रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढी : तनहुँमा ९ शव भेटिए, नदी किनारमा सुरक्षा सतर्कता

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परेकाको शव तनहुँमा पनि भेटिन थालेका छन् । बाढीका कारण त्रिशूली नदी हुँदै देवघाटस्थित नारायणी नदीमा बगेर आएका शवहरू भेटिन थालेका छन् ।
तनहुँका नदी तटीय क्षेत्रमा बुधबार साँझसम्म नौ जनाको शव फेला परेको तनहुँ प्रहरीले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेका अनुसार फेला परेका शवमध्ये दुईवटा शवको टाउको र कम्मरमुनिको भाग फेला परेको छैन । प्रारम्भिक विवरणअनुसार फेला परेका शवमध्ये तीन जना पुरुष, एक बालिका र एक बालकको पहिचान खुलेको छ भने अन्य शवको पहिचान तथा लिङ्ग खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
भोटेकोशीमा आएको बाढीसँगै बगेर आएका शवहरू त्रिशूली नदी हुँदै तनहुँका नदी तटीय क्षेत्रमा भेटिन थालेका छन् । प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीका अनुसार मुग्लिनभन्दा केही तल सिमलताल क्षेत्रमा एक–एक तथा देवघाट क्षेत्रमा चारवटा शव भेटिएका थिए । नदीको बहाव तीव्र रहेकाले थप शव भेटिन सक्ने सम्भावनालाई ध्यानमा राख्दै नदी किनारमा सुरक्षा सतर्कता बढाइएको छ ।
भोटेकोशीमा आएको बाढी करिब दिउँसो १ बजेतिर मुग्लिन आसपास आइपुगेको थियो भने सवा ३ बजेतिर देवघाट क्षेत्रमा पुगेको थियो । बाढीको बहाव ठूलो भए पनि तनहुँमा तत्काल ठूलो क्षति भने नभएको प्रशासनले जनाएको छ ।
बाढीको सूचना प्राप्त भएलगत्तै जिल्ला विपद् व्यवस्थापन समिति तथा तीनवटै सुरक्षा निकायले आ–आफ्नो क्षेत्रबाट सुरक्षा सतर्कता अपनाएका थिए । सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै पृथ्वी राजमार्गबाट मुग्लिनतर्फ जाने सम्पूर्ण यातायातमा समेत रोक लगाइएको प्रमुख जिल्ला अधिकारी तिवारीले बताए ।
नदीमा बाढीको बहाव बढेसँगै त्रिशूली, मस्र्याङ्दी तथा नारायणी नदी आसपासका बस्तीमा समेत उच्च सतर्कता अपनाइएको छ । नदी किनारमा बसोबास गर्ने सर्वसाधारणलाई सुरक्षित स्थानमा रहन तथा नदीमा नजान प्रशासनले आग्रह गरेको छ ।
बाढीका कारण विभिन्न स्थानबाट मानवीय क्षतिको विवरण आउने क्रम जारी रहेकाले फेला परेका शवको पहिचान तथा घटनाको थप विवरण संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । सुरक्षा निकायले नदी किनार तथा सम्भावित जोखिमयुक्त क्षेत्रमा खोज तथा उद्धारलाई प्राथमिकता दिएको छ ।










