बन्धकीमा खेत किनेर विपन्न वर्गलाई सामुहिक खेतीमा जोड्दै सामुदायिक वन

  • भञ्ज्याङ समाचारदाता (दमौली)

तनहुँको एक सामुदायिक वनले बन्धकीमा खेत खरिद गरी विपन्न समुदायका उपभोक्तालाई सामुहिक खेतीमा जोड्न थालेको छ । म्याग्दे गाउँपालिका-१ गुणादी स्थित बाराही सामुदायिक वन उपभोक्ता समुहले समुहमा आवद्ध सदस्यहरु मध्य ग र घ वर्गका विपन्न समुदायलाई सामुहिक खेतीमा जोड्न थालेको हो । समुहले स्थानीय एक व्यक्तिको करिब २० रोपनी क्षेत्रफलको खेत ४ लाख रुपैयाँमा बन्धकी गरी समुहका गरिव वर्गका उपभोक्ताहरुलाई सामुहिक खेतीमा आवद्ध गर्दै जिविकोपार्जनमा सहजता ल्याउने अभियान चलाएको छ ।

वन उपभोक्ता समुहको कार्यायोजना अनुसार वनबाट भएको आम्दानीले व्यक्तिको जग्गा बन्धकीमा खरिद गरी १३ जना उपभोक्तालाई सामुहिक धान खेती गर्ने जिम्मा दिएको छ । सो समुहले गरेको धान खेतीको विहीबार एक कार्यक्रमका बीच डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले धान काटेर यस वर्षको बर्खेधान खेती थन्काउने कार्यको शुभारम्भ गरेका छन् ।

डिभिजन वन प्रमुख काफ्लेले सामुदायिक वनले सञ्चालन गरेको यो अभियान गरिवी न्यूनिकरणको एक उदाहरणीय र पवित्र कार्य भएको बताएका छन् । ‘वन समुहले बन्धकीमा खेत लिएर सम्पन्नता स्तरिकरणको गरिब वर्गका उपभोक्ताहरुलाई सामुहिक खेतीमा आबद्ध गराएको छ’, उनले भने, ‘यो अभियान अन्तरगत अहिले धानको फसल लिने तयारी भएको छ । वनमा आश्रीत विपन्न समुदायलाई समृद्धि तर्फ उन्मुख गराउने यो एउटा नमुना र उदाहारणीय कार्य हो। सबै सामुदायिक वन समुहले यस्तै कार्यको सिको गरे सामुदायिक वनमा आवद्ध सबै वर्गको उत्थानमा टेवा पुग्ने छ ।’

बाराही सामुदायिक वन उपभोक्ता समुहले तीन वर्ष अगाडि व्यक्तिको जग्गा बन्धकीमा खरिद गरी समुहको नियम र कार्ययोजना अनुसार उपभोक्तालाई सामुहिक खेती गर्न दिने गरेको अध्यक्ष मुक्तिनाथ खनालले बताए । ‘समुदायिक वनमा आश्रीत सबै उपभोक्ताले लाभ लिन पाउनुपर्छ र विपन्न वर्गको उत्थानका लागि पनि समुहले काम गर्नुपर्छ’, अध्यक्ष खनालले भने, ‘वन समुहले गरेको आम्दानीबाट ४ लाख रुपैयाँको लागतमा करिब २० रोपनी क्षेत्रफलको खेत ५ वर्षका लागि बन्धकी गरी खरिद गरेका छौं । यो खेतमा वर्षमा तीन खेती गर्ने गरी वाषिर्क रुपमा लक्षित वर्गका कृषकहरु पहिचान पश्चात सामुहिक खेती प्रणाली अगाडि बढाउँदै आएकाछौं ।’

सामुदायिक वनले विपन्न वर्गलाई सामुहिक रुपमा खेती गर्न उपलब्ध गराएको खेतमा धान पाकेपछि काट्दै कृषकहरु। २० रोपनी क्षेत्रफलको खेतमा १३ जना कृषकले सामुहिक रुपमा धानखेती गरेका छन् । तस्विर : भञ्ज्याङ

वन समुहमा आवद्ध विपन्न समुदायलाई सामुहिक खेतीमा अवद्ध गराउन निवेदन आव्हान गर्ने र सोही निवेदनको आधारमा समुहको नियम अनुसार छनोट गरी १२ जनाको समुहलाई एक वर्षसम्म उक्त खेतमा सामुहिक खेती गर्न दिने गरिएको अध्यक्ष खनालले बताए । उक्त खेतमा उपभोक्ता कृषकहरुले गत वर्ष ८४ मुरी ६ पाथी धान उत्पादन गरेका थिए भने करिब ६० हजार रुपैयाँ भन्दा बढिको पराल बिक्री विरतण गरेको अध्यक्ष खनालले बताए । खनालका अनुसार यस वर्ष धानखेती राम्रो भएको हुँदा उत्पादन वृद्धि हुने र कृषक उपभोक्ताहरुले राम्रो प्रतिफल पाउने छन् ।

कृषकहरुले यस खेतमा चैते धान, वर्खेधान तथा हिउँदको समयमा गहुँ, मुसुरो, केराउ, आलु जस्ता खेती गर्नुपर्ने नियम समुहका छ । यो खेतमा खेती गर्नका लागि विपन्न समुदायले ५० रुपैयाँमा निवेदन दर्ता गर्नुपर्ने र धरौटी बापत एक हजार रुपैयाँ जम्म गर्नुपर्ने व्यवस्था छ । उक्त एक हजार रुपैयाँ संस्थाको नियम अनुसार खेती नगरे कारवाही स्वरुप समुहले जफत गर्ने छ भने राम्रोसंग खेती गरेमा कृषकलाईनै फिर्ता गर्ने गरेको छ ।

वन उपभोक्ता समुहमा आवद्ध विपन्न समुदायलाई लक्षित गरी समुहले ३३ हजार रुपैयाबाट सुरु गरेको यो कार्यक्रममा अहिले ४ लाख २२ हजार रुपैयाँ लगानि गरेको अध्यक्ष खनालले बताए । ‘२२ हजार रुपैयाँको बाख्रा पहिचो कार्यक्रम सञ्चालन गरिएको छ’, उनले बताए ।

करिब ६७ हेक्टर क्षेत्रफलमा फैलिएको यो सामुदायिक वनका उपभोक्ताहरु ३१२ घर परिवार भन्दा बढि रहेका छन् । वार्षिक करिब ५० हजार रुपैयाँसम्म आम्दानी गर्दै आएको यो समुदायिक वनले विपन्न परिवारको घर निर्माण, जस्ता पाताले घर छाउँने, दीर्घरोगीको उपचारमा आर्थिक सहयोग तथा निर्ब्याजी ऋण उपलब्ध गराउने, स्थानीय कच्चि सडकको मर्मत सुधार, विद्यालय, खानेपानी लगायतका सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको छ ।

‘सामुदायिक वन विपन्न समुदायका लागि वर्दान सावित भएको छ । सरकारले सामुदायिक वनले पनि कर तिर्नु पर्ने भन्दै आएको छ । तर, हामीले कर तिर्न नसक्ने बताएका छौं’, अध्यक्ष खनालले भने, ‘वनलाई यो अवस्थामा ल्याउन, संरक्षण, प्रवर्द्धनमा उपभोक्ताको ठूलो भूमिका छ त्यसैले यसबाट हुने लाभ पनि हामी उपभोक्ताले नै लिन पाउनुपर्छ । लग्ने भए वन नै लैजाऊ सरकार हामी कर तिर्न नसक्ने भन्दै बसेका छौ ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker