दूधको मूल्य प्रतिलिटर १३ रुपैयाँ बढाउन किसानको माग

तनहुँ : तनहुँका दुग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर १३ रुपैयाँ बढाउन माग गरेका छन् । तीन वर्षदेखि दूधको मूल्य वृद्धि नभएको तर पशु आहार, औषधि, ढुवानी र उत्पादन लागत निरन्तर बढेको भन्दै किसानले मूल्य समायोजनका लागि सरकारलाई दबाब दिएका हुन् । मङ्सिर १० गतेभित्र दूधको मूल्यवृद्धि घोषणा गर्न माग गर्दै किसानले उक्त अवधिमा निर्णय नभए देशव्यापी आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्। दूध उत्पादनमा लागत बढ्दै जाने तर बिक्री मूल्य स्थिर रहँदा पेसाबाट पलायन हुनुपर्ने अवस्था आउन सक्ने भन्दै किसानले उत्पादन लागतका आधारमा मूल्य निर्धारण र उत्पादनमा आधारित अनुदानको व्यवस्था गर्न माग गरेका छन् ।
तनहुँ जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडले आइतबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी किसान तथा सहकारीकर्मीले दुग्ध क्षेत्रको वर्तमान अवस्था र किसानले भोगिरहेका समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका हुन् । केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेडका अध्यक्ष अम्मरबहादुर कुँवरले दूधको मूल्य प्रतिलिटर १३ रुपैयाँ वृद्धि गर्न सरकारसमक्ष प्रस्ताव पेस गरिएको जानकारी दिए । राष्ट्रिय दुग्ध विकास बोर्ड, हरिहरभवनमा केन्द्रीय द्रुग्ध सहकारी संघ र अन्य सरोकारवाला पक्षबीच भएको संयुक्त बैठकबाट सहमति जुटाएर प्रस्ताव अघि बढाइएको उनले बताए ।
उनले मङ्सिर १० गतेभित्र मूल्यवृद्धिको निर्णय नभए किसानलाई संगठित गरी देशव्यापी आन्दोलन अघि बढाइने बताए । किसानले उत्पादन गरेको दूधको उचित मूल्य सुनिश्चित गर्नु राज्यको दायित्व भएको उनको भनाइ थियो । संघका जिल्ला अध्यक्ष तुलसीराम सापकोटाले केन्द्रीय संघले अघि सारेको मूल्यवृद्धिको मागप्रति जिल्ला संको ऐक्यबद्धता रहेको बताए । उत्पादन लागत बढ्दै जाँदा किसानले उचित मूल्य नपाउनु दुग्ध व्यवसायको दिगोपनाका लागि चुनौती बनेको उनको भनाइ थियो ।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. जगदीशचन्द्र पोखरेलले कृषि उत्पादनको उचित मूल्य सुनिश्चित नभएसम्म किसानलाई पेसामा टिकाइराख्न कठिन हुने बताए । दुग्ध किसानका समस्या समाधानका लागि सरकारले नीतिगत र व्यावहारिक दुवै प्रकारका सहयोग गर्नुपर्नेमा उनले जोड दिए । सीमित स्रोतसाधनका बाबजुद तनहुँ जिल्ला दुग्ध उत्पादक सहकारी संघले दुग्ध क्षेत्रको विकासमा गरेको प्रयासको प्रशंसा गर्दै पोखरेलले संस्थाको विकास र किसानले उत्पादन गरेको दूधको बजारीकरणमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।
केन्द्रीय अध्यक्ष कुँवरले तनहुँको दुग्ध क्षेत्रलाई व्यावसायिक उद्योगका रूपमा विकास गर्ने आधार तयार पार्न पोखरेलको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गरे। उनका अनुसार पोखरेलको पहलमा राष्ट्रिय योजना आयोगबाट २५ लाख रुपैयाँ विनियोजन भएपछि सङ्घको संस्थागत तथा भौतिक विकासको आधार तयार भएको थियो। त्यसपछि सरकार र विभिन्न दातृ निकायबाट समेत सहयोग प्राप्त हुँदै आएको उनले बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वकेन्द्रीय सदस्य देवकुमार श्रेष्ठले दुग्ध क्षेत्रको विकास र किसानका समस्या समाधानका लागि सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको बताए । व्यास नगरपालिका–१० का वडाध्यक्ष खेमराज पोख्रेलले स्थानीय तहले किसानलाई उत्पादनमा आधारित सहयोग उपलब्ध गराउनुका साथै सहकारीको संस्थागत विकासमा पहल गर्नुपर्ने धारणा राखे ।
दुग्ध उत्पादनमा किसानको लगानी, श्रम र जोखिम बढ्दै गएको अवस्थामा उचित मूल्य, उत्पादनमा आधारित अनुदान र सहकारीको संस्थागत विकासका माग सम्बोधन हुनुपर्ने किसानको जोड छ । मङ्सिर १० गतेसम्म सरकारको निर्णय पर्खने र त्यसपछि आवश्यक आन्दोलनका कार्यक्रम अघि बढाउने संघले जनाएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker