सम्पादकीय : विपत्तिमा एकताको खाँचो

चीनको तिब्बती भूभागबाट सुरु भएको भोटेकोशी नदीको भीषण बाढीले नेपालका उत्तरीदेखि दक्षिणी भूभागसम्म ठूलो जनधनको क्षति पुर्याएको छ । रसुवाबाट प्रवेश गरेको बाढी पश्चिम नवलपरासीसम्म पुगेको घटनाले प्राकृतिक विपत्तिको भयावह रूप देखाएको छ । कैयौँ नागरिकको ज्यान गएको छ भने ठूलो संख्यामा नागरिक बेपत्ता छन् । सडक, पुल, जलविद्युत् आयोजना, घर, विद्यालयलगायतका भौतिक संरचनामा क्षति पुगेको छ । क्षतिको पूर्ण विवरण आउन बाँकी रहेकाले विपत्तिको वास्तविक आकार अझै स्पष्ट हुन सकेको छैन ।

यस्तो अवस्थामा सबैभन्दा पहिलो प्राथमिकता मानव जीवनको रक्षा हो । मृत्यु भएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्नु, बेपत्ताको खोजी गर्नु, घाइतेको उपचार गर्नु तथा जोखिममा रहेकालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नु राज्यको तत्कालीन दायित्व हो । पीडित नागरिकले विपत्तिको समयमा सरकार आफ्ना साथमा रहेको अनुभूति गर्न सक्नुपर्छ । सरकारले प्रभावित क्षेत्रलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्नु सकारात्मक कदम हो । तर घोषणा मात्र पर्याप्त हुँदैन । उद्धार, राहत, उपचार, पुनर्स्थापना र क्षतिपूर्तिका काम प्रभावकारी रूपमा अघि बढ्नुपर्छ। घरबार गुमाएका परिवारलाई तत्काल खाने, बस्ने र स्वास्थ्य सेवाको व्यवस्था गर्नुपर्छ। राहत वितरणमा कुनै प्रकारको ढिलाइ, पक्षपात वा अनियमितता हुनु हुँदैन ।

राष्ट्रिय विपत्तिको यस्तो घडीमा राजनीतिक दलहरूको भूमिका पनि महत्वपूर्ण हुन्छ । सत्ता पक्ष र प्रतिपक्षको सामान्य राजनीतिक प्रतिस्पर्धाभन्दा माथि उठेर सबै दल एक ठाउँमा उभिनुपर्छ । २०७२ सालको भूकम्पलगायतका विपत्तिमा राजनीतिक दल तथा तिनका कार्यकर्ताले उद्धार र राहतमा देखाएको सक्रियता स्मरणीय छ। यसपटक पनि दलहरूले आफ्ना लाखौँ कार्यकर्ताको शक्ति उद्धार, राहत र पुनस्र्थापनामा परिचालन गर्न सके नागरिकमा सकारात्मक सन्देश जानेछ। यस्तो बेला दलको झन्डाभन्दा देशको झन्डा ठूलो बन्नुपर्छ ।

स्थानीय सरकारको भूमिका पनि उत्तिकै महत्वपूर्ण छ । आफ्नो भूगोल, बस्ती र नागरिकको जोखिमबारे सबैभन्दा नजिकबाट जानकारी राख्ने स्थानीय तहले आपत्कालीन योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्छ। जोखिमयुक्त क्षेत्रका नागरिकलाई समयमै सुरक्षित स्थानमा सार्ने, राहत सामग्रीको उचित व्यवस्थापन गर्ने तथा विपद्पछिको पुनस्र्थापनामा स्थानीय सरकारले नेतृत्व लिनुपर्छ। राहत वितरण पारदर्शी बनाउन एकद्वार प्रणालीलाई प्रभावकारी बनाउनु आवश्यक छ। यस घटनाले प्राकृतिक विपत्तिको कारणबारे गम्भीर वैज्ञानिक अध्ययनको आवश्यकता पनि देखाएको छ । प्रारम्भिक तथ्यअनुसार तिब्बती भूभागमा भएको ठूलो हिमपहिरोले बाढीलाई ट्रिगर गरेको हुनसक्ने देखिएको छ । तर यति ठूलो विनाश निम्त्याउने पानी, लेदो, ढुंगा र माटो नदीमा कहाँबाट र कसरी आयो भन्ने प्रश्नको वैज्ञानिक उत्तर खोज्न बाँकी छ । हिमपहिरोसँगै हिमताल विस्फोटन, नदीमा बनेको अस्थायी अवरोध र त्यसको आकस्मिक भत्काइबाट आएको बाढीको सम्भावनासमेत गम्भीर रूपमा अध्ययन गर्नुपर्छ ।

