बन्दीपुर अस्पताललाई रु. ४० लाख बराबरका स्वास्थ्य उपकरण उपलब्ध

बन्दीपुर : तनहुँको ऐतिहासिक तथा पुरानो स्वास्थ्य संस्थाका रूपमा परिचित बन्दीपुर अस्पतालमा स्वास्थ्य सेवा विस्तार तथा गुणस्तर अभिवृद्धिका लागि करिब ४० लाख रुपैयाँ बराबरका अत्याधुनिक स्वास्थ्य औजार उपकरण उपलब्ध गराइएको छ ।
वि.सं. २०२२ सालमा स्थापना भएको तत्कालीन जिल्ला अस्पताल हाल वि.सं. २०७३ सालदेखि बन्दीपुर गाउँपालिका अन्तर्गत १५ शैयाको अस्पतालका रूपमा सञ्चालन हुँदै आएको छ। अस्पतालले मिति २०८२ वैशाख १ गतेदेखि कर्मचारी, विद्यार्थी, मजदुर, व्यवसायी तथा गृहिणी लक्षित विस्तारित सेवा समयसहित हरेक दिन बिहान ७ बजेदेखि बेलुकी ८ बजेसम्म निःशुल्क ओपीडी सेवा सञ्चालन गर्दै आएको छ । कार्तिक १६ देखि माघ १५ सम्म भने सेवा बेलुकी ७ बजेसम्म सञ्चालन हुने अस्पतालले जनाएको छ ।
हाल अस्पतालबाट २४सै घण्टा आकस्मिक सेवा, प्रसूति तथा डेलिभरी सेवा, फार्मेसी, प्रयोगशाला, एक्सरे तथा बिरामी भर्ना सेवा सञ्चालन भइरहेका छन् । साथै हरेक दिन आँखा तथा दाँत उपचार सेवा र सोमबार तथा बिहीबार भिडियो एक्सरे सेवा समेत उपलब्ध हुँदै आएको छ। दैनिक करिब १०० देखि १५० जनासम्म सेवाग्राहीले सेवा लिँदै आएका छन् ।
यसैबीच अस्पतालमा थप सेवा विस्तार तथा गुणस्तरीय परीक्षण सेवा सञ्चालन गर्ने उद्देश्यले विभिन्न स्वास्थ्य औजार उपकरण सहयोगका लागि अस्पतालले केही समयअघि सार्वजनिक आह्वान गरेको थियो । सोही अनुरूप लायन्स क्लब अफ चितवन चौतारी र लोयल ट्रेडर्स चितवन ले अस्पताललाई अत्यावश्यक स्वास्थ्य उपकरणहरू निःशर्त सहयोग गरेका हुन् ।

लायन्स क्लब अफ चितवन चौतारीले करिब २० लाख रुपैयाँ बराबरको ‘क्लिया मेसिन’ तथा ‘पीटी/आईएनआर मेसिन’ उपलब्ध गराएको छ भने लोयल ट्रेडर्स चितवनले करिब २० लाख रुपैयाँ बराबरको ‘फुल्ली अटोमेटिक बायोकेमेस्ट्री एनालाइजर’ र ‘५ पार्ट हेमाटोलोजी/सीबीसी एनालाइजर’ हस्तान्तरण गरेको अस्पतालका प्रमुख डा. अनिल गिरीले जनाए ।
यी उपकरण जडानसँगै अब बन्दीपुर अस्पतालमै थाइराइड, भिटामिन डी, भिटामिन बी–१२, पाठेघरको क्यान्सर परीक्षण (CA–१२५), प्रोस्टेट क्यान्सर परीक्षण (PSA), रगत जम्ने क्षमतासम्बन्धी PT/INR परीक्षण, कलेजो, मिर्गौला, युरिक एसिड तथा रगतका विभिन्न कणहरूको गुणस्तरीय परीक्षण सेवा सञ्चालन गर्ने सकिने प्रमुख डा. गिरीले जानकारी गराए ।
‘यसअघि यस्ता परीक्षणका लागि बिरामीहरूलाई पोखरा, दमौली वा चितवन जानुपर्ने बाध्यता रहेको थियो’, उनले भने, ‘अस्पतालले सम्बन्धित केमिकल खरिदका लागि ई–बिडिङ प्रक्रिया अघि बढाएर छिट्टै परीक्षण सेवा सञ्चालन गर्ने तयारी गरेको छ ।’
अस्पतालका अनुसार आगामी दिनमा पनि सेवा विस्तारका लागि AED (Automatic External Defibrillator), १२ लिड ईसीजी, अक्सिजन कन्सन्ट्रेटर, एक्स–रे CR कोनिका प्रिन्टर, कमर्सियल वासिङ मेसिन, ठूलो क्षमताको फ्रिज लगायत अन्य स्वास्थ्य उपकरण आवश्यक रहेको छ।
अस्पतालले स्वास्थ्य क्षेत्रको सुधार र स्थानीयस्तरमै गुणस्तरीय उपचार सेवा उपलब्ध गराउने अभियानमा सहयोग गर्न इच्छुक संघ–संस्था, दाता तथा व्यक्तिहरूलाई सहकार्यका लागि आग्रह गरेको छ । अस्पतालसँग सहयोगसम्बन्धी समन्वय गर्न इच्छुकले अस्पताल प्रशासन वा ९८५६०६३३३१ नम्बरमा सम्पर्क गर्न सक्ने जनाइएको छ ।










