तिर्खाले सुकेको ओठ, गाउँ नै खाली हुँदाको चोट

  • अमृत सुवेदी (पोखरा)

‘आम्मामा’ कति मान्छे आको हो,’ रेवती आले दंग परिन् । मान्छे देख्नै मुश्किल पर्ने डाँडामा एक्कासी लागेको भीडले रेवती चकित थिइन् । ६५ वर्षीया उनले कात्तिक २२ गते शनिबार जति भीड यो डाँडामा कहिल्यै देखेकै थिइनन् । डाँडा हो, तनहुँको मानहुँकोट । ब्यास नगरपालिका वडा नम्बर ५ मा पर्ने मानहुँकोटमा शनिबार रमिता थियो । हुलका हुल मान्छेहरु । मोटरसाइकल र गाडीका ट्याँट्याँ, टूँटूँ । मानिसहरुको भीड, हल्ला खल्लाले मानहुँकोट गुञ्जिरहृयो । ‘यत्रो मान्छे त मैले जीवनमा कहिल्यै देखेकै थिएन । मेरी बाबै’यति मान्छे आएन,’ रेवतीले हाँस्दै भनिन्, ‘कसैले फोटो खिच्या’छ, कोही नाच्या’छ, कोही चिच्या’छ । हामीलाई पनि सामान बेच्न भ्याइनभ्याइ भयो ।’

मानुङकोट (मानहुँकोट)मा एक्कासी किन मान्छे आए ? रेवतीलाई जस्तै गाउँलेलाई उतिसाह्रो जानकारी छैन । उनीहरुलाई त, सामान बेच्न भ्याइनभ्याइ छ । फाट्टफुट्ट मान्छेहरु त आउँथे, तर अलि धेरै आउन थालेको चाहिँ केही महिना मात्रै भयो । ‘शनिबार मानुङकोटमा यति भीड लाग्यो कि हामी डरायौं । ३ किलोमिटर सडक त गाडी र मोटरसाइकलले जाम नै भयो,’ वडा नम्बर ५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले भने, ‘एकै दिन धानिनसक्नु गरी हजारौं मान्छे आए । ७ सयभन्दा धेरै मानिस शुक्रबार साँझ नै टेन्ट टाँगेर मानहुँकोटमा बसेको वडाध्यक्ष श्रेष्ठले बताए।

***

नयाँ पुस्ताको लोकप्रिय सामाजिक सञ्जाल हो, टिकटक । लकडाउनले उकुसमुकस भएका मान्छेहरु खुकुलो भएसँगै रमाउने ठाउँको खोजिमा निस्कन थाले । प्रकृतिसँग रमाउने युवा पुस्ता मानहुँकोट पनि पुगे र टिकटक बनाए । दसैं सुरु भएसँगै यो क्रम हृवात्तै बढ्यो । मुख्य कारण हो, कुहिरो । समुन्द्रजस्तो डम्म लागेको कुहिरो । कुहिरोको माथिबाट उदाउँदो सूर्यको अद्भूत दृश्य । घाँटी-घाँटीसम्म कुहिरो पुगेर कताकति देखिने थुम्का । आँखैअघि ठोकिन आइपुग्ने हिमालका दृश्य । तनहुँ मानहुँकोटको मुख्य विशेषता यही हो ।

यही दृश्यलाई पृष्ठभूमिका राखेर टिकटक बन्न थाले । समुन्द्रजस्तै डम्म तर अनेक आकृतिमा बग्ने कुहिरोसँगै उदाउँदो र अस्ताउँदो सूर्यको दृश्यले धेरैको मन जित्यो । टिकटकमा हिट बन्यो । एकै दिनमा हजारौंले हेर्न थाले । भिडियोले राम्रो भ्युज र लाइक पाएपछि उत्साहित बनेर युवा पुस्ता त्यहाँ पुगे र भाइरलै बनाए । टिकटक बनाउनकै लागि मानहुँकोट पुग्नेको संख्या एक्कासी कयौं गुणाले बढ्यो । ‘कुहिरोको समुन्द्रमा तैरिदै सूर्य उदाइरहेको दृश्य सँच्चिकै अद्भूत देखिन्छ । कुहिरोमा समुन्द्रमा हाम फालौंजस्तो उत्साहित होइन्छ,’ पोखराका उत्सवले सुनाए, ‘मानहुँकोट पुगेपछि साँच्चिकै मनले पनि उत्सवै मनाउँछ ।’

