बैंकको ब्याज दर वृद्धिको विरोधमा तनहुँका व्यवसायी आन्दोलित
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँका उद्योग, व्यवसायीहरु आन्दोलित भएका छन् । बैंक तथा वित्तीय संस्था मार्फत कर्जा लिएर व्यवसाय गरेका उद्योगी ब्यवसायीहरु ब्याज वृद्धिको विरोधमा विहीबार सडकमा उत्रिएका हुन् ।
न्यून ब्याजदरमा कर्जा लिएका ब्यवसायीहरु बैंकले एकतर्फी रुपमा ब्याज बढाएर उद्योग ब्यवसाय धरासायी बनाएको भन्दै आन्दोलित भएका छन् । तनहुँ उद्योग वाणिज्य संघको आव्हानमा जिल्ला भरका व्यवसायीहरुले ब्याजको दर अविलम्व घटाउनुपर्ने माग राखेर आन्दोलन गरेका छन् ।

कोभिड-१९ संक्रमण जोखिम कम हुँदैगएपछि लयमा फर्कदै गरेका व्यापार व्यवसायलाई बैंकको एकतर्फी बढ्दो ब्याजदरका कारण झन संकटमा पार्न थालेपनि बाध्य भएर आन्दोलित हुनुपरेको तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष पबिन्द्र कुमार श्रेष्ठले बताए ।
बैंकले एकतर्फी रुपमा बढाएको ब्याजदर घटाउन माग गर्दै आन्दोलित ब्यवसायीहरुले प्रमुख जिल्ला अधिकारी मार्फत अर्थ मन्त्रालय र राष्ट्र बैंकलाई ध्यानाकर्षण पत्र पठाएका छन् । ब्यवसायीहरुको ध्यानाकर्षण पत्र बुझदै प्रमुख जिल्ला अधिकारी विश्वराज अर्यालले सम्वन्धित मन्त्रालय र बैंकमा पत्र पठाएर सहजीकरण गर्ने बताएका थिए ।

आन्दोलनमा सहभागि खैरेनीटारका ब्यवसायी समुन्द्रराम श्रेष्ठले बैकले ७ देखि ८ प्रतिशतमा प्रवाह गरेको कर्जाको ब्याजदर बढाएर १४ देखि १५ प्रतिशतसम्म पुर्याउँदा मर्कामा परेको गुनासो गरे । व्यापार ब्यवसायमा मन्दि लागेको समयमा चर्को ब्याज बुझाउनुपर्दा ब्यवसायीहरु धरासायी बन्दै गएको उनले बताए ।
उद्योग वाणिज्यसंघ आवद्ध विभिन्न व्यवसायी संघ संस्था, जिल्लाका व्यवसायीहरु तनहुँ उद्योग वाणिज्य संघको कार्यालय परिसरमा भेला भई व्याजदर वृद्धिको विरोधका प्लेकार्ड सहित निकालिएको र्यालीले दमौली बजारको परिक्रमा गरी जिल्ला प्रशासन कार्यालयमा पुगेको थियो ।