यससँगै जलवायु परिवर्तनको असरलाई पनि बेवास्ता गर्न मिल्दैन । हिमाली क्षेत्रमा तापक्रम वृद्धि, हिमनदी पग्लिने क्रम र हिमतालको आकारमा हुने परिवर्तनले भविष्यमा यस्ता जोखिम बढाउन सक्ने चिन्ता छ । नेपालका लागि जलवायु परिवर्तन अब केवल वातावरणीय विषय रहेन । यो मानव सुरक्षा, कृषि, पर्यटन, ऊर्जा, पूर्वाधार र अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको राष्ट्रिय जोखिम बनिसकेको छ । यद्यपि हरेक प्राकृतिक विपत्तिको कारण जलवायु परिवर्तनलाई मात्र मान्नु उचित हुँदैन ।

यस घटनामा मौसम, हिमपहिरो, हिमताल, भूगोल, नदीको बहावलगायत सबै पक्षको वैज्ञानिक अध्ययन आवश्यक छ । नेपाल र चीनका सम्बन्धित वैज्ञानिक तथा प्राविधिक निकायबीच सहकार्य गरी घटनाको वास्तविक कारण पत्ता लगाउनुपर्छ । यस्तो अध्ययनबाट भविष्यमा यस्ता घटनाको पूर्वानुमान र पूर्वसूचना प्रणाली विकास गर्न सहयोग पुग्नेछ । विपत्ति आएपछि मात्र उद्धारमा जुट्ने परम्पराले अब पुग्दैन । जोखिमको पहिचान, पूर्वसूचना, सुरक्षित बस्ती विकास, विपद् अभ्यास र बलियो पूर्वाधार निर्माणमा राज्यले दीर्घकालीन लगानी गर्नुपर्छ। नदी किनार र जोखिमयुक्त क्षेत्रमा रहेका बस्ती तथा संरचनाको पुनर्मूल्याङ्कन आवश्यक छ। नयाँ सडक, पुल र जलविद्युत् आयोजना निर्माण गर्दा विपद् जोखिमलाई अनिवार्य रूपमा योजनाको हिस्सा बनाउनुपर्छ।

प्राकृतिक विपत्ति रोक्न सधैँ सम्भव हुँदैन, तर त्यसबाट हुने क्षति कम गर्न सकिन्छ। त्यसका लागि सरकार, राजनीतिक दल, स्थानीय तह, सुरक्षा निकाय, सञ्चार माध्यम र नागरिक सबैको संयुक्त प्रयास आवश्यक छ। अहिलेको प्राथमिकता उद्धार र राहत हो भने त्यसपछि पुनस्र्थापना र पुनर्निर्माण । तर पुनर्निर्माण पुरानै जोखिम दोहो¥याउने किसिमको हुनु हुँदैन । यस विपत्तिमा ज्यान गुमाउने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली, बेपत्ताको सकुशल खोजीको कामना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरौँ । शोकमा रहेका परिवारसँग राज्य र समाज सँगै उभिनुपर्छ । साथै, यो विपत्तिलाई केवल दुःखद घटना मानेर बिर्सने होइन, भविष्यलाई सुरक्षित बनाउने गम्भीर चेतावनीका रूपमा लिनुपर्छ । विपत्ति आउँदा एकजुट हुनु आवश्यक छ, तर विपत्ति आउनुअघि नै तयार हुनु अझ आवश्यक छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker