भानुमा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा होरालो शाशिस मावि प्रथम
भञ्ज्याङ न्यूज (भानु)

तनहुँको भानु नगरपालिकामा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा होमराज लोहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालय प्रथम हुन सफल भएको छ । प्रतियोगितामा विद्यालयले ८ स्वर्ण पदक सहित प्रथम हुन सफल भएको हो ।

उक्त प्रतियोगितामा ७ स्वर्ण पदक सहित मनोहर माध्यमिक विद्यालय द्धितीय भएको छ भने त्रिभुवन माध्यमिक विद्यालय ३ स्वर्ण पदक सहित तृतीय भएको छ ।

नगरपालिकाका २६ वटा विद्यालयका विद्यार्थीहरु बीच विभिन्न २८ वटा खेलमा प्रतिस्पर्धा गराइएको थियो । यस प्रतियोगितामा प्रथम र द्धितीय स्थान प्राप्त गर्ने खेलाडी विद्यार्थीहरुलाई यही चैत्र २७ र २८ गते जिल्ला सदरमुकाम दमौलीमा आयोजना गरिने जिल्लास्तरीय प्रतियोगितामा सहभागि गराइने भानु नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ ।

उक्त प्रतियोगितामा सहभागी विद्यालय मध्ये १६ वटा विद्यालयहरूले विभिन्न विधामा पदक तथा प्रमाणपत्र प्राप्त गरेका छन् । खेलकुदको माध्यमबाट बालबालिकाहरूको शारीरिक तन्दुरुस्ती तथा मानसिक स्फुर्तिको विकास गरी अनुशासित, क्षमतावान र कर्मठ नागरिक तयार गर्ने र खेलकै माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा देशको नाम उच्च बनाउने उद्देश्यका साथ यो कार्यक्रमको आयोजना गरिएको नगरप्रमुख उदयराज गौलीले बताएका छन् ।

प्रतियोगितामा हार जीत सामान्य र स्वाभाविक भएको बताउँदै नगर प्रमुख गौलीले सबै भन्दा ठूलो कुरा बालबालिकाको सहभागिता र सिकाइ भएको बताए । उनले सहभागी भएपछि कि जितिन्छ, कि सिकिन्छ भन्ने लक्ष्यका साथ बालबालिकाहरू सहभागी हुनुनै ठूलो कुरा भएको भन्दै विजेताहरुलाई पुरस्कृत गरेका थिए ।

यस्तै, प्रतियोगिता सम्पन्न गर्न प्रत्यक्ष र परोक्ष रूपमा सहयोग पुर्याउने खेल प्रशिक्षकहरू, सहभागी विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थी भाइबहिनीहरू, अभिभावकहरू, स्थानीय युवाक्लब, नेपाली सेना, नेपाल प्रहरी तथा कार्यक्रम व्यवस्थापनको जिम्मा लिएको होरालो शारदा शिक्षा सदन माविलाई आयोजकले धन्यवाद ज्ञापन गरेको छ ।











