आदिकवि भानुभक्त र घाँसीकुवा
देव बस्न्यात

आदिकवि भानुभक्त आचर्य नेपाली साहित्यका मूर्धन्य व्यक्ति हुनुहुन्छ । वि.सं. १८७१ असार २९ गतेका दिन चुँदी रम्घामा उहाँको जन्म भएको हो । भानुभक्त आचर्य श्रीकृष्ण आचर्यका नाति र धनञ्जय आचर्यका पुत्ररत्न हुनुहुन्छ । भानुभक्त आचार्यको मामाली घर लम्जुङ जिल्लाको भोर्लेटारमा पर्दथ्यो । उहाँ मामा घरमा जाने आउने गरिरहनु हुन्थ्यो । प्रायशः भानुभक्त आचार्य ठूलोढुङ्गा बयापानीबाट जिता हुँदै थानसिङ भञ्ज्याङ निस्केर भोर्लेटार जान्थे भने कहिलेकाँही मिर्लुङको ठूलोढुङ्गा भएर दलभञ्ज्याङ कात्तिकेचौर, पोखरीछाप, क्यामिन छापथोक धरमपानी हुँदै साँखुलीको बेसी निस्कन्थे भने रिस्ती तरे पछि मादीका तिरको पाखाको बाटो हुँदै भोर्लेटार निस्कन्थे । भानुक्तका मामालीहरु भोर्लेटारका पौडेलहरु हुन् । मावालीका यात्रा बारे भानुभक्तका दुइ कविताहरु निम्नानुसारका भेटिन्छन् । क्यामिन साँखुली हुँदै भोर्लेटार निस्कंदाको कविता यस्तो रहेको छ ।
दलभञ्ज्याङ अनि कात्तिके तिर हुँदै पोखरीछापमा ।।
क्यामिनको तल जान्छु साँखुली हुँदै यै रिस्तीका कापमा
मादीका तटबाट मास्तिर हुँदै जङ्गल तरुंला जसै ।
भोर्लेटार पुगेर म दिन दुइ विश्राम गरुँला जसै।।
भानुभक्तका जन्मथलो चुंदी रम्घा भएपनि उहाँको मावलीघर लमजुङ भोर्लेटारमा पर्दथ्यो । भोर्लेटारका पौडेलहरु भानुका मामाली पर्दथे । प्रायः भानु तल्लो चुँदीबाट, माथिल्लो चुँदीको खत्रीखोलाको करिडर पछ्याउँदै समजुर निस्केर तारुकाको सोतीगाउँ, रिस्तीखोला, सोतीपसल र समिभञ्ज्याङ हुँदै भोर्लेटार पुग्दथे । एकपटक मामाली जान हिंडेका भानुको बाटोमै बास प¥यो । पुराना साथी गजाधर सोतीको घर पुगेर आफ्नै साथी गजाधर सोतीका घरमा बास बस्ने विचार गरे । घरकी बुहारीले पिंडीमा बास बस्न भानुलाई इशारा गरे पनि घरकी सोतीनी बजैलै बास नदिएर लखेटिनु प¥यो । त्यो दिन भानुभक्त रात साँझ गरेर बेसी झरेर गोठमा बास बसेका थिए । अर्को पटक भानु तारुकाको बाटो हिंडद रचिएको कविता यसप्रकार छः
म जान्थे भोर्लेटार समय गतीले मावलीकहाँ।
प¥यो साँझ एक दिन ता म त बीच परें तारुकामहाँ ।।
गजाधर साथी हुन् मकन अघि निम्तो पनि थियो।
गजाधर भित्रै थिया तर मकन खेद्ने स्थिति भयो ।
त्यही बेला भानुले चार हरपे कविता लेखेर सोतीको नाति मुरलीको दौराको तुनामा बाँधेर सोतीको घर पठाएका थिए
नातिसंग पठाएको कविताको अंश यस्तो रहेको थियो ।
गजाधर सोतीकी घरबूढी अलिच्छिनकी रहिछन् ।
नरक जानलाई सबसित बिदाबादी भइछन्
पुग्यौं साँझमा तिन्का घर पिढीमहाँ बास गरियो ।
निकालिन साँझैमा अलिक पर गै गुजरान गरियो ।।
त्यही झोकले अर्को पटक मावली जाँदा भानु थानसिङको बाटो गएका हुन्। -श्रोतः नेपाल अधिराज्यमा तनहुँ– डिल्लीराम मिश्र) ।
जिता थानसिङ हुँदै भोर्लेटार रचिएको कविता यस प्रकार रहेको छ ।
तारुका अब जान्न जान्छु म जिता निस्कन्छु थानसिङ अनि ।
पिस्तीका वनबाट जाइरहुँला साँझै परेता पनि ।।
भोर्लेटार म आज जानु छ यसै पुग्ने छु साँझै तिर ।