शनिबारमात्र एकै दिन टिकटकमा मानहुँकोटको सयौं भिडियोहरु अपलोड भएका छन्, लाखौंले मन पराएका छन् । हृयासट्यागमा मानुङकोट दमौली, मानुङकोट दमौली नेपाल, मानहुँकोट, मानहुँकोट तनहुँ नेपाल लेखेर टिकटकमा भिडियो बनेका छन् । पछिल्लो समय मुख्य टिकटककै कारण मानहुँमा नेपाली पर्यटक धानिनसक्नु भएको वडाध्यक्ष श्रेष्ठको अनुभव छ । ‘मानहुँ चिनाउन र पर्यटकीय स्थलका रुपमा विकास गर्न हामीले धेरै मिहिनेत गरिरहेका छौं,’ वडाध्यक्ष मोहनकुमारले भने, ‘पछिल्लो समय मान्छेको ओइरो लाग्यो । एक दिन सबैको पालो आउँदोरहेछ।’

हिउँदमा मानहुँबाट देखिने मुख्य आकर्षक दृश्य नै कुहिरो हो । कुहिरोले बदलिरहने आकृति निकै सुन्दर देखिन्छ । परासर र व्यास ऋषिको तपोभूमि मानिने यो ठाउँ पौराणिक हिसाबले पनि कुहिरोसँग सम्बन्धित छ । सेती र मादीको संगमस्थलसँगै परासर ऋषिको आश्रम थियो। अति सुन्दरी मत्स्यगन्धालाई मन पराएपछि परासर ऋषिले नदीमा जलविहार गरिरहँदा कुहिरो उत्पन्न गराएर समागम गरेका थिए । बालिका मत्स्यगन्धालाई जवान र मत्स्यको गन्धलाई सुगन्धमा बदलेर कुहिरो उत्पन्न गरी परासरले सम्भोग गरेपछि व्यास जन्मिएको पौराणिक कथन छ । यो ठाउँ तिनै परासर ऋषिको तपोभूमि र वेद व्यासको जन्मभूमिका रुपमा पनि परिचित छ ।

पौराणिक कथनजस्तै यो ठाउँ हिउँदमा कुहिराले घुम्टोभित्र हराउने स्थानीय बताउँछन् । मानहुँकोटको पृष्ठभूमिमा देखिने दमौली बजार, भादगाउँ, चापाघाट, साँघे, पाटनलगायतका ठाउँ हिउँदमा कुहिरोको घुम्टो ओडेर बस्ने स्थानीय सुन्दर खनालले बताए । शनिबार एकैदिन १० हजार बढी पर्यटक पुगेपछि कोरोना संक्रमणको जोखिम बढेको भन्दै आलोचना समेत भएको छ । यो माहामारीमा अब भने ब्यास नगरपालिकाले ३ सय जनाभन्दा बढी जान रोक लगाउनुपर्ने स्थितिमा आइपुगेको छ ।

तिर्खाले बिस्थापित गाउँ

रेवती आलेलाई २०३२ सालमा विवाह गरेर गुजुमुज्ज परेको गाउँ मानहुँ पुगेको याद, ताजै छ । ‘म विवाह गरेर आउँदा त घरैघर थियो, मैले त त्यो बेला आफ्नो घर भुलेछु, झुक्किएर अर्काको घर पुगेछु,’ ती दिन सम्झिदै रेवतीले अनलाइनखबरसँग भनिन्, ‘ऊ बेला त्यस्तो रमाइलो गाउँ पछि त सुनसान बन्यो ।’ त्यो बेला मानहुँमा ६०/६५ घर भएको रेवती बताउँछिन् । ३२ सालमा मानहुँमै जन्मिएका झुलबहादुर थापाले गाउँमा ५३ सालमा पढाउन थाल्दा पनि ४२ घर थिए । थापाका अनुसार मानहुँकोट निख्खर मगर बस्ती हो । मानाजस्तो ढुंगा भएकाले मानुङ भन्ने गरेको थापाको भनाइ छ । ‘हामीले मानुङ भन्छौं, कसैले मानहुँ पनि भन्छन्,’ मानुङ प्राविका प्रधानाध्यापकसमेत रहेका थापाले भने, ‘कोटमा पियोर मगरहरु बस्थे, अलि तलका गाउँहरुमा अरु जाती पनि थिए ।’

