तनहुँको सेरामा बस दुर्घटना : २ जनाको मृत्यु, ३१ जना घाइते, ९ जनाको अवस्था गम्भीर

तनहुँ : तनहुँको शुक्लागण्डकी नगरपालिका–७ सेराटारस्थित पृथ्वीराजमार्ग सडकखण्डमा शुक्रबार दिउँसो यात्रु बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार मिति २शुक्रबार दिउँसो करिब १५:५५ बजे पोखराबाट भैरहवातर्फ जाँदै गरेको ग २ ख १८३६ नम्बरको बस अनियन्त्रित भई दुर्घटनामा परेको हो ।
उक्त दुर्घटनामा परी तनहुँ म्याग्दे गाउँपालिका–१ निवासी ६५ वर्षीया जस माया सुनारको उपचारका क्रममा दिउँसो १६:३५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। त्यस्तै, नामथर र ठेगाना नखुलेकी करिब ३० वर्षीया एक महिलाको पनि उपचारका क्रममा १६:३० बजे मृत्यु घोषणा गरिएको छ।
दुर्घटनामा घाइते भएका मध्ये २७ जनालाई पोखरास्थित मणिपाल शिक्षण अस्पताल र अन्नपूर्ण अस्पतालमा रिफर गरिएको छ। साथै २ जनाको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको छ भने ३ जना उपचारपछि डिस्चार्ज भएका छन्।
घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर, १४ जनाको मध्यम र ५ जनाको सामान्य रहेको प्रहरीले जनाएको छ। अन्य घाइतेको नामावली विवरण संकलन भइरहेको छ भने दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।