तारुकातिर भो न जाँ अब जाँ यै बाटो कुन्छा तिर ।।
घटनाक्रमले कहिले कता कताको बाटो हिंडे पनि प्रायः भानु सा. क्यामिन ७ को बेसीको बाटो हिंड्ने गर्दथे। बाटोको कुनामा मगरले कुवा बनाएका हुनाले कसै कसैले यस कुवालाई मग¥या कुवा पनि भन्ने गर्दथे। क्यामिन निवासी टेकबहादुर मगरका बाजे खड्कबहादुर ठाडा मगरले यस कुवालाई बनाएका हुन् भनिन्छ । सा. क्यामिन ७ मा कुवा बनाएको भएता पनि उनै मगरले रिस्ती खोला पारी लमजुङको सेरोफेरो भित्रको साबिक रम्घा ७ को रिस्ती खोलाको तिरमा बटुवाहरुले आराम गरुन भनी एउटा चौतारो पनि बनाएका थिए । त्यही चौतारोलाई अहिले भानु–घाँसी सम्बाद चौतारोको नामले पुकार्ने गरिएको छ । मामाली घर जाने आउने क्रममा एक पटक भानुभक्त आचार्य रम्घा गाउँ विकास समिति वडा नं. ७ हाल मध्यनेपाल नगरपालिकाको खड्गे ठाडो चौतारो -हालः भानु घाँसी संवाद चौतारो) पातलमा आराम गरेर बसिरहेका थिए । संयोगबस त्यही बेला घाँसीले चौताराको एउटा छेउमा बसेर घाँसपात गर्ने हंसिया उधाइ रहेका थिए भनिन्छ । दैवसंयोग यही बेला भानुभक्त आचार्यको घाँसी खड्गबहादुर मगरसङ्ग खड्गे ठाडो चौतारोमा भेटघाट र संवाद भएका हुनाले अहिले यस चौतारोलाई भानु–घाँसी–सम्बाद चौतारो भनेर नामाकरण गरेको पाइन्छ । घाँसीका घत लाग्दा कुरा सुनेर भानुले एउटा अनौठो प्रकारको अनुभूति गरे । त्यही बेला भानुले एउटा कविता रचेर घाँसीलाई सुनाए ।
भरजन्म घाँस तिर मन दिइ धन कमायो।
नाम क्यै रहोस भनेर कुवा खनायो ।।
घाँसी दरिद्री घरको तर बुद्धि कस्तो।
मो भानुभक्त धनी भैकन आज यस्तो ।।
मेरा इनार न त सत्तलपाटी क्यै छन् ।
जे धन् र चिजहरु छन् घर भित्र नै छन्।।
यस घाँसीले कसरी आज दिए छ अर्ति।
धिक्कार हो ! मकन बस्नु नराखी कीर्ति।
अन्त्यमा भानुको कविताले घाँसी खड्गबहादुर मगर भाव विह्वल भयो । घांँसीबाट शिक्षा प्राप्त गरेका भानुभक्तले रामायण, भक्तमाला, बधुशिक्षा र फूटकर कविताहरुको रचना गरेर नेपाली साहित्यमा भण्डारण गर्नु भएको पाउँदछौं ।
तनहुँ जिल्लाकै व्यास नगरपालिकाको वडा नं. १२ र व्यास वडा नं ७ मा दुबै स्थानमा घाँसीकुवा नामक स्थानहरु रहेका छन । व्यास नगरपालिका वडा नंं ११ पोल्याङ भन्दा पूर्व बुल्दी खोलाको पारी रहेको काठमाण्डौ पोखरा आवत जावत गर्ने पृथ्वीराजमार्ग सँगै सटेर व्यास १२ को भूमिमा घासीकुवा रहेको छ । पृथ्वी राजमार्ग खन्ने बेलामा घासे–कुवालाई यो घाँसीकुवा हो भनेर यस स्थानको बढी प्रचारप्रसारमा आएको कुरा पक्कै हो । त्यति बेला यो स्थान कर्लुङ गाउँ पञ्चायतमा पर्दथ्यो । पृथ्वीराजमार्ग संगसंगै सटेको घांसीकुवाको नामले प्रख्याती पाए पछि वि.सं. २०३२ साल तिर कर्लुङ गाउँपञ्चायतले घाँसीकुवा गाउँपालिकाको नाम प्राप्त गरेको हो । घाँसीकुवा गाउँ पालिका ब्यास नगरपालिकामा गाभिए पछि अहिले यो क्षेत्र व्यास नगरपालिकाको वडा नं. १२ बन्न पुगेको छ।