थापासँग पनि हेर्दा हेर्दै मानुङकोट नै रित्तिएको अनुभव छ । २०२५ सालमा तनहुँको सदरमुकाम दमौली सर्‍यो । दमौली र मानहुँको काख हुँदै त्यसको केही सालमै पृथ्वी राजमार्ग खुल्यो । योजनावद्ध रुपमा तनहुँको दमौली बजारमा विकास सुरु भयो । पृथ्वी राजमार्गको आसपासमा पनि घर थपिँदै गए, सुविधा बढ्दै गए । मानुङकोटका वासिन्दालाई भने पानीकै सकस थियो । ‘४/५ घण्टा लगाएर पानी बोक्थ्यो । तल -दमौली) हेर्‍यो झिलीमिली थियो, माथि अँध्यारो,’ कोटकी अगुवासमेत रहेकी रेवतीले भनिन्, ‘अरु त ठिकै थियो, पानीकै दुःखले मान्छे गाउँ छोड्दै गयो ।’

राजनीतिक परिवर्तनसँगै गाउँमा पानी र विकास पुग्ने गाउँलेले आशा गरेका थिए । ०४७ सालतिर तत्कालिन शिक्षामन्त्री गोविन्दराज जोशीको पहलमा गाउँमा विद्यालय बनेको झुलबहादुरले बताए । ‘त्यही विद्यालयको छानाबाट आकासे पनि पनि संकलन गर्ने गरी कोटमा ट्यांकी निर्माण गरियो,’ उनले अनलाइनखबरसँग भने, ‘गाउँमा त्यही पानीले प्यास मेट्नुपर्‍यो तर त्यसले सधैं पुग्थेन ।’ तल मादीसेती बगेको हेरेर मानहुँलीको प्यास मेटिएन । सशस्त्र संर्घष्ा ताकाबाटै मानिसहरु बेसी र्झन थाले । ‘६०/६२ सालतिर धेरै पाटनतिर सोरा भन्ने ठाउँमा र्झन थाले,’ झुलबहादुरले भने, ‘पानीको हाहाकारकै कारण गाउँ नै विस्थापित भयो ।’

म्याग्दे गाउँपालिकासँग जोडिएको नगरभित्रै रहेर पनि पानीको चरम अभावले मानुङवासी बेशी झरेको स्थानीय सुरवीर थापाले बताए । चुनावताका हरेक नेताले आश्वासन दिए पनि मानहुँमा पानीको सपना पूरा भएन । यो ठाउँ कांग्रेस नेता श्रीभद्र खनालहरुको क्षेत्रका रुपमा चिनियो । कांग्रेस नेता रामचन्द्र पौडेलले त्यही क्षेत्रबाट तीन पटक चुनाव जिते । अन्य पार्टीका नेता पनि खानेपानीको योजना पार्ने बताउँदै मानहुँ पुगे पनि काम नभएको झुलबहादुरले बताए । विस्थापित हुँदा हुँदा गाउँमा अहिले ७ घरमात्र बाँकी छन् । त्यो पनि ३ घर मानहुँमा पर्यटक जान थालेपछि फर्किएका हुन् । ‘गाउँका सबै तल झरेपछि स्कुल पनि वेशीमै झर्‍यो,’ झुलबहादुरले भने, ‘मानुङ सुनसान बन्दै गयो ।’

