भानुकप फुटबल प्रतियोगितामा ३१ टिमको सहभागिता
भञ्ज्याङ समाचारदाता/भानु

राष्ट्रिय विभुति आदिकवी भानुभक्त आचार्यको २०९औं जन्मजयन्तीको अवसरमा तनहुँको भानु नगरपालिका-१ भन्सारमा भानुकप फुटबल प्रतियोगिता सञ्चालन गरेको छ । भन्सार युवा परिवारले भानुजयन्तीका अवसरमा सोमबारबाट १५औं राष्ट्रिय खुल्ला नकआउट भानुकप फुटबल प्रतियोगिता सुरु गरेको हो ।
प्रतियोगिताको शुभारम्भ गर्दै भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले भन्सार युवा परिवारले फुटबलको माध्यमले भानुजयन्तीलाई समेत निरन्तरता दिदै राष्ट्रिय विभूतिको स्मरणलाई संरक्षण जिवन्त पारेको बताए ।
उनले भने, ‘म पनि यसै भन्सार बासीको नाताले साथै भानु नगरपालिका प्रमुखको हैसियतले कमसेकम भानुजयन्तीलाइ कुनै न कुनै कार्यक्रमका माध्यमले हर्सोल्लाको साथ मनाउनु पर्ने र आगामी दिनहरुमा सबै बौद्धिक बर्ग, संघसंस्थाहरुसँग आवश्यक समन्वय गरी अझै व्यवस्थित र भव्यरुपमा भानुभक्त आचार्यको योग्दानको स्मरण गर्नुपर्दछ ।’
असार २९ गतेसम्म संचालन हुने र हरेक वर्ष राष्ट्रिय विभुति आदिकवी भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा भानुकप फुटबल तथा अन्य खेलकुद प्रतियोगिता आयोजना गर्ने गरेको प्रतियोगिताका प्रचार प्रसार संयोजक बिपिन श्रेष्ठले बताए ।
यस्तै, प्रतियोगिताको उद्दघाटन खेलमा पुलजिप युवा क्लब आँबुखैरेनी-४ र ब्राइटफ्युचर युवा क्लब भानु-२ बीचको खेलमा ०-१ अन्तरले पुलजीप युवा क्लब विजयी भएको छ । प्रतियोगितामा ३१ टिमको सहभागी रहेका छन् ।
प्रतियोगितामा प्रथमलाई २ लाख रुपैयाँ, द्वितीयलाई १ लाख रुपैयाँ र तृतीयलाई २० हजार रुपैयाँ नगदसंगै मेडल, ट्रफी र प्रमाणपत्रद्वारा पुरस्कृत गरिने क्लबका अध्यक्ष अर्जुन श्रेष्ठले बताए । यस्तै, प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, अनुशासित टिम र हरेक खेलमा म्यान अफ द म्याचलाई बिशेष पुरस्कारले पुरस्कृत गरिने उनले बताए ।
यसैगरी असार २९ गते हुने छेलो तर्फ प्रथम पुरस्कार रु ५ हजार र प्रमाणपत्र रहेको छ भने दर्ता शुल्क रु २०० रहेको छ । २९ गते नै हुने बाघचाल तर्फ प्रथम पुरस्कार रु ६ हजार र प्रमाणपत्र रहेको छ भने दर्ता शुल्क रु २०० रहेको छ । वि.स. २०५९ सालमा स्थापित उक्त युवा क्लबले हरेक वर्ष भानुजयन्तीका अवसरमा युवालाई लक्षित गर्दै फुटबल, छेलो, बुद्धिचाल लगायतका विभिन्न खेलकुद प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।