पृथ्वी राजमार्गको स्तरोन्नति भइ चार लेनको फराकिलो सडक बनाउनु पर्दा भानु–घाँसी–स्मारक पार्क र घाँसीकुवा हटाउने पर्ने देखिएकोले पार्कको जग्गा घट्न गएकोले राजमार्गसंगै सटेको घाँसीकुवा पनि ओझेलमा पर्न गएको छ। आखिर दुबै घाँंसीकुवा तनहुँ जिल्लाको व्यास नगरपालिका भित्र पर्दछन् ।
दमौलीको मुसे खोला एवं बुल्दीखोला दोभान नजिकको घाँसीकुवाको बारेमा नेपाल सरकारले प्रकाशित गरेको कुनै पनि पाठ्यक्रममा समावेश भएको पाईंदैन तथापि जिल्लाको सदरमुकाम दमौली बजारबाट ५ किलोमिटरको दुरी भित्र घासीकुवा भएकै कारण दिन प्रतिदिन यहाँ अवस्थित घाँसीकुवाले थप महत्व प्राप्त गर्दै गएको छ । साधरणतया हाम्रो पहाडीया समाजका खसबाहुन हुन या खसबाहुन इतरका भोट बर्मेली समाजका हुन् प्रायः सबै मानिसहरु ससुराली घर भन्दा पनि मावलीघर नै आउने जाने गरेको पाउँदछौं ।
यसैले भानुभक्त आचर्य भोर्लेटार भन्दा मानुङमा रहेको ससुराली आउने जाने कार्य बढी गरे होलान भन्न सकिने स्थिति रहंदैन । यसकारण पनि व्यास–१२ मा रहेका घाँसी कुवा भन्दा बस ७ मा रहेको घाँसीकुवा सही हो की भन्न सघाउँछ । व्यास–१२ को घाँसी कुवामा बाहुनघरानका नन्दप्रसाद पन्थ घाँसीको रुपमा देखिन्छन् भने ब्यास–७ मा रहेको घाँसी कुवाका घाँसी खड्ग बहादुर पाटा मगर देखिन्छन् । बाहुन गरिव नै भएता पनि अर्काको घरमा हली गोठालो बसेर बाहुनले कामकाज गरेको हाम्र्रो पूर्वीय आर्य समाजमा अद्यापि भेटिदैन । यहाँका दरै तथा मगर समाजका आदिवासी घांँसी नभइ बाहुन देखिएकोले ब्यास–११ पोल्याङ गाउँ नजिकैको बुल्दीखोला पारीको घाँसीकुवा हो भन्ने ठोस आधारहरु मिल्ने देखिएन । अर्को तर्फ भानुकै आफ्नै गाउँ छिमेकमा भेटिएको घाँसीकुवामा रानाभाट थरका ब्यक्ति घाँसीका रुपमा भेटिंदा यहाँको घाँसीकुवा र घाँसी पनि यिनै हुन भनी किट्नका लागि भरयोग्य ठोस प्रमाण भेटिंदैन ।
नेपालको राष्ट्रिय शिक्षा पद्धति योजना २०२८ पूर्वको जनक शिक्षा सामाग्री केन्द्रले प्रकाशन गरेको कक्षा ४ मा पढाइने महेन्द्रमाला नामक पुस्तकमा रिस्ती खोलाको तनहुँ तर्फको किनारमा, घाँसीकुवा र लमजुङ तर्फको किनारमा रहेको चौतारामा भानुभक्त आचर्यले विश्राम गरेका र घाँसीसंग सम्बाद भएको कुरालाई उठान गरेको पाउँदछौं। वि.सं. २०५५ साल जेष्ठ २ गतेको शनिवासरीय परिशिष्टाङ्कको पृष्ठ æगÆ मा मुक्तिनाथ घिमिरेले पनि रिस्ती खोलामा रहेको घाँसीकुवा नै असली घाँसीकुवा भएको दावी गर्नु भएको छ ।
तनहुँ जिल्लाको सदरमुकाम दमौलीबाट १६ किलोमिटर टाढा लमजुङ जिल्लाको सिमानामा भएकै कारण क्यामिनको रिस्ती खोलामा अवस्थित घाँसीकुवा ओझेलमा पर्न गएको छ । जे होस नेपालका आदिकवि भानुभक्त आचार्य र घाँसीको सम्वाद भएको वास्तविक घाँसीकुवा कुन चांँही सही हो भन्ने विषयमा व्यास नगरपालिका तनहुँले सही निक्र्यौल गर्नै पर्ने हो तर जहाँ जे–जस्तो अवस्थामा घाँसीकुवाको कुराहरु उठान भएता पनि सबैलाई हाम्रै सम्पति सम्झेर घाँसीकुवाको संरक्षण सम्बर्द्धन गर्नमा स्थानीय सरकारहरुको ध्यान पुगोस यही शुभेच्छा छ ।
श्रोतसामाग्रीहरु :
१, मधु घिमिरे २, नेपाल अधिराज्यमा तनहुँ ३, प्रत्यक्ष अवलोकन