पाहुना आउन थाले, राख्ने ठाउँ छैन

२०६१ सालतिरै मानहुँकोट पुग्ने कच्ची सडक बनेको हो । २०६२ सालमा तनहुँ महोत्सवलाई सघाउन कोटमै स्थानीयले महोत्सव मनाए । त्यही बेला मानहुँबाट प्याराग्लाइडिङ पनि परीक्षण भयो । त्यसको केही समयपछि राष्ट्रियस्तरकै मानहुँ पर्यटन साहित्यिक महोत्सव भयो । तनहुँको पर्यटकीय गन्तव्यको रुपमा नाम आइरहृयो र यस्ता छिटफुट कार्यक्रम मानहुँकोटमा भइरहे । तर, खास चर्चा र विकासका हिसाबले फड्को मार्न सकेन । प्राकृतिक दृश्यले मोहित बनाउने मानहुँ भौतिक पूर्वाधारकै अभावमा पछाडि परिरहृयो ।

अहिले मानहुँकोटलाई फोटोमार्फत चिनाउने काम गर्दै आएका पत्रकार कृष्ण न्यौपाने पछिल्लो समय सामाजिक सञ्जालले थप बल पुर्‍याएको बताउँछन् । सामाजिक सञ्जालकै कारण नेपाली पर्यटकको रोजाइ बनेको मानहुँकोटमा न गतिलो शौचालय छ, न गासबासको व्यवस्था । गाउँ नै बिस्थापित भएर बचेका ७ घरमा अहिले सबै होटल हुन् । कोटसम्म पुग्ने सडकको आधाजति पिच भइसकेको छ । बाँकी पिच गर्ने योजना अगाडि बढिरहेको छ । सडकको पहुँचसँगै पानीको हाहाकार हुने गाउँमा ट्याङ्कर र मिनरल वाटलका बोटल पुगेका छन् । ‘ट्याङ्करको पानी बोलाउँछ अहिले त, मान्छे आउन थालेपछि बाटो छ सजिलो पनि भाछ,’ स्थानीय केशरी थापाले भनिन्। दैनिक सयौं पर्यटक पुगे पनि सुविधासम्पन्न होटल वा रिसोर्ट छैनन् । मुश्किलले ७ घरमा एक सय जनालाई राख्न सक्ने स्थानीय बताउँछन् । बासको अभावकै कारण पर्यटकहरु खाना र टेन्ट बोकेर बास बस्न आउँछन् ।

लगानी भित्र्याउने गुरुयोजना बनाउँछौं : नगरपालिका

पर्यटकको ओइरो लाग्न थालेपछि गाउँको जेथा बेचेर जाने पछुताइरहेका छन् भने नयाँ लगानीकर्ता लोभिइरहेका छन् । मानहुँकोटमा रिसोर्ट र ठूला होटल बनाउन लगानीकर्ता इच्छुक देखिइरहेको वडाध्यक्ष मोहनकुमार श्रेष्ठले बताए । पर्यटकको संख्या हृवात्तै बढेसँगै मानहुँकोट र त्यहाँ जाने बाटो आसपास पर्ने गाउँ देउराली, नौघरे, चारघरे, छापथोक, बच्र्‍याङ लगायतका ठाउँमा पनि जग्गाको भाउ बढिरहेको छ । पर्यटकको संख्या बढेसँगै किनबेच बढेपछि आइतबार कोटमै बसेको नगरपालिकाको बैठकले पुससम्म रोक लगाएको मेयर वैकुण्ठ न्यौपानेले बताए । अहिले ४० लाख रुपैयाँमा कोटमा दृश्यस्थल बनिरहेको छ । ४० लाख रुपैयाँ खर्च गरेर पाटन, चापाघाट लगायतका क्षेत्रबाट पैदलयात्राका लागि काम भइरहेको छ । रेलिङ हाल्ने काम सकिइसकेको छ ।

मानहुँकोटको एकीकृत विकास र पूर्वाधारयुक्त बनाउन गुरुयोजना निर्माण गर्ने मेयर न्यौपानेले जानकारी दिए । खानेपानी, शौचालय, सुविधा सम्पन्न पूर्वाधार र जग्गाको उचित प्रयोग गर्ने गुरुयोजना बनाउने कार्यपालिकाको बैठकले निर्णय गरेको छ । निर्माणका लागि पृथ्वी राजमार्गस्थित चापाघाटदेखि जम्मा ६ किलोमिटरको दूरीमा रहेको मानहुँकोट बन्दीपुर, नगरकोटले जस्तै फड्को मार्न सक्ने नगरको योजना छ ।
सा. अनलाइनखबर डटकम

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker