विद्युतभार कटौतीले उपभोक्ता हैरान, १० दिनदेखि म्याग्दे गाउँपालिका अन्धकार

कृष्ण न्यौपाने

अघोषितरुपमा हुने विद्युत्भार कटौतीका कारण तनहुँका उपभोक्ता हैरान बन्दै गएका छन् । विनासूचना प्राधिकरणले पटकपटक विद्युत् कटौती गर्दा अनलाइन कक्षा पढ्ने विद्यार्थी र उद्योगी व्यवसायी मर्कामा छन् । लामो समयदेखि दैनिक विद्युत् जाने आउने समस्या भइरहेको उपभोक्ताको गुनासो छ ।

जिल्लाको म्याग्दे गाउँपालिकामा १० दिनदेखि विद्युत् अवरुद्ध भएपछि स्थानीयवासी मर्कामा छन् । मर्मत गर्नेतर्फ विद्युत् प्राधिकरणले चासो नदेखाएको उद्योग वाणिज्य सङ्घ थर्पु बजार इकाइ सभापति भीमलाल श्रेष्ठले बताउनुभयो । “दश दिन भइसक्यो विद्युत्को समस्या छ, पटकपटक जानकारी गराउँदा पनि चासो दिइएको छैन”, उहाँले भन्नुभयो ।

विद्युत् अनियमित हुँदा अनलाइन कक्षा पढ्ने विद्यार्थी बढी मारमा परेको स्थानीयवासी रामभक्त घिमिरेले बताउनुभयो । “विद्युत् प्राधिकरणलाई आइतबारसम्म यो समस्या समाधान गर्न अल्टिमेटम दिएका छौँ, त्यसभित्र पनि मर्मत नभए विद्युत् प्राधिकरणमा ताला लगाइदिन्छौँ”, उहाँले भन्नुभयो ।

विद्युत् प्राधिकरण वितरण केन्द्रका प्रमुख सोवितबहादुर क्षेत्रीले म्याग्दे क्षेत्रमा समस्या आएको ठाउँ पत्ता लगाउन नसक्दा मर्मतमा कठिनाइ भएको बताउनुभयो । “राजमार्ग क्षेत्रमा विद्युत् नियमित भए पनि भित्री क्षेत्रमा मर्मत कार्य जारी छ, कहाँनेर समस्या छ भन्ने पत्ता लगाउन गाह्रो भइरहेको छ”, उहाँले भन्नुभयो, “छिट्टै उक्त समस्या समाधान हुन्छ”, उहाँका अनुसार शुरुका केही दिन थर्पु शाखाका प्राविधिकले मर्मतका लागि काम गरे पनि समस्या समाधान हुन नसकेपछि अहिले जिल्लाबाटै प्राविधिक खटिएका छन् ।

शुक्लागण्डकी नगरपालिकामा पनि अनियमित विद्युत्ले सर्वसाधारण हैरान छन् । “लाइन कति बेला जान्छ । कति बेला आउँछ पत्तो हुँदैन”, शुक्लागण्डकी–३ कवासे निवासी समुन्द्र कार्की भन्नुभयो, “यतिबेला बाबुनानीको अनलाइन कक्षा चलेको छ । बेलाबेला लाइन जाँदा पढ्न समस्या भएको छ ।” कहिलेकाहीँ दिनमा १० पटकसम्म पनि लाइने जाने गरेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार बिहान, दिउँसो, बेलुका जुनसुकैबेला पनि विद्युत् अवरुद्ध हुने समस्या छ ।

विद्युत् जाने समस्याले अनलाइन कक्षा चलाउनै समस्या हुने गरेको ज्ञानबगैँचा बोर्डिङ स्कूल बेलचौताराका प्रधानाध्यापक सुरेश पौडेलले बताउनुभयो । “कक्षा शुरु भयो लाइन जान्छ, फेरि आउँछ, हैरान बनाउँछ । यो समस्याले प्लानिङअनुसार पढाउन सकिँदैन । तालिका अस्तव्यस्त हुन्छ”, उहाँले भन्नुभयो ।

विद्युत्भार कटौती धेरै हुन थालेपछि विद्यालयले इन्भटर खरिद गरेको छ । विद्यालयले इन्भटर व्यवस्था गरेर कक्षा चलाउँदा विद्यार्थी भने लाइन गएका बेला एक दुई जना मात्रै सहभागी हुने गरेको उहाँले जानकारी दिनुभयो । विनाजानकारी विद्युत् कटौती गर्नुको सट्टा घोषितरुपमै विद्यत्भार कटौती गर्दा सहज हुने उहाँको भनाइ छ । “विद्य्तभार कटौतीको तालिका भए त्यहीअनुसार अनलाइन कक्षाको तालिका बनाएर पढाइन्थो”, उहाँले भन्नुभयो ।

दैनिक विद्युत् अनियमित हुँदा उद्योग सञ्चालक पनि मारमा परेको शुक्लागण्डकी उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिकुमार श्रेष्ठले बताउनुभयो । केही उद्योग धरासायी बन्ने अवस्था सिर्जना भएको उहाँले गुनासो गर्नुभयो । पटकपटक समस्या समाधानका लागि प्राधिकरणको ध्यानाकर्षण गराए पनि समस्या नहटेको उहाँको भनाइ थियो ।

विद्युत् अनियमितता हुन थालेपछि कतिपयले बिग्रिएर थन्काएका इन्भटर ब्याट्री मर्मत गरेर पुनःप्रयोगमा ल्याउन थालेका छन् । जिल्लामा बेलचौतारा सवस्टेसनबाट विद्युत् वितरण हुने शुक्लागण्डकी तथा भिमाद नगरपालिका लगायतका विभिन्न क्षेत्रका उपभोक्ताले अघोषित विद्युत्भार कटौतीको सास्ती खेप्नुपरेको हो । फिडरमा समस्या देखिएकाले लाइन काटिने समस्या भइरहेको नेपाल विद्युत् प्राधिकरण लेखनाथ वितरण केन्द्रका प्रमुख परितोष चौधरीले बताउनुभयो । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker