कर्मचारी चार, कार्यक्षेत्र पाँच जिल्ला !

भञ्ज्याङ समाचारदाता/दमौली

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँको कार्यक्षेत्र पाँच जिल्ला हो । कार्यालयलाई तनहुँसहित लमजुङ, गोरखा, मनाङ र नवलपुरको खाद्य/दाना बजार तथा उद्योग अनुगमन, नमूना संकलन मुद्दाको अनुसन्धानको जिम्मेवारी छ ।

व्यास नगरपालिका-३ शान्तिनगरस्थित भाडाको घरमा कार्यालय सञ्चालनमा छ । पाँच जिल्ला कार्यक्षेत्र भएको कार्यालयमा कर्मचारी संख्या भने जम्मा चार जना मात्रै छ । कार्यालयका एक खाद्य अनुसन्धान अधिकृत, दुइ प्राविधिक सहायक र एक जना कार्यालय सहयोगी कार्यरत छन् ।

पाँच जिल्ला कार्यक्षेत्र भएको कार्यालयमा कर्मचारी कम हुँदा बजार अनुगमनलगायतका काममा समस्या हुँदै आएको खाद्य अनुसन्धान अधिकृत प्रशान्त पोख्रेलले बताए । कर्मचारी अभावकै बीचमा पनि कार्यालयले बजार अनुगमनलाई निरन्तरता दिइरहेको उनले बताए । र्’कर्मचारी अभावले बजार अनुगमनमा असर पुगिरहेको छ’, पोखरेलले भने, ‘भइरहेकै कर्मचारीबाट बजार अनुगमन, नमूना संकलन, मुद्दाको अनुसन्धानको काम भइरहेको छ ।’

कृषि तथा पशुपक्षी विकास मन्त्रालय मातहतको कार्यालयले खाद्य ऐन तथा दाना ऐन कार्यान्वयन मार्फत खाद्य शृंखलामा खाद्य स्वच्छता कायम गरी सर्वसाधारणको जनताको सुख सुविधा कायम गर्ने उद्देश्य राखिएको छ । विसं २०७५ कात्तिक १५ गते जिल्लामा डिभिजन कार्यालय स्थापना भएको थियो ।

कार्यालयले आर्थिक वर्ष २०७८/७९ को अवधिमा १७७ खाद्य ऐन बमोजिमका नमूना, ५९ वटा सर्भिलेन्सका लागि खाद्य नमूना र दाना ऐनबमोजिमका १३ वटा दाना पदार्थको नमूना संकलन गरेको थियो ।

कार्यालयले सोही अवधिमा एक सय २० वटा खाद्य उद्योगको निरीक्षण, २८ पटक अन्य निकायसँग संयुक्तरुपमा बजार अनुगमन, पाँच पटक हाटबजार मेला अनुगमन गरेको पोख्रेलले बताए ।

त्यस्तै १९० भन्दाबढी खाद्य पलस र ११९ वटा विभिन्नस्तरका होटल, रेस्टुराँ, मिठाइ पसल, भोजनालय निरीक्षण गरिएको छ । अनुगमनका क्रममा २४ पसलमा देखिएका रु ४३ हजार पर्ने म्याद गुज्रिएका खाद्यवस्तु नष्ट गरिएको थियो ।

चार पटक चार ठाउँमा खाद्य उद्योगीसँग खाद्य स्वच्छता र गुणस्तरसम्बन्धी गोष्ठी गरिएको कार्यालयले जनाएको छ । दुइ पटक स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवालासँग खाद्य स्वच्छता र गुणस्तरसम्बन्धी अन्तरक्रिया र दुइ पटक सडक छेउछाउ बिक्री हुने खाद्य पदार्थको स्वच्छता अभिवृद्धि गर्ने कार्यक्रम गरिएको जनाइएको छ ।

कार्यालयले सोही अवधिमा अनुज्ञापत्र जारी/नवीकरण र विश्लेषण शुल्कबापत रु एक लाख ५४ हजार नौ सय राजस्व संकलन गरेको छ । खाद्य मुद्दा सम्बन्धमा सात वटा मुद्दा दायर भएकामा चार वटा मुद्दाको प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरी सम्बन्धित निकायमा सक्कल मिसिल पठाइएको पोख्रेलले बताए ।

त्यस्तै १७७ खाद्य नमूनामध्ये १६ वटा नमूना खाद्य ऐनको प्रतिकूल रहेको पाइएको छ भने १३ मध्ये दुइ दाना पदार्थको नमूना ऐनविपरीत रहेको पाइएको छ । कार्यालयले उक्त अवधिमा दूध तथा दूध पदार्थका छ, तेल तथा घिउजन्यका ३३, फल तथा सागपातका २६, मसलाका १४, चिया कफीका १४, नूनका दुइ, खाद्यान्न, दलहन र सोबाट बनेका खाद्यका ४४, प्रशोधित पिउने पानीको १०, गुलियो पदार्थका १२, कन्फेक्सनरीका एक, मासु तथा मासुजन्यका एक, दानाका १३ र अन्य १३ नमूना संकलन गरेको थियो ।

कार्यालयले चाडपर्वका बेलामात्र नभई अन्य समयमा पनि नियमितरुपमा बजार अनुगमन गर्दै आएको पोख्रेलले बताए । उनले भने, ‘अनुगमनका क्रममा कार्यालयले खाद्यान्नका केही नमूना पनि संकलन गर्र्छौं, संकलित नमूना परीक्षणका लागि भैरहवा पठाउने गरेका हौं।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker