कृषि ज्ञान केन्द्र तनहुँद्वारा कृषकलाई अनुदानमा चैते धानको बीउ वितरण
भञ्ज्याङन्यूज

जिल्ला कृषि ज्ञान केन्द्र तनहुँले किसानलाई अनुदानमा चैते धानको बीउ बितरण गरेको छ । पन्ध्र वटा कृषि समुह र सहकारीमा आबद्ध भएका किसानहरुको माग अनुरुप चैते-५ जातको धानको बीउ वितरण गरेको हो ।
प्रतिकिलो मूल्य ७५ रुपैयाँका दरले खरिद गरिएको छ मेटि्रक टन धानको बीउ ७५ प्रतिशत अनुदानमा उपलव्ध गराइएको केन्द्रका बाली संरक्षण अधिकृत एवं सूचना अधिकारी किरण परियारले जानकारी दिए ।
चैते धान उत्पादन वर्षेनी घट्दै गएकाले किसानलाई चैते धान खेतीमा प्रोत्साहन गर्न चैते धान प्रबर्द्धन कार्यक्रम मार्फत अनुदान प्रदान गरिएको उनले बताए ।
‘धानको बीउ, यन्त्रिक उपकरण र साना सिंचाईका लागि एक करोड पचास लाख रुपैयाँ बजेट बिनियोजन भएको छ’, उनले भने, ‘बीउमा ७५ देखि यन्त्रिक उपकरण र सिंचाईमा ८५ प्रतिशतसम्म अनुदानको व्यवस्था रहेको छ ।’
जिल्लामा यसवर्ष पाँच हजार ३५ रोपनी जमिनमा चैते धान खेती लगाइने योजना रहेको केन्द्रले जनाएको छ । कूल साढे बाह्र मेटि्रक टन धानको बीउ आवश्यक पर्ने भएपनि किसानले साढे छ टन सिएज-४५ परम्परागत बीउ राख्ने जनाएपछि कम माग गरिएको उनले जानकारी दिए ।
यन्त्रिक उपकरण अन्तर्गत मिनि टिलर, धान चुट्ने मेशिन, धान सुकाउने त्रिपाल, सामान ढुवानी लगायतमा अनुदान प्रदान गरिएको छ। साना सिंचाई कुलोका लागि ४२ लाख रुपैयाँ बजेट बिनियोजन गरिएको कार्यालय प्रमुख गोपाल शर्मा लामिछानेले जानकारी दिए ।
कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७/०७८ मा १ हजार ८०५ हेक्टर, आर्थिक वर्ष २०७८/०७९ मा २ हजार ४९० हेक्टर र आर्थिक वर्ष २०७९/०८० मा एक हजार आठ सय पाँच हेक्टर क्षेत्रफलमा चैते धान खेती गरिएको थियो ।










