व्यासको देउरालीनगर र भादगाउँ जोड्ने बुल्दीखोला पुल भत्काएर पुनर्निर्माण गरिँदै

तनहुँ : व्यास नगरपालिका–३ देउरालीनगर र व्यास–१ भादगाउँ जोड्ने बुल्दीखोला मोटरेवल पुलको निर्माण कार्यले गति लिन थालेको छ । यस पुलको एक ‘स्पान’ को बिम र ढलान निर्माणका क्रममा गुणस्तरहीन पाइएपछि त्यसलाई भत्काएर नयाँ शिराबाट पुनर्निर्माण कार्य थालिएको हो ।

लामो समयको अन्योल र प्राविधिक अवरोधपछि हालसम्म पुलको ४५ प्रतिशत भौतिक प्रगति हासिल गरेको पूर्वाधार विकास कार्यालय तनहुँका डिभिजन इन्जिनियर रवीन्द्र तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार पुलका पिल्लर प्राविधिक रूपमा सही भए पनि माथिल्लो संरचना कमजोर देखिएकाले गुणस्तरमा सम्झौता नगर्ने नीतिअनुरूप भत्काउन निर्देशन दिइएको हो ।

सोही निर्देशनबमोजिम ठेकेदार कम्पनीले गुणस्तरहीन भाग हटाएर अहिले निर्माण कार्यलाई तीव्रता दिइरहेको छ । विसं २०७७ मा रु पाँच करोड १० लाख ३३ हजारको लागतमा सम्झौता भएको २५ मिटर लामो र ८.४ मिटर चौडाइको यो पुल निर्माणमा यसअघि विभिन्न कारणले ढिलाइ हुँदै आएको थियो ।

पुल निर्माणमा मुख्य बाधाका रूपमा रहेको व्यास–१ विज्ञानचौरतर्फको विद्युत् ट्रान्सफर्मर स्थानान्तरण गरिएसँगै काम गर्ने वातावरण सहज बनेको छ । ट्रान्सफर्मर हटाएपछि निर्माण कम्पनीले जनशक्ति र उपकरण परिचालन बढाएकाले हाल कामले गति लिएको कार्यालयले जनाएको छ ।

पुलको म्याद आगामी चैतसम्म रहेको भए पनि पछिल्लो समय काममा देखिएको तीव्रताका कारण बाँकी निर्माण सम्पन्न गर्नका लागि म्याद थप हुने सम्भावनासमेत देखिएको छ । यो पुल निर्माण सम्पन्न भएपछि व्यास–१, २ र ३ का बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन् ।

विशेषगरी यस क्षेत्रमा रहेका पाँचवटा विद्यालय र एक कलेजका विद्यार्थीलाई वर्षायाममा खोला तर्नुपर्ने बाध्यता अन्त्य हुनेछ । गुणस्तरहीन संरचना भत्काएर पुनः मजबुत बनाउने कार्य भइरहेकाले अबको केही समयभित्रै स्थानीय एवं सर्वसाधारणले सुरक्षित र भरपर्दो पुल प्रयोग गर्न पाउने विश्वास सो कार्यालयले गरेको छ ।

 

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker