देवघाटमा रेबिज सचेतना अभियान, कुकुरको तथ्यांक संकलन गरी निःशुल्क खोप लगाइने

देवघाट : तनहुँको देवघाट गाउँपालिकाले रेबिज रोगको जोखिम न्यूनीकरण तथा नियन्त्रणका लागि विद्यालयदेखि समुदायस्तरसम्म सचेतना अभियान सञ्चालन गर्ने भएको छ । गाउँपालिकाको पशुपंक्षी तथा मत्स्य विकास शाखाको आयोजनामा भएको रेबिजसम्बन्धी सचेतना तथा अन्तरक्रिया कार्यक्रममा नियमित खोप, बन्ध्याकरण र जनचेतनालाई प्राथमिकता दिने योजना सार्वजनिक गरिएको हो ।
गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा पशु चिकित्सक तथा पशुपंक्षी तथा मत्स्य विकास शाखा प्रमुख डा. प्रदीप सापकोटाले कार्यपत्र प्रस्तुत गर्दै गाउँपालिकाभित्र रहेका सामुदायिक तथा घरपालुवा कुकुरको तथ्यांक संकलन गरी निःशुल्क रेबिजविरुद्धको खोप (एआरभी) उपलब्ध गराउने तयारी भइरहेको जानकारी दिए । कुकुरको संख्या व्यवस्थापनका लागि बन्ध्याकरण शिविरसमेत सञ्चालन गरिने उनले बताए ।
विद्यालय, टोल तथा समुदायमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै जनप्रतिनिधि, स्वास्थ्यकर्मी, वन उपभोक्ता समिति तथा अन्य सरोकारवाला निकायसँग समन्वय गरेर रेबिज नियन्त्रणका कार्यक्रम प्रभावकारी बनाउने योजना रहेको सापकोटाले बताए। विद्यालयमार्फत शिक्षक तथा विद्यार्थीलाई रेबिजको जोखिम र रोकथामबारे जानकारी दिने तथा पशुपालक कृषकलाई नियमित खोप र बन्ध्याकरणको महत्वबारे सचेत गराइने भएको छ ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष तिलबहादुर थापाले केही समयअघि रसुवामा आएको बाढीपछि त्रिशूली नदी किनारमा छरिएका मानव शवको व्यवस्थापनमा सुरक्षा निकाय, स्थानीय संघसंस्था तथा समुदायले समन्वय गरेको प्रसंग उल्लेख गरे। शव समयमै व्यवस्थापन हुन नसके जंगली जनावर तथा कुकुरले शव खाने र त्यसबाट विभिन्न रोगको जोखिम बढ्न सक्ने उनले बताए ।
पशु चिकित्सक डा. सम्राट अधिकारीले रेबिज भाइरस, नेपालमा यसको अवस्था, संक्रमित कुकुरमा देखिन सक्ने लक्षण, रोग पहिचान तथा रोकथामका उपायबारे जानकारी दिए । पशुमा समयमै खोप लगाउनु र स्थानीय तहमा निरन्तर सचेतना कार्यक्रम सञ्चालन गर्नु रेबिज नियन्त्रणका महत्वपूर्ण उपाय भएको उनले बताए ।
गाउँपालिका उपाध्यक्ष भुवनसिंह गुरुङले सामुदायिक तथा घरपालुवा कुकुरलाई सुरक्षित र व्यवस्थित रूपमा राख्नुपर्नेमा जोड दिए । विद्यालय तहदेखि नै विद्यार्थीलाई पशुप्रतिको व्यवहार, रेबिज नियन्त्रण तथा बन्ध्याकरणबारे जानकारी गराउनुपर्ने उनको भनाई थियो।
एनिमल नेपालकी फिल्ड कोअर्डिनेटर दिपा केसीले पशु कल्याण तथा पशुमाथि हुने क्रूरता नियन्त्रणका लागि संस्थाले गर्दै आएका गतिविधिबारे जानकारी दिए । उनका अनुसार गाउँपालिकासँगको समन्वयमा देवघाट–५ मा सञ्चालन भइरहेको रेबिजविरुद्धको खोप अभियानमा संस्थाका प्रतिनिधिसमेत सहभागी भइरहेका छन् ।
कार्यक्रममा देवघाट धर्मार्थ अस्पतालका मेडिकल अधिकृत डा. राजकुमार गैरे, सिद्ध महाकाली माध्यमिक विद्यालयका प्रधानाध्यापक वासुदेव तिवारी तथा गाउँपालिका प्रवक्ता एवं वडा नं. ५ का अध्यक्ष पूर्णबहादुर कुँवरलगायतले धारणा राखेका थिए । वक्ताहरूले बालबालिका तथा युवालाई कुकुर र अन्य पशुपन्छीलाई जिस्क्याउने, दुःख दिने वा असुरक्षित रूपमा छुने व्यवहारबाट जोगाउनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रमले रेबिज नियन्त्रणसँगै पशु कल्याण, नियमित खोप, बन्ध्याकरण र समुदायस्तरमा सचेतना विस्तारका लागि स्थानीय तह, विद्यालय, स्वास्थ्य संस्था र सरोकारवाला निकायबीच निरन्तर सहकार्य आवश्यक रहेको निष्कर्ष निकालेको छ ।










