छाङ्गरुदेखि तिङ्कर गाउँ जाने तीन काठे पुल सुरक्षाकर्मी, जनप्रतिनिधि र स्थानीयले श्रमदानमा निर्माण गरेको वडाध्यक्ष अशोकसिंह बोहराले बताउनुभयो । बोहराका अनुसार नाम्पा खोला, तिङ्कर खोलामा बगाएको काठे पुल अहिले लगाएर आवतजावत गर्न सुरु गरिएको छ । उहाँले केही ठाउँमा हिँड्डुल गर्न सक्ने गरी बाटो पनि खोलेको तर पशुचौपायासहित हिँड्डुल गर्न भने अझै बाटो नबनेको बताउनुभयो । उहाँले भन्नुभयो, “बाटो निर्माणका लागि ठूलो रकमको आवश्यकत्ता छ, दुई वर्षअघि गाउँपालिकाले ठेक्का आब्ह्वान गरेर पैदलबाटो निर्माण गरेको थियो, तर त्यो पूरै बाढीले कटान गरेपछि तिङ्करबासीलाई समस्या भएको छ ।”

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker